Breaking News

खाद्यान्नमा भएको पटक पटकको मूल्य वृद्धिले चितवनका सर्वसाधारण मारमा

Banner

पूजा ढकाल

चितवन, माघ २९

चितवनमा पछिल्लो समय पटक पटक खाद्य वस्तुमा मूल्य वृद्धि हुँदा सर्वसाधारण मारमा परेका छन् ।

दैनिक प्रयोग हुने खाद्य वस्तु चिनी, चामल, आटा, मैदालगायतका उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि हुँदा सर्वसाधारण मारमा परेका हुन् ।

भरतपुर माहानगरपालिका–४ एसएस स्टोरका सञ्चालक साबित्री थापाले पछिल्लो समय खाद्य वस्तुको मूल्य वृद्धि भएको जानकारी दिइन् । उनको अनुसार पहिले चामलको मूल्य प्रति बोरा एक हजार ६५० थियो भने अहिले बढेर दुई हजार देखि २५ सय पुगेको छ । उनी भन्छिन्, ‘पछिल्लो समय चामलसँगै आटा र मैदाका मूल्य धेरै बढेको छ । पहिले ५ किलोको आटालाई २८० पर्ने गथ्र्यो तर अहिले बढेर ३०० हुँदै ३४० बाट पुनः बढेर ४२० पुगेको छ । त्यस्तै मैदा पहिले ६० रुपैयाँ किलो थियो भने अहिले प्रति केजी ४० रुपैयाँले बढेर १०० रुपैयाँ केजी पुगेको छ । ’

उनको अनुसार यो आर्थिक वर्षमा चिनीको मूल्य पनि बोरामा २५० ले बढेको छ । जसको कारण पहिले प्रतिकेजी ८५ मा बेच्दै आएको चिनी अहिले ९५ पुग्न गएको छ । उनले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार अहिले ग्यास पनि एक हजार ७५० बाट एक हजार ८०० रुपैयाँ पुगेको छ । साबुन ६५० कार्टुनबाट ७५० पुगेको छ । त्यस्तै पछिल्लो समय मैदा महंगो भएको कारण १० रुपयाँको बिस्कुट पनि आएको छैन र पहिले ५० प्रिन्टेड भएको बिस्कुट पनि बढेर ८० पुगेको छ । उनी भन्छिन्, ‘तेल र दालको मूल्य केही घटे पनि अरु सबै खाद्य वस्तुको मूल्य बढेको छ । जसको कारण व्यापार गर्न कठिन भएको छ । पछिल्लो समय सबै खाद्य वस्तुको मूल्य बढ्दा पसलमा सामान थप्न पनि कठिन भएको छ ।

किराना व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष रविन्द्रकुमार श्रेष्ठका अनुसार जिल्लामा मात्रै नभएर पूरै नेपालमा महंगी बढेको छ । उनका अनुसार नेपाली सामानको बजार उत्पादन कम हुँदा तथा सामानमा नेपाल भारत प्रति आत्मनिर्भर बन्दा देशमा पटक पटक महंगी बढेको हो । उनी भन्छन्, ‘पछिल्लो समय बैंकले ८ रुपयाँबाट ब्याज बढाएर १६ रुपयाँ पु¥याउँदा व्यवसायी घाटामा छन् र देशमा आर्थिक मन्दी लागेको छ ।’ उनले साबुन र सरफ बनाउन चाहिने कच्चा पदार्थ नेपालमा नपाइने र विदेशबाट ल्याउनुपर्ने भएकोले यसमा पनि मूल्य वृद्धि भएको जानकारी दिए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भारतले पछिल्लो समय धान, गहँु नेपाल पठाउन कडाइ गरेको तथा भन्सार कर बढाउँदा खाद्यान्नको मूल्य वृद्धि भएको जानकारी दिए । उनका अनुसार विश्वमा आर्थिक मन्दी लागेको कारण यसको प्रभाव नेपालमा पनि परेको छ । तर, बजार अनुगमन भने दैनिक भइरहेको छ ।

पछिल्लो समय पटक–पटक खाद्यान्नको मूल्य अत्यधिक बढेकोले दैनिक घर खर्च चलाउन कठिन भएको भरतपुर माहानगरपालिका–११ मुक्तिनगर बस्ने अनुस्का पौडेल बताउँछिन् । उनी भन्छिन्, ‘हामीलाई त दैनिक गुजारा गर्न कठिन भएको छ भने दैनिक मजदुर गरेर घर खर्च टार्नेले के गर्ने ? नखाइ बस्न पनि सकिन्न, सामान लिन पसल जाम त महंगीले आकाश छोएको छ ।’ एउटै सामान पनि कुनै पसलमा पाँच रुपयाँ कम र कुनैमा पाँच रुपयाँ बढी पर्न गरेको उनको भनाइ छ । उनले पछिल्लो समय क्रमिक रुपमा बढ्दै गएको महंगी तथा कालो बजारी नियन्त्रण गर्न अनुगमनलाई तीव्र दिँदै आफ्नै देशमा उत्पादन भएका सामानलाई बढी प्रथमिकता दिनुपर्ने विचार राखिन् ।

महंगी र कालोबजारीको चपेटामा सोझासाझा जनता फसेको माहानगरपालिका–१६ की संजिता क्षेत्री बताउँछिन् । उनी भन्छिन्, ‘कही वर्ष अगाडि मात्रै पनि हजार रुपैयाँले घसायसी सबै किराना सामान आउथ्यो भने अहिले पाँच हजारले पनि सामान पूरा आउँदैन । ’ यसरी पटकपटक सामानको मूल्य बढ्दा समस्या भएको बताउँदै उनले कृषि गरेर परिवार पाल्ने किसानले तरकारी, फलफूलको उचित मूल्य नपाउँदा धेरै युवा विदेश गएको बताइन् । उनी भन्छिन्, ‘ दैनिक उपभोग गर्ने किराना सामानको मूल्य बढे पनि हामीले लाखौं खर्च गरेर उब्जाएको तरकारी, धानले मूल्य पाउन सकेको छैन । तर, अब सरकारले खाद्यान्नमा पटक पटक भएको मूल्य वृद्धि नियन्त्रण गर्न आफ्नै देशमा उत्पादन भएका खाद्य वस्तुलाई प्रथमिकता दिनुपर्छ । ’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>