चितवन विशेष
चितवनमा भएको प्रथम मौलिक कौरा प्रतियोगिताको उपाधि चन्द्र एकता मगर समाज क्षेत्रपुरलाई

चितवन, पुस २१–
प्रथम मौलिक कौरा (कानराहा) प्रतियोगिताको उपाधि चन्द्र एकता मगर समाज भरतपुुर–२ क्षेत्रपुरले जितेको छ ।
लोप हँुदै गएको मौलिक संस्कृतिलाई संरक्षण गर्न नेपाल मगर सांस्कृतिक संघ चितवनले कौरा प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा गैँडाकोट साली भेना सांस्कृतिक समूह दोस्रो र नेपाल मगरसंघ खैरहनी नगरसमिति तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो हुने समूहलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कारले सम्मान गरिएकोे छ ।
भरतपुर महानगरपालिका वडा नंं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले विजेता समूहलाई पुरस्कार हस्तान्तरण गरेका थिए । आदीवासी जनजाति उत्थानको लागि सधैै सरिक रहने उनको भनाइ छ ।
पहिलो हुनेलाई पुस २५ देखि माघ ४ गतेसम्म हुने चितवन महोत्सवमा नेपाल मगर संघ चितवनको प्रतिनिधित्व गरी कौरा नृत्य प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ । प्रतियोगितामा ७ वटा समूहले सहभागिता जनाएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष तथा कौराहा संरक्षक बलविक्रम थापा मगर, चलचित्र निर्देशक तथा फोनीज चितवनका अध्यक्ष रमेश रानामगर, राष्ट्रिय कौराहा गायिका लीला थापामगर, लोक दोहोरी तथा कौराहा गायिका बविता मगर रहेका थिए ।
नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आले मगरको अध्यक्षमा प्रतियोगिता भएको थियो । मगर समुदायको बसोबास बाक्लिँदै गएको चितवनमा संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष महेन्द्र दुरा, नेपाल मगर संघ बागमती प्रदेशका मुख्य सचिव मिलन थापामगर, नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगर, फोनिजका केन्द्रीय सदस्य चित्र सोल्टी गुरुङ, फोनीजका बाग्मती प्रदेश उपाध्यक्ष राजेश रुम्बा लामालगायतको उपस्थिति रहेको थियो ।






















