राजनीति
सरकारमा गएर काम गर्न नसके सजाय दिनुहोला: पाण्डे

काठमाडौँ, पुस ११–
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाण्डेले लामो बहसपछि आफ्नो पार्टी सरकारमा जाने निर्णय गरेको बताएका छन् ।सरकारमा सहभागी हुने निर्णयको चौतर्फी आलोचना भएपछि पाण्डेले पार्टीले आन्तरिक रुपमा मतदान गरेरै सरकारमा जाने निर्णय गरेको स्पष्ट पारेका हुन् ।
उनले भनेका छन्, ‘अव्यवस्थित गठबन्धनमा सामेल हुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयमा निराश भएका सबै जनताको लागि यो बहस र मतदानबाट भएको निर्णय थियो। दुवै गठबन्धन अस्तव्यस्त हुने नै थिए । प्रतिपक्षमा बस्दा हाम्रो इज्जत सुरक्षित हुन्थ्यो, तर सरकारमा जाँदा राम्रो काम गरेर देखाउने हामीलाई चुनौती छ ।’
पाण्डेले आफूहरू सरकारमा गएर काम गर्न नसके वा भ्रष्टाचार वा न्याय दबाउने काममा संलग्न भएको पाएमा अर्को निर्वाचनबाट दण्डित गर्न समेत आग्रह गरेका छन् । आफूलाई वैकल्पिक भन्ने पार्टीले पुराना भनिएका पार्टीसँग मिसिएर सरकार बनाएको भन्दै आलोचना भइरहेको छ ।



























