Breaking News

मानव तस्करीको मुख्य रुट बन्दै माडीको बगई बसपार्क

Banner

प्रतिमा कुमाल

चितवन, पुस १–

मानव तस्करीको मुख्य रुट बनेको माडी नगरपालिकाले ४ वर्षमा ६८ जनाको उद्धार गरेको छ । माडी–९ बगई बसपार्कबाट उनीहरुको उद्धार गरिएको माडी नगरपालिका सूचना तथा परामर्श केन्द्र बगई सहजकर्ता सावित्री सुनारले जानकारी दिनुभयो ।

छिमेकी मुलुक भारतसंगको खुल्ला नाका भएकाले यस सडक हुँदै मानव तस्करी हुने गरेको उहाँले बताउनुभयो । ‘बगई बसपार्क हुँदै बस नेपाल भारत सिमा ठोरी पुग्छ । खुल्ला सिमाना भएकाले तस्कर सजिलै ठोरी नाकाबाट भारत प्रवेश गर्न सक्छ । यसकै फाइदा उठाउँदै नेपाली दिदिबहिनी बेचिदा रहेछन् । यहाँसम्म पीडितलाई ल्याउन पालीकाकै मुख्य सडक र सवारीसाधन प्रयोग हुदो रहेछ,’ उहाँले भन्नुभयो ।

यहाँको मानव तस्करी रोकथाम चुनौतीपूर्ण रहेको सुनारको भनाइ छ । उहाँले भन्नुभयो, ‘मानव बेचविखन र तस्करीको लागि ठोरी नाकानै तस्करले प्रयोग गर्छन् भन्ने छैन । खुल्ला नाका भएकाले हिँडेर अन्यबाटो पनि प्रयोग गर्नसक्छन् ।’ बगई बसपार्कमा पालिका र आफन्त नेपालबाट खटिएका सहजकर्ताले प्रत्येक दिन सवारी साधन चेकजाँच तथा सोधपुछ गर्दै आएको छ ।

विशेष गरी बसपार्कदेखि ठोरीसम्म जाने र भारत जाने हरेक सवारीसाधनमा सवारलाई प्राथमिकतामा राखिएको आफन्त नेपालकी शान्ति प्रजाले बताउनुभयो । अहिलेसम्म उद्धार गरिएकाहरु १३ देखि ३५ वर्ष उमेर समूहका रहेको उहाँको भनाइ छ । यस नाका हुँदै मानव तस्करमा संलग्न २ जनालाई नियन्त्रण लिईएको छ । तस्करीमा थुनिएका एकजना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेको प्रजाले बताउनुभयो ।

गरिबी, अशिक्षा, प्रलोभन, प्रेम सम्बन्ध तथा अनेक कारणले महिलाहरु बेचविखनमा पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जति पनि हामीले उद्धार गरेका बालिका तथा महिला छन् उनीहरु गरिबी, अशिक्षा, प्रलोभन र प्रेम सम्बन्धका कारण तस्करीमा परेका छन् । अभिभावक बिचको कलह, आमा बुबाबाट माया ममताको अभावका कारण पनि देखिएको छ । यो एक कारणले नै हो भन्न सकिन्न । तस्करीमा पर्नुको कारण धेरै छन् ।’

माडी नगरपालिका र आफन्त नेपालले २०७५ असोज १५ गतेदेखि बगई बसपार्कबाट निगरानी गर्न थालेको हो । केही मानव तस्करहरूको मुख्य पेशा नै विदेशमा नेपालीलाई छलछाम गरेर पठाउनु रहेको देखिन्छ । मानव तस्करी जस्तो डरलाग्दो तथा जघन्य अपराध बढ्दै जानु सबैका लागि चिन्ताको विषय हो । मानव तस्करीमा पर्नुको कारक तत्व गरिबी अशिक्षा देखिएपनि शिक्षित र सम्पन्न परिवारका महिलाहरु पनि यसको शिकार बनिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>