Breaking News

भरतपुरमा अलपत्र इन्टरनेटका तारको व्यवस्थापन सुरु, वडा र कम्पनीहरुको कुरा नमिल्दा काममा ढिलाइ

Banner

मधुसूदन दवाडी

 

चितवन, मंसिर २६-

भरतपुर महानगरपालिका वडा नम्बर १० को दिपेन्द्र चोक क्षेत्रको सडकमा इन्टरनेटको अलपत्र तारलाई व्यवस्थित बनाएर राख्ने काम सुरु गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १० को पहलमा इन्टरनेट कम्पनीहरुको सहयोगमा बिजुलीको पोलमा झुन्डिएका अव्यवस्थित तारहरुको व्यवस्थापन सुरु गरिएको हो । तारको कारणले सडक दुर्घटना र आगलागी नहोस् भनेर वडाले झोलिएको तारको व्यवस्थापन गर्न काम सुरु गरेको वडा अध्यक्ष परमेश्वर खनालले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ झोलिएको सबै तारलाई मुठो पारेर एकै ठाउँमा राख्ने काम सुरु भएको छ ।’

गत असोज २६ गते नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेर वडा नम्बर १० को २७ वटा टोलमा रहेका सबै अव्यवस्थित तारहरु हटाउन वडाले पत्राचार गरेको थियो । तर, त्यो पत्रको बेवास्ता गरेर कुनै पनि कम्पनी छललफलमा आएनन् । अहिले बिगत तीन दिनदेखि वडाले आफै तार काटेर काम सुरु गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरु पनि अग्रसर भएर यो काममा सक्रियता देखाएका छन् । भरतपुर–१० को दिपेन्द्रचोक र रमाइलो चोकमा तारको व्यवस्थापनको काम भइरहेको छ ।

वडाले सुरु गरेको काममा इन्टरनेट सेवा प्रदायक भने सन्तुष्ट देखिएका छैनन् । हतारमा बिजुलीको पोलमा रहेका तार काट्ने काम गर्दा इन्टरनेट र टेलिफोनको सेवा अवरुद्ध भएको त्यसलाई सुचारु गर्न धेरै समय लागेको उनीहरुको आरोप छ । नेपाल टेलिकम भरतपुरका उपप्रबन्धक नविन मिश्रले आफूहरुसँग समझदारी नभइ भटाभट वडाले तार काट्न थालेपछि समस्या आएको बताए । उनले भने, ‘ हामीलाई पत्र त आएको थियो तर छिट्टै सबैतार झारेर भटाभट काट्न थालेपछि हामीलाई पनि कठिन भयो । २० वटा कम्पनीहरुको तार रहेकोले सबै कम्पनीको प्राविधिक जुटेर काम गर्न कठिन  छ । थोरै जनशक्ति भएकोले काम सक्न निकै समय लाग्ने देखिन्छ ।’

वडा नम्बर १० का वडा सदस्य रेशमराज थापा (ऋषि) असोजदेखि पत्राचार गर्दा पनि कसैले वास्ता नगरेपछि काम सुरु गरिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ जति प्रभावकारी ढंगले काम गर्नुपर्ने हो त्यस्तो भएको छैन । जिम्मेवारी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुकै हो । पुरै निकालेर काम गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन । सबै आएर प्रयोगविहीन तारलाई हटाउनुपर्छ ।’ उनले शहरको सुन्दरताको लागि तार मिलाउने काम सुरु गरिएको दाबी गरे । वडामा २७ वटा टोल रहेकोले सबै क्षेत्रमा तार व्यवस्थापन गर्न निकै समय लाग्ने देखिन्छ । तार व्यवस्थापनमा सबै इन्टरनेट सेवा प्रदायक कम्पनीका प्राविधिकहरु जुट्नुपर्ने भएकोले पनि सबै एकजुट हुन नसके सुरु भएको यो काम अलपत्र पर्न सक्ने स्थानीयको चिन्ता छ ।

फोटो: सोनी दवाडी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>