राजनीति
विराटनगर महानगरले मेयरकै घरमा चलायो डोजर

विराटनगर,मंसिर २२-
विराटनगर महानगरपालिकाले मेयर नागेश कोइरालाको घरमा डोजर चलाएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाको घरमा अनुमति विना निर्माण भएको संरचना हटाउन महानगरले डोजर चलाएको हो । मेयर कोइरालाले भाडामा लगाएको सटरमा निर्माण भएको संरचना डोजर प्रयोग गरेर हटाएको महानगरपालिकाले बताएको छ । भाडामा लिने व्यापारीले बनाएको संरचना अवैधानिक भएको महानगरपालिकाको भनाइ छ ।
विराटनगर महानगरपालिकाले सडकमा निर्माण गरिएको संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । तर अटेर गरेपछि मेयर कोइरालाकै घरबाट अवैध संरचना हटाउने अभियानको सुरुवात गरेको हो । नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याक र सटमा झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो । विराटनगरलाई व्यवस्थित महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका अवधै संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।
‘आफैंबाट सुरु गर्नुपर्छ भन्ने लागेर मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका छौं’, उनले भने, “विराटनगर अब यथास्थितिमा बस्न सक्दैन,यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो लक्ष्य छ ।’ उनले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन पनि आग्रह गरे ।


























