देश/प्रदेश
परिवारी विवादमा घरेलु हतियार प्रहार, एकको मृत्यु, चार घाइते

जनकपुर, मंसिर १६-
धनुषामा घरेलु हतियार प्रहारबाट एक जनाको हत्या भएको छ । दुई परिवारको विवादमा घरेलु हतियारको प्रहारबाट एक जनाको मृत्यु भएको हो । भने ४ जना घाइते भएका हुन् ।
हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् । घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् । सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औंला काटिएका छन् । अन्य सामान्य घाइते छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको र दुईजना घाइते भएको बताउँदै केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको बताए ।

























