तनहुँ

तनहुँको थानीमाई मन्दिरमा आज एकैदिन ६२ फूलको डोली भित्रिए

Banner

डुम्रे, मङ्सिर १३-

भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ६२ फूलको डोली भित्रिएको छ । मङ्सिर महिनाको दोस्रो मङ्गलबार मन्दिरमा ६२ फूलको डोली भित्रिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

तनहुँसहित लमजुङ, गोरखा, कास्की, चितवनलगायतका जिल्लाबाट आएका भक्तजनले बाजागाजासहित फूलको डोली भित्र्याएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा पाँच हजारभन्दा बढी भक्तजनले मन्दिरमा पूजाअर्चना गरेका छन् । कात्तिकपछि शुक्र अन्ध सकिएपछि यो महिनामा पहिलो मङ्गलबार आज भक्तजनको भिड लागेको उहाँले बताउनुभयो ।

सोमबार राति भक्तजनले रातभर जाग्राम बसेर बत्ती बालेको समितिले जनाएको छ । मन्दिरमा कात्तिक, मङ्सिर, पुस र माघको प्रत्येक हप्ताको मङ्गलबार फूलको डोली भित्र्याउने प्रलचन छ । विशेषगरी कात्तिक र माघमा बढी भक्तजनको आगमन हुने गरेको थापाले बताउनुभयो । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रही आएको छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा साउन महिना, एकादशी र औँशी बाहेकका दिनमा पूजाअर्चना चल्छ ।

सडकको पहुँचले थानीमाई पुग्न सहज भएको छ । सडक खुलेपछि भक्तजनहरूको सङ्ख्या बढ्न थालेको छ । भक्तजनहरू फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गर्दछ ।

समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको थियो ।

विसं १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीयबासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्तरध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाइ छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>