चितवन विशेष
कोइरालाले पाण्डेलाई बधाई दिँदै भने-राजनीतिको भ्रष्टिकरण र भ्रष्टाचारविरुद्ध निरन्तर लाग्छु

चितवन, मंसिर १०–
चितवन क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित स्वतन्त्र उमेदवार दिनेश कोइरालाले निर्वाचित भएका राप्रपाका विक्रम पाण्डेलाई बधाई दिएका छन् । कोइरालाले सामाजिक सञ्जालमार्फत पाण्डेलाई बधाई दिँदै भ्रष्टाचार हटाउन, मुलुकलाई स्थिर सरकार दिन र चितवनको विकास र समृद्धिका लागि पूर्णत समर्थन हुने बताए ।
‘आम चुनावमा मतदाताले राप्रपाका विक्रम पाण्डेलाई निर्वाचित गराउनु भएको छ । प्रतिस्पर्धी उम्मेदवारको हैसियतले म विक्रम पाण्डेजीलाई हृदयदेखि बधाई र शुभकामना व्यक्त गर्दछु । भ्रष्टतन्त्र हटाउन, देशलाई स्थिर सरकार दिन तथा चितवनको विकास र समृद्धिमा विक्रम पाण्डेले गर्नुहुने हरेक काममा म साथ हुनेछु, पूर्णत समर्थन दिनेछु’, उनले भनेका छन् ।
राजनीतिको भ्रष्टिकरण र भ्रष्टाचारको आडमा राजनीति मौलाउने प्रवृत्ति विरुद्ध आगामी दिनमा अझ शशक्त ढंगले लाग्ने उनले प्रतिवद्धता जनाएका छन् । आफ्नो उम्मेदवारी जित्नका लागि मात्र नभएर एक थोपा रगत नबगाई रचनात्मक क्रान्ति हुनुपर्छ भन्ने विचारका साथ उम्मेदवार बनेको बताए ।
‘देशमा परिवारवाद, अर्थवाद र भ्रष्टतन्त्रको अन्त्यका लागि अभियान चलाउने क्रममा म उम्मेदवार बनेको थिएँ । भ्रष्टतन्त्रको अन्त्य नभई लोकतन्त्रको प्रतिफल जनताले पाउँदैनन्, भ्रष्टतन्त्रको अन्त्य बिना यो देशले विकास र समृद्धि पाउन सक्दैन भन्ने विचार बोकेर जनता माझ जान पाएकोमा म गौरवान्वित भएको छु’, उनले भनेका छन् ।


























