Breaking News

चितवनमा महिला उम्मेदवारको संख्या न्यून

Banner

निरुता विक-
भरतपुर, कात्तिक २९-

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने महिलाको संख्या पुरुषका तुलनामा अत्यन्त न्यून रहेको छ । नेपालको संविधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको भए पनि निर्वाचनमा उठ्ने महिला उम्मेदवारको संख्या त्यो भन्दा धेरै कम रहेको हो । चितवनमा रहेका राजनीतिक दलहरुको घरदैलोमा महिला मतदाताको सहभागिता बढि देखिए पनि उम्मेदवार भने महिला तुलनात्मकरुपमा धेरै कम छन् । निर्वाचन आयोगका अनुसार चितवनमा मतदाताको संख्या पनि पुरुष भन्दा महिलाकै बढी छ ।

महिला अधिकारकर्मीहरुको अनुसार नेतृत्व तहमा महिला सहभागिता विधि वा प्रक्रिया पूरा गर्ने नाममा मात्र सीमित भएको छ । महिलामा पारीवारिक तहदेखि सामाजिक तहसम्म त्यसबारे जनचेतना कम भएको र उनीहरूले राजनीतिमा सकारात्मक सोच राख्न पनि नसकेको कारण यस्तो अवस्था आएको उनीहरु बताउँछन् । समाजमा महिलाहरूलाई उपस्थित गराउने तर उनीहरूको आवाज नसुन्ने प्रवृत्तिले महिला पछि परिरहेको कतिपयको धारणा छ ।
तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा प्रतिनिधिसभातर्फ ४५ जनाको उम्मेदवारी रहेकोमा महिला उम्मेदवारको संख्या पाँच जना रहेको छ । त्यस्तै चितवनको छवटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभातर्फ ५९ जनाको उम्मेदवारी परेकोमा १५ जना महिला उम्मेदवार रहेका छन् ।

ठूला दलले महिला उम्मेदवार न्यून उठाएको भए पनि साना दलबाट र स्वतन्त्ररुपमा महिलाहरुको उम्मेदवारी परेको छ । चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यतर्फ महिला उम्मेदवार एकजना रहेका छन् । यहाँ मङ्गोल नेशनल अर्गनाइजेसनका तर्फबाट कुमारी थिङको उम्मेदवारी परेको छ । यस्तै, प्रदेशसभातर्फ दुईजना महिला उम्मेदवार रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेशसभातर्फ प्रदेश १ को १ मा नेपाल सुशासन पार्टीकी उषा गिरी र प्रदेश १ को २ मा नेपाल मजदुर किसान पार्टीको लिलाकुमारी प्रजाको उम्मेदवारी रहेको छ ।

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यतर्फ महिला उम्मेदवार दुईजना रहेका छन् । जनता समाजवादी पार्टी नेपालकी प्रभा त्रिपाठी र स्वतन्त्रबाट देविका कुँवरको उम्मेदवारी रहेको छ । यस्तैगरी प्रदेशसभातर्फ २ को १ मा नेपाल मजदुर किसान पार्टीको सुशीला थापामगर, मङ्गोल नेशनल अर्गनाइजेसनकी श्रृष गोलेको उम्मेदवारी परेको छ । यसैगरी प्रदेश २ को २ मा स्वतन्त्रबाट स्वतन्त्ररुपमा सावित्री न्यौपाने, शान्ताकुमारी पन्त, अप्सरा अधिकारी, सम्झना रेग्मी र सरिता लामिछानेको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीता बराल र स्वतन्त्ररुपमा सुमित्रा राईको उम्मेदवारी परेको छ । यहाँको प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर ३ को १ मा मङ्गोल नेशनल अर्गनाइजेसनको रुपा थापामगर र स्वतन्त्ररुपमा लक्ष्मी शर्माको उम्मेदवारी परेको छ । चितवन क्षेत्र नम्बर ३ को प्रदेश २ मा नेकपा एमालेबाट सरस्वती विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रिना गुरुङ र स्वतन्त्ररुपमा सुधा दवाडीको उम्मेदवारी परेको छ ।
यस तथ्याङ्कलाई हेर्दा चितवनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने महिलाको संख्या अत्यन्तै न्यून रहेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले चुनावी घरदैलो कार्यक्रममा महिलाको सहभागिता धेरै देखिएको तर निर्वाचनमा महिलाको सहभागिता न्यून रहेको बताउनुभएको छ । उहाँले महिलाहरु घरायसी काममा धेरै व्यस्त हुने, धानको सिजन भएकाले खेतबारीमा व्यस्त हुँदा चुनावमा समय दिन नसकेको बताउनुभयो ।
समानुपातिकतर्फ महिलाको सहभागिता बढी देखियो तर प्रत्यक्षतर्फ महिला कम देखिएको भन्दै न्यौपानेले समानुपातिकमा चुनाव लड्दा खर्च कम हुने, निर्वाचनमा लड्न नपर्ने रिक्स कम हुने तर प्रत्यक्षतर्फ रिक्स हुने, खर्च बढी हुने जस्ता कारणले महिला उम्मेदवार कम भएको बताउनुभयो । पत्रकार तथा महिला अधिकारकर्मी प्रतिमा सिलवालका अनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालमा राजनीतिमा महिलाको सहभागिता राम्रो भएको बताउनुएको छ । तर, उहाँले चितवनमा हेर्ने हो भने ठूला दल भनिने नेपाल कम्युनिष्ट पार्टी एमालेबाट एकजना महिला, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकजना, जनता समाजवादी पार्टीबाट एकजना र गठबन्धनबाट प्रत्यक्षमा एउटा पनि महिला उम्मेदवार नहुनु लाजमर्दाे भएको बताउनुभयो ।
यस्तै स्वतन्त्रबाट प्रत्यक्ष उम्मेदवार क्षेत्र नं २ की देविका कुँवरले संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेता पनि निर्वाचनमा महिला सहभागिता अर्थपूर्ण नदेखिएको बताउनुभयो । उहाँले महिलाहरुले चासो नदेखाएको र टिकट पनि नपाएको कारण निर्वाचनमा महिला सहभागिता कम देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवन २ मा प्रत्यक्षतर्फ महिला उम्मेदवार म एक्लै छु, सुरुआती चरणमा निकै गाह्रो भयो विभिन्न अनावश्यक म्यासेजहरु आउँथे, त्यस्ता कुरालाई ध्यान नदिई अघि बढ्दै गएँ अहिले सहज भएको छ ।’ महिलाको लागि निर्वाचन ठूलो च्यालेन्ज हुने उहाँको अनुभव छ ।
माओवादी केन्द्र बागमती प्रदेशकी कोषाध्यक्ष संगीता भट्टराईले बागमती प्रदेशमा ६ जना माओवादीको उम्मेदवार रहेको बताउनुभयो । उहाँले चितवनमा गठबन्धनबाट महिला सहभागिता शून्य रहेकोमा खासै प्रतिक्रिया व्यक्त गर्न चाहनुभएन ।

के छ देशभरको अवस्था ?

यसपटकको निर्वाचनमा पुरुष उम्मेदवारको तुलनामा महिलाको संख्या न्यून रहेको छ । देशभर ९.३२ प्रतिशत मात्रै महिला उम्मेदवार रहेका छन् । निर्वाचन अयोगको तथ्यांक अनुसार प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ जनाको उम्मेदवारी कायम भएकोमा २२५ जना मात्रै महिला छन् । पुरुष उम्मेदवारको संख्या दुई हजार १८७ रहेको छ ।
यसअघि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि महिला सहभागिता न्यून रहेको थियो । त्यतिबेला पनि दलहरुको चुनावी तालमेल गरेका कारण महिला उम्मेदवारको संख्या कम रहेको थियो । संघीय संसदमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने आवाज उठेको थियो । विभिन्न १२ जना महिला सांसदले साउन १८ गते महिला सहभागिता ५० प्रतिशत हुनुपर्ने माग गर्दै संसद् सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।

६१ क्षेत्रमा महिला शून्य

१६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटा निर्वाचन क्षेत्रमा दलहरुले महिला उम्मेदवार नै उठाएका छैनन् । महिला उम्मेदवार नै नउठाएकाले ६१ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा महिलाको प्रतिनिधित्व हुने छैन ।
४८ वटा निर्वाचन क्षेत्रमा भने एक-एक जना मात्रै महिलाहरुले उम्मेदवारी दिएका छन् । सबैभन्दा धेरै महिला उम्मेदवारी परेको क्षेत्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ हो । १० जना महिलाले प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गराएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>