Breaking News

चितवन–१ मा सुरेन्द्र पाण्डेको एक सपनाः जनताको जीवन बदल्ने चेपाङ मार्ग

Banner

चितवन, कात्तिक २३-

नेकपा एमालेका उपाध्यक्ष एवम् चितवन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डे २०२६ सालमा पढ्नका लागि धादिङबाट भण्डारा चितवन आउँदै हुनुहुन्थ्यो । तीन दिन लगाएर विकट डाँडा हिडेर आउँदा त्यहाँका चेपाङहरुको दुर्दशा उहाँले देख्नुभयो । चुनियाधारा भन्ने ठाउँमा आइपुग्दा एक जना खान नपाएर मरेको खबर पनि थाहा पाउनुभयो । मानिसहरु निकै कष्टकर जीवन बिताइरहेका थिए । यो देख्नुभएको पाण्डेको मनमा एउटा संकल्प आयो, म कुनै दिन राजनीतिको उपल्लो तहमा पुगे भने यो ठाँउमा सडक बनाउँछु । पाण्डे २०६६ जेठमा अर्थमन्त्री बन्नुभयो । बजेट प्रस्तुत गर्ने मौका पाउनु भएका पाण्डेले, आफूले ४० वर्ष अगाडि देखेको सपनालाई बिपनामा बदल्ने अवसरका रुपमा चेपाङ मार्गको अवधारण ल्याउनुभयो । सोही अनुसारको ट्रयाक खोल्न बजेटको समेत व्यवस्था पनि गर्नुभयो । पाण्डेलाई थाहा छ, यो सडक बन्दा पूर्वीचितवनका जनताको जीवनमा ठूलो बदलाव आउनेछ । यो सडकले विकट भेगका चेपाङहरूको जीवनस्तर मात्रै माथि उठाएको छैन, नारायणगढ–मुग्लिन, धादिङखण्डको पृथ्वी राजमार्गको समेत विकल्प दिएको छ । भण्डाराबाट मलेखु झण्डै एक घण्टामा पुग्न सक्ने योजनासहित पूर्वअर्थमन्त्री पाण्डेले यो योजना अगाडि ल्याउनुभएको थियो । उहाँको सपना साकार हुने क्रममा पुगेको छ । अहिले मलेखु र भण्डारातिरबाट सडक पिच हुने काम जारी छ । विभिन्न ठाउँमा पुलहरुसमेत बनिरहेका छन् । अब पुलहरु बनिसके पछि यो सडकमा १२ महिना नै गाडीहरु गुड्छन् । एमाले उम्मेदवार पाण्डे भन्नुहुन्छ, ‘ म जीवनमा निकै खुसी हुन्छु, यो सडकले, मलाई नदेखेका नभेटका मान्छेहरुले पनि यो सडक सुरेन्द्रको योजना हो, सपना हो भन्छन्, मलाई निकै खुसी लाग्छ, केही गर्न सके जस्तो लाग्छ । दुब्लिङ र हात्तिसुडे भन्ने ठाँउमा छोटाछोटा सुरूङ बनाउन ठेक्का खुलेका छन् । स्थानीयबासी बुद्धिबहादुर तामाङले एउटा नेताले देखेको सपना साकार हुने अवस्था आएको भन्दै चेपाङ मार्गको अवधारणा ल्याउने सुरेन्द्र पाण्डेलाई धन्यवाद दिए । चेपाङ मार्ग चितवन खण्डमा ३९ किमी र धादिङ खण्डमा २३ किमी पर्छ ।

एमाले उम्मेदवार सुरेन्द्रको अर्को पनि सपना छ, यो सडकलाई ठोरीसम्म जोड्ने । ठोरीसम्म जोड्दा १३२ किलोमिटर यो सडक लामो हुनेछ ।
चेपाङ मार्गअन्र्तगत राप्ती नगरपालिकाको वडा ११ हात्तीढाँप र वडा नं. १२ ढिटार जोड्ने लोथर खोलामा ९० मिटरको पुल निर्माण काम सकिएको छ । चितवनको भण्डाराबाट कोराक, थाकलटार, देउरालीटार, कपरतक भञ्ज्याङ, बासवाङ हुँदै धादिङ जिल्लाको सिमाना कान्द्राङगढीबाट महादेवस्थान र मलेखु पुग्न सकिन्छ । अझै केही ठाउँहरुमा सडक सुधार गरेर, सुरुङहरु बनाएर सडकलाई छोटो पार्ने प्रयास पनि भइरहेका छन् । ६२ किलोमिटरलाई ५० किलोमिटरमा झार्ने गरी काम भइरहेको एमाले नेता सुरेन्द्र पाण्डे बताउँनुहुन्छ ।

चेपाङ मार्गका तीन फाइदा

भण्डारा मलेखु सडक सञ्चालनमा आएपछि प्रत्यक्षरुपमा तीनवटा फाइदा देखिएको छ । पहिलो नारायणगढ काडमाडौं सडकखण्डमा सवारीसाधनको चाप घट्ने छ भने सडक कै कारणले पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर माथि उठेको छ । चेपाङहरुका अर्गानिक उत्पादनहरुले सहज बजार पाएका छन् ।

सो सडक निर्माण भएपछि चितवनबाट काठमाडाँै जाने यात्रुको सडक दूरी छोटिने छ । भण्डाराबाट भरतपुर मुग्निल हुँदै मलेखुसम्म जान १०६ किलोमिटरको दूरी छ । भण्डारा मलेखु चेपाङ राजमार्ग ६२ किलोमिटर मात्र रहेकाले ४४ किलोमिटर दूरी कम हुन्छ । त्रिशूली नदीका कारण जोखिम पनि उत्तिकै छ । साथै यो सडक नारायणगढ मुग्लिन सडकखण्डको विकल्पका रुपमा समेत प्रयोग सकिने सजिलो सडकखण्ड मध्येको एक बन्ने छ । १०५ किलोमिटर दूरीको राजमार्ग ४४ किमी छोटो भएसँगै यसले समय र इन्धनको बचत गर्छ ।

चेपाङहरू बसमा सरर…..

सो सडकको ट्रयाक खोलेपछि भण्डारा र मलेखुबाट सवारीसाधन चल्न थालेका छन् । पहाडी क्षेत्रमा गाडी चल्न थालेपछि चेपाङलाई आफूले उत्पादन गरेको सामग्रीहरु बजारसम्म ल्याउन सहज भएको छ । ‘बस चल्न थालेपछि धेरै सजिलो भएको छ’, राप्ती नगरपालिका वडा नं.१३ कालीटारका जमानसिंह प्रजाले भन्नुभयो ‘पहिला ५ घण्टा हिडेर भण्डारमा जानु पथ्र्यो अहिले चाँडै पुगिन्छ ।’ उहाँले आफूले उत्पादन गरेको कृषि सामग्री बसमै हालेर बजारसम्म लैजाने गरेको खुसी हुँदै सुनाउनुभयो । सडकको सहज पहँुच नभएका कारण बिगतमा चेपाङले उत्पादन गरेका सामग्री गाउँमा नै कुहिएर फाल्नुपर्ने अवस्था रहेको थियो भने, गाउँमा नै दलालहरुले किन्दा निकै सस्तोमा लिने गरेका थिए । चेपाङले उत्पादन गरेका खसी बोका, मह, तरकारी जडिबुटी सडक अभावको कारण बजारसम्म लैजान नसकेर बस्तीमै पुगेका व्यापारीलाई चेपाङहरुले सस्तो मूल्यमा बिक्री गर्दै आएका थिए । तर, अहिले भाउ समेत पाउन थालेका छन् । उनीहरुको मुख्य बजार भण्डारा भएको छ । यो सडकमा बस चल्न थालेपछि चेपाङहरुले उत्पादन गरेका सामग्री बजारसम्म ल्याएर उचित मूल्यमा बिक्री गर्न थालेको र आर्थिक उर्पाजन हुन थालेको एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले बताउनुभयो । सडकले चेपाङ समुदायको दैनिकी नै परिवर्तन भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>