राजनीति
ओलीलाई रावलको प्रश्न–म ६७ वर्षको बुढो भए ७० वर्ष कटेका ओलीजी तन्नेरी ?

काठमाडौँ, कात्तिक १९–
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले कञ्चनपुरमा एक सभामा बोल्ने क्रममा नेता भिम रावलको आलोचना गरेका थिए । रावल बुढो भइसकेकाले अन्य नेताहरुलाई पालो दिनुपर्ने ओलीले बताएका थिए । ओलीको अभिव्यक्तिलाई लक्षित गरी रावलले सामाजिक सञ्जालमार्फत पाँच प्रश्न सोधेका छन् ।
१, मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’ को लागि मुख किन उदाउनु भएको त ?
२, म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटी सकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? म भन्दा उमेर बढी भएका अरूलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ?
३, हो, अरूलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नु पर्छ । तर अरूलाई पालो दिनु पर्ने भए ओली जी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरूलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?
४, ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तीनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रूपमा अपमान हुने गरी बोल्नु भएको रहेछ । स्मरण होस् अछाम जिल्ला लगायत देशका विभिन्न भागमा ब्राह्मण र क्षेत्री गरी थुप्रै ओलीहरू पनि छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री नि नबनाउने त ?
५, पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दै गर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ ।


























