राजनीति

नवलपुर–१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा शशांक कोइराला

Banner

नवलपुर, कात्तिक १७–

राज्य पुनःसंरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो । जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) लुम्बिनी प्रदेशमा राखियो ।

पुनःसंरचनासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा सम्पूर्ण संरचना नयाँ निर्माण भए । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको जिल्लालाई दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभाजन गरियो । नवलपुरको बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिकाका सबै क्षेत्र र कावासोती नगरपालिकाका ११ वटा वडा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा समेटिएका छन् ।

विसं २०४८ देखि नेपाली कांग्रेसले जित्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को क्षेत्र नम्बर १ बाट यसपटक पनि महामानव वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइराला चौथो पटक निर्वाचनमा होमिएका छन्। कोइराला यस क्षेत्रबाट संविधानसभा निर्वाचन २०६४, २०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ विजयी भएका थिए ।

चौथोपटक निर्वाचन जित्ने कसरतका साथ उम्मेदवार डा कोइरालाको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । नवलपुर क्षेत्र नम्बर १ कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको कांग्रेसको दाबी छ तर, देशव्यापी रुपमा नयाँ नेतृत्वको खोजी भइरहेको बेला र स्थानीय तह निर्वाचन २०७९ मा यस क्षेत्रमा पर्ने अधिकांश पालिकामा एमालेका उम्मेदवार विजयी भएकाले पौडेल विजयी हुने एमालेको दाबी छ ।

विसं २०६४ मा डा कोइरालाले १७ हजार ४३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादीका ठाकुरप्रसाद चापागाईं थिए । एमाले तेस्रो स्थानमा रहेको थियो । विसं २०७० को निर्वाचनमा कोइराला १८ हजार दुई सय २८ मत ल्याएर दोस्रोपटक विजयी भए । कोइराला विजयी हुँदा एमाले उम्मेदवार दीपक अधिकारी क्षेत्रीले १२ हजार एक सय १० र माओवादीका धनप्रसाद सापकोटाले चार हजार तीन सय १७ मत प्राप्त गरेका थिए ।

त्यस्तै २०७४ सालको निर्वाचनमा कोइराला ३६ हजार छ सय ५२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार तीन सय आठ मत प्राप्त गरेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसलाई केही सहज देखिन्छ ।

कांग्रेस महामन्त्रीसमेत भइसकेका कोइराला १५ वर्षसम्म संसद्मा रहँदा आफ्नो क्षेत्रमा टुक्रे र वितरणमुखी योजनाका कामबाहेक विकासका माध्यमबाट परिवर्तन गर्न नसकेको आरोप खेप्दै आएका छन् । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको दबदबा रहेका बेला जित निकालेका डा कोइराला यसपटक गठबन्धन आफ्नो पक्षमा रहेकाले जित सहज भएको बताउँछन् । गठबन्धनले कोइरालालाई सहज बाटो बनाएको कांग्रेसका तर्फबाट गैँडाकोट नगरप्रमुखमा निर्वाचित मदनभक्त अधिकारी बताउँछन् ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नवलपरासी–३ बाट संविधानसभा सदस्य बनेका एमाले उम्मेदवार कृष्णप्रसाद पौडेलले त्यो निर्वाचनमा कांग्रेस उम्मेदवार हालका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पराजित गरेका थिए । एमालेका पौडेल १४ हजार आठ सय चार मत ल्याएर विजयी हुँदा कांग्रेसका पोखरेलले १४ हजार चार सय ७९ मत प्राप्त गरेका थिए । सो क्षेत्र अहिले नवलपरासी पूर्वको क्षेत्र नम्बर २ मा पर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>