राजनीति
मलाई नो नट अगेन होइन, वान्स अगेन भन्नुपर्छ : प्रचण्ड

काठमाडौँ, कात्तिक १७–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई ‘नो नट अगेन’ होइन ‘वान्स अगेन’ भन्नुपर्ने बताएका छन् । एक अन्र्तवार्तामा बोल्दै प्रचण्डले देश बनाउन जनताले अझै एकचोटी आँट गर्न सल्लाह दिएको दाबी गरे ।
‘सबै उस्तै हो भनेजस्तै गरेर मलाई नो नट एगेन किन भन्ने ? यो भन्नेहरू चाहिं यो प्रक्रिया केगरी विथोल्ने भन्नेतिर उत्प्रेरित भएको हो कि ?’, उनले आशंका व्यक्त गरे ।
उनी भन्छन्–म चाहिं मेरो अन्तिम भनेर भन्दै भन्दिनँ । किनकि विचार, राजनीति, देश सेवा कहिल्यै उमेरमा कैद हुँदैन । सबै बुढाहरूले मात्र ओगटेर बस्नुपर्छ भन्ने पनि सही होइन, कसको कतिवेला कहाँ आवश्यकता पर्छ भन्ने देश, काल र परिस्थितिमा निर्भर हुन्छ ।
‘पार्टीभित्र आन्दोलनमा राजनीतिक नेतृत्वको पनि आवश्यकता र औचित्य उसको कर्म, जनताको भावना र चाहना र उसले दिने परिणामद्वारा निर्भर हुन्छ । एउटा भर्खरको उमेर भएकाले पनि नेगेटिभ गर्न सक्छ । धेरै वर्ष भएकाले पनि धेरै पोजेटिभ गर्न सक्छ । त्यो अवस्थामा उमेरमा कैद गर्ने कुरा मलाई वैज्ञानिक जस्तो लाग्दैन’, उनले भने ।
प्रचण्ड नो नट एगेन भनेको देख्दा अनौठो लागेको भन्दै उनले भने, ‘तर म नै त्यस्तो नेता हुँ, हाम्रो पार्टी नै त्यस्तो पार्टी हो, जसको पार्टीमा युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ भन्छ । अहिले केन्द्रीय समितिमा २० प्रतिशत युवा छन् । माओवादी मात्र त्यस्तो पार्टी हो, जसले युवालाई एकैचोटि नेतृत्वमा प्रमोट गरेर भोलिको दिनमा विशाल पंक्ति तयार पार्ने पहल गरेका छौं ।’
‘म जहाँसुकै गएको छु, जनतामा प्रचण्डले एकचोटि आँट गर्यो भने देश बन्छ कि भन्ने आशा पलाएको देख्छु । यत्रो परिवर्तन ल्याएको तुहिएर जाओस् भन्ने हो कि ? जसले यत्रो परिवर्तन ल्याउन त्याग, तपस्या र योगदान गर्यो, त्यसलाई अलिकति ह्युमिलेट गर्ने, तिनका विरुद्ध अभियान चलाउने भनेको यो परिवर्तन टुहुरो होस् र मरोस् भन्न खोजेको हो कि ? नत्र किन त्यत्रो कोलाहल मच्चाउनुपर्यो’, उनी भन्छन् ।
अनलाईन खबरबाट


























