Breaking News

‘वर्षभरि खाने अन्न जोगाउँदा अन्यामा पर्‍यौं, त्यत्रो पैसा कसरी तिर्ने’

बँदेल प्रकरणः जो आफ्नो अन्नबाली जोगाउँदा जेल सजाय पाए

Banner

चितवन, कात्तिक ५–

२०७६ माघ १४ गते माडी नगरपालिका–१, स्थित सेरुवामा आफ्नै खेतमा आएको बँदेल स्थानीय तीन महिलाले धपाउने क्रममा मारे । दिनहुँजसो खेतमा लगाएको अन्नबाली नष्ट गरेपछि आजित भएका उनीहरुले लखेट्ने क्रममा बँदेल मर्‍यो । यही अभियोगमा तीन महिला कुमारिया महतो, रमिया महतो र बिसुनी महतो दोषी ठहर हुँदै जेल र जरिवानाको सजाय पाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेपछि त्यसको तीन वर्षपछि अर्थात् गत भदौ १४ अदालतले तीनै महिलाविरुद्ध सजाय सुनायो । उनीहरुलाई प्रतिव्यक्ति जरिवाना स्वरुप रु.४० हजार र ६ महिना कैद बापतको जनही रु.५४ हजार गरि जनही ९४ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । आर्थिक अवस्था कमजोर रहेका ती महिलाहरु जरिवाना तिर्न नसक्ने भएकाले जेल सजाय भुक्तानी गर्ने अवस्थामा पुगेका छन् । यीनै समस्याहरुलाई स्थानीय युवाहरु निवर्तमान वडा अध्यक्ष कृष्ण पौडेल, युवा व्यवसायी संजय महतोलगायतको टिम समाधान गर्न लागि परेका छन् ।

उनीहरुले आर्थिक संकलन अभियान सुरु गरेर करिव ३ लाख रुपैयाँ जरिवाना बुझाउन लागि परेका छन् । ‘यो मुद्दाको विषयमा मैले नै स्थानीय जनप्रतिनिधिको नाताले समाधान गर्न प्रयास गरेको थिए, तर अन्यायपूर्ण रुपमा जरिवाना र जेल सजायको फैसला आएपछि म आफै आर्थिक संकलन अभियानमा हिँडेको छु’–माडी नगरपालिका–१ का निवर्तमान वडा अध्यक्ष कृष्ण पौडेलले भने ।

जंगली जनावरबाट आजित माडीबासीको लागि पौडेल सोही बेला अनशन समेत बसेका थिए । त्यसबेला उनले पीडित तीन महिलालाई तारेखमा छुटाउन सफल भए । तर निर्दोष व्यक्तिलाई दोषी ठहर गर्दै तिर्नै नसक्ने जरिवाना सुनाएकाले माडीबासीसंग जोडिएको मुद्दाको रुपमा यसलाई लिएको पौडेलले बताए । ‘हामी माडीबासी जनताको समस्या चाँही कसैले नसुन्ने, वर्षभरि खाने अन्न वन्यजन्तुले नै सखाप भएपछि माडीबासी कसरी बाच्ने, यो एउटा बदेल मारेको मुद्दा मात्रै होइन, माडीबासीप्रति हेर्ने दृष्टिकोणको रुपमा लिएको छु’–पौडेलले भने ।

युवा व्यवसायी संजय महतोले मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनीकरणको प्रयास नभएकाले आज माडीबासी यस्तो समस्या भोग्न बाध्य भएको बताउँछन् । ‘तीन महिलाहरुले जसरी नै भएपछि पैसा खोजेर पनि तिर्न त सक्नु होला, तर यो पैसाको कुरा मात्रै होइन, माडीबासीप्रतिको भेदभावको रुपमा लिएका छौं’–महतोले भने । उनले अहिले तिव्र रुपैयाँमा आर्थिक संकलन अभियान चलिरहेको बताए ।

जो आफ्नो अन्नबाली जोगाउँदा जेल सजाय पाए

कुमारिया महतो, रमिया महतो र बिसुनी महतो दैनिकजसो खेतमा लगाएको अन्नबाली हात्ती, गैंडा, बँदेललगायतका वन्यजन्तुले सखाप पार्न थालेपछि आजित भए । उनीहरु तिनै जनाको खेत एकै ठाउँमा छ । सबैको अन्नबाली सखाप पार्न थालेपछि २०७६ माघ १४ गते तीनै जना बँदेल धपाउन पुगे । होहल्ला गर्दा नभागेपछि उनीहरुले ढुंगाले लखेट्दा बँदेल मर्‍यो । उनीहरुले मरेको बँदेललाई घरसम्म ल्याउन प्रयास गरे । यही खबर चितवन राष्ट्रिय निकुञ्जसम्म पुग्यो । तत्काल निकुञ्जबाट आएको टोलीले उनीहरुलाई हिरासतमा लियो । करिव १४ दिनसम्म उनीहरु निकुञ्जको हिरासतमा बसे । स्थानीयबासीको चर्को दवाबपछि निकुञ्जले उनीहरुलाई धरौटीमा रिहा गर्‍यो । उनीहरुलाई निकुञ्ज भित्रै प्रवेश गरि अवैध तरिकाले बँदेल मारेको भन्दै गलत आरोप लगाउँदै निकुञ्जले पक्राउ गरेको थियो ।

अहिले तीनै जना महिलाहरु आर्थिक अभाव कमजोर रहेको भन्दै पुनः जेल जानुपर्ने भन्दै चिन्तित छन् । ‘हामीसंग त्यति धेरै पैसा पनि छैन, पैसा नतिरे ६ महिना जेल जान्छौं भनेका छन्, हामीलाई रातदिन सुत्न सकेका छैनौं’–पीडित महिला विष्णु महतोले भनिन् । उनको जम्मा ३ कठ्ठा जमिन छ । त्यतिले नपुग्ने भएपछि कहिलेकाहीँ अधिया लगाएर खेतीपाती गर्ने गरेका छन् । ‘यसपाली खडेरीले पनि उत्पादन घटायो, बाँकी भएको पनि सबै गैंडाले सखाप बनायो, हामीलाई खान पनि नपुग्ने अवस्था बनेको छ’–विष्णुले दुखेसो पोखिन् ।

सोही घटनामा मुछिएकी रमिया महतोलाई पनि अहिले चिन्ताले सताईरहेको छ । त्यति धेरै पैसा तिर्न नसक्ने भएपछि चन्दा उठाएर भएपनि जेल जानबाट जोगिने विश्वासमा छिन् । ‘निवर्तनमा वडा अध्यक्ष र भाईहरुले चन्दा उठाउन थालेछन्, हामीसंग पैसा नभएकाले त्यही चन्दाबाट नै जरिवाना तिर्न प्रयास गर्छौ’–रमियाले भनिन् । उनले बँदेल मरेको विषयलाई भवितव्य भएको बताईन् । ‘जहिल्यै पनि हामीले लगाएको अन्नबाली खाइदिने, साह्रै गरेपछि हामीले लखेट्ने क्रममा बँदेललाई मारेका हौं’ रमियाले भनिन्–‘हाम्रो सबै अन्नबाली वन्यजन्तुले खाँदा कसैले वास्ता नगर्ने, हामीले आफ्नै खेतमा आएको एउटा बँदेल मार्दा यस्त्रो सजाय पाउँदा दुखित छौं ।’

हामीले सकेको सहयोग गर्छौंः मेयर महतो

माडी नगरपालिकाकी मेयर ताराकाजी महतोले बँदेलको मुद्दामा फैसला सुनाईएका व्यक्तिहरु निर्दोष रहेको भन्दै उनीहरुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । कानुनी रुपमा अदालतले फैसला सुनाई सकेपछि त्यसलाई उल्टाउन नसकिने भन्दै तीन महिलाहरुलाई न्याय दिलाउने काममा आफू लागि पर्ने बताइन् । ‘उहाँहरु आर्थिक रुपमा पनि कमजोर हुनुहुन्छ, अभियन्ताहरु पनि आर्थिक संकलनमा लागि रहनु भएको छ’मेयर महतोले भनिन्–‘फैसला उल्टाउन नसकेपनि अरु हिसाबले हामीले सहयोग गर्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>