चितवन विशेष

हात्तीको पनि गरिन्छ विधिपूर्वक न्वारन

Banner

सौराहा, असोज १-

धार्मिक परम्पराअनुसार होमादी पूजासँगै हात्तीको न्वारान गर्ने गरिएको समाचार सुन्दा अनौठो लाग्न सक्छ तर चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ। सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ। चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले रातो चन्दनले पीपलको पातमा छावा वा छावीको नाम लेख्ने गर्छन्। पुरोहितले केन्द्रका प्रमुखलाई छावा वा छावीको नाम सोध्ने र प्रमुखले सुझाइएको नाम राख्ने चलन छ।

केन्द्रका प्रमुख मनपुरन चौधरीले गत साता एउटी छावीको नाम स्वर्णकली राखिएको बताउँदै भन्नुभयो, “मानिसको जस्तै धार्मिक विधिअनुसार न्वारान गर्ने परम्परा छ।” हात्तीको न्वारन १२ दिनमा हुने गरेको छ। मुलुकमा गणतन्त्र स्थापना हुनुपूर्वसम्म दरबारले नै हात्तीको नामकरण गर्ने गरेकोमा अचेल निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई सो जिम्मेवारी दिइएको छ।

“केन्द्रको प्रस्तावमा प्रमुख संरक्षण अधिकृतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहमतिमा नामकरण गर्ने चलन छ,” केन्द्र प्रमुख चौधरीले भन्नुभयो। लोकतन्त्रकलीको तेस्रो सन्तानका रूपमा स्वर्णकली भदौ १२ गते जन्मिएकी हो। निकुञ्जका पशु चिकित्सक डा। विजय श्रेष्ठले निकुञ्जको स्वर्ण महोत्सवका अवसरमा जन्मिएकाले यसको नाम स्वर्णकली राखिएको बताउनुभयो। २०६३ साल जेठ ११ गते खोरसोरमा जन्मिएकी लोकतन्त्रकलीको नाम सो वर्ष लोकतन्त्र स्थापना भएकाले त्यसरी नामकरण गरिएको थियो।

हात्तीको न्वारन १२ दिनमा हुने गरेको छ । शाहीकालमा दरबारले नै हात्तीको नामकरण गर्ने चलन रहे पनि अचेल निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई सो जिम्मेवारी दिइएको छ । मानिसको जस्तै धार्मिक विधिअनुसार न्वारान गर्ने परम्परा छ ।

छावाछावी जन्मँदा खुसीयालीमा वनदेवीलाई बोका बली दिएर प्रसाद बाँड्ने र भोजभतेर गर्ने प्रचलन छ । २०३० साल असोजमा स्थापना भएको निकुञ्जले स्वर्ण महोत्सव मनाउँदै छ। निकुञ्जभन्दा १२ वर्षपछि स्थापना भएको प्रजनन केन्द्रमा ६१ वटा हात्ती जन्मिसकेका छन्। केन्द्रमा छावाछावी जन्मँदा खुसीयालीमा वनदेवीलाई बोका बली दिएर प्रसाद बाँड्ने र भोजभतेर गर्ने प्रचलन छ।

२०४४ सालमा रामप्यारीकलीबाट जन्मिएकी चितवनकली हात्ती प्रजनन केन्द्रकै पहिलो सन्तान हो। दरबारले नाम राख्दा राजपरिवारको नाममा सिफारिस गर्ने चलन हुन्थ्यो। वीरेन्द्रगज, दीपेन्द्रगज, ऐश्वर्यमाला, श्रुतिकली आदि राखिएको बताउँदै पशु चिकित्सक डा। श्रेष्ठले भन्नुभयो, “अहिले संरक्षणका क्रममा ज्यान गुमाएका कर्मचारी, स्थानीय वन जङ्गल तथा स्थानका नाममा नामकरण गर्ने गरिएको छ। रमेशगज, शेषचन्द्रगज, खोरसोरकली आदि नाम राखिसकिएको छ।” हात्ती चराउन जङ्गल गएका बेला गत वैशाख १६ गते हात्तीसारे रमेश चौधरीको बाघको आक्रमणबाट मृत्यु भएपछि उहाँको सम्झनामा गत असार १७ गते जन्मिएको छावाको नाम रमेशगज राखिएको छ।

हात्तीले २२ देखि २४ महिनामा बच्चा जन्माउँछ। केन्द्रमा अहिले प्रायः जङ्गली मत्ताले ढोईलाई गर्भवती गराउन थालेपछि निकुञ्जका कर्मचारीहरूले केन्द्रमा नियमित आउने भाले हात्तीलाई ज्वाइँराजा भन्ने गरेका छन्। वसन्त पराजुली ,गोरखापत्र दैनिक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>