खेलकुद

सुदूरपश्चिम खेलकुद स् पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा

Banner

महेन्द्रनगर, भदौ ३१–

चौतीस वर्षअघि कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंहले ओलम्पिकमा रचेको इतिहास अझै जीवित छ । सिओल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेर ‘एक वाउट’ जित्ने अहिलेसम्मकै एक्ला खेलाडी हुन् सिंह । राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण विभागको उपनिर्देशक पदमा कार्यरत सिंह अब जागिरको उत्तरार्धमा छन् ।

सिओल ओलम्पिकमा सुदूरपश्चिमबाटै डम्बरदत्त भट्टले पनि बक्सिङ खेलमा प्रतिस्पर्धा गरेका थिए । पछिल्लो समय ब्याडमिन्टन खेलको जुनियरतर्फ विश्व वरियताको नम्बर एकमा रहेका प्रिन्स दाहाल पनि सुदूरपश्चिमकै खेलाडी हुन् । दार्चुलामा बुवाको पछि लागेर बुवाकै साथ र सहयोगले ब्याडमिन्टनको विश्व वरियतासम्म पुगेका प्रतिभावान खेलाडी दाहाल जन्मिएको दार्चुलाको खेलको अवस्था भने अझै दयनीय छ ।

केही वर्षअघिसम्म तेक्वान्दोमा तहल्का मच्चाएका कीर्तिमानी खेलाडी दीपक विष्टले पनि सुदूरपश्चिमबाटै खेल जीवन सुरु गरेका हुन् । यसरी विसं २०४०÷४२ को दशकयता निरन्तर खेलाडी तयार गरिरहेको सुदूरपश्चिम प्रदेश खेलकुदका लागि चाहिने पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा छ ।

कैलाली र कञ्चनपुरमा केही खेल संरचना र पूर्वाधार सरकारले लगानी गरेर बेलाबखत बनाइरहेको भए पनि सात पहाडी जिल्लामा अझै त्यो सुविधाबाट खेलाडी बञ्चितजस्तै छन् । विगतदेखि नै भलिबलमा पहाडी जिल्लाबाट खेलाडी उत्पादन हुँदै आएका छन् । तर खेलाडीलाई नियमित प्रशिक्षण दिएर निखार ल्याउन यहाँ पर्याप्त प्रशिक्षकसमेत नभएको अवस्था छ ।

पूर्व राष्ट्रिय खेलाडी भोजराज जोशी दुई दशकयता दार्चुलामा स्वयंसेवक प्रशिक्षक भएर भलिबल खेलाडी तयारीमा लागेका छन् । भोजराज त एक उदाहरणीय पात्र मात्रै हुन् । उनीजस्तै लामो समय खेलकुदमा खर्चिएका सिनियर खेलाडी यहाँ विभिन्न खेलमा बिना सुविधा स्वयंसेवक प्रशिक्षक छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट सकिएर प्रदेशस्तरीय छनोट सुरु भइरहँदा यहाँ कुनै खालको रौनकता भने देखिँदैन ।

प्रिन्सको जिल्लामा बगेको कवर्डहल

रासस दार्चुला समाचारदाताका अनुसार चर्चित ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको गृहजिल्ला दार्चुलामा एउटा कभर्डहलसम्म छैन । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सफल भएका दाहालको गृहजिल्ला दार्चुलामा नौ वर्षअघि महाकाली नदीमा आएको बाढीले यहाँको कभर्डहल बगाएको थियो ।

बाढी यता यहाँ खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको निकै अभाव रहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मानसिंह बुढाथोकी बताउँछन् । “बाढीले कभर्डहल बगाएयता यहाँ खेल गतिविधि सञ्चालनका लागि संरचना बनेनन्”, अध्यक्ष बुढाथोकीले भने, “खेलाडीलाई प्रशिक्षण दिन सदरमुकाम बाहिरका क्षेत्र लैजानुपर्ने बाध्यता छ ।”

डडेल्धुरा खेलकुद पनि समस्याग्रसित

डडेल्धुरा जिल्लामा व्यवस्थित खेलमैदानको अभाव छ । सदरमुकाम अमरगढी नगरपालिकामा तीनवटा रङ्गशाला र खेलमैदान निर्माणधीन अवस्थामा छन् । तर बजेट अभावमा पूरा हुनसकेको छैन ।

लामो समयदेखि खेलमैदान अभावमा जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रमा खेलकुदसम्बन्धी गतिविधि प्रभावकारी हुनसकेका छैनन् । सात स्थानीय तह रहेको डडेल्धुरामा परशुराम नगरपालिकाबाहेक अन्य स्थानमा बहुखेल प्रतियोगिता गर्न सकिने खेलमैदान नहुँदा खेलाडी र दर्शकलाई समस्या हुने गर्छ ।

भलिबलबाहेक क्रिकेट, दौड र इन्डोरमा खेलाइने खेलहरूका लागि बढी समस्या भइरहेको खेलाडीको दुःखेसो छ । यहाँ खेलाडीले जोखिम मोलेर अभ्यास गर्नुपर्ने अवस्था छ । खेलमैदान निर्माणाधीन अवस्थामा रहेकाले खेलाडीले असहजता महसुस गरी खेल्ने गरेको भलिबल प्रशिक्षक नरेश थापाले जानकारी दिए ।

बझाङ : बगरमा खेल

तीन साताअघि बझाङमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट तयारी हुँदै थियो । जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोट गरेपछि १२ वटै पालिकाका खेलाडी सदरमुकाम चैनपुर आए । चैनपुरका विभिन्न स्थानमा विभिन्न खेलका लागि खेलाडी छनोट प्रक्रिया सुरु भयो । खेल खेलाउनका लागि समितिले सदरमुकाम नजिकैका विद्यालयलाई चौर प्रयोग गर्न अनुमति माग्यो र सोही ठाउँमा खेल खेलायो ।

मैदान नहुँदा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोटका लागि स–साना खेल बगरमै खेलाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताए । क्रिकेट, फुटबलजस्ता ठूलो ठाउँमा खेल खेलाउनका लागि मात्रै नभई सानो ठाउँमा हुने भलिबल, क्रिकेट, ब्याटमिन्टन, ह्याण्डबल, टेबलटेनिस, बक्सिङ, तेक्वान्दो, फुलकन्टयाक्ट पौडी, खोखो, एथलेटिक्स, बुद्धिचाललगायतका खेल खेलाउनका लागि पनि बझाङमा खेलमैदान अभाव छ ।

उनले भने, “प्रदेश छनोटका लागि बझाङबाट दुई सय तीन जना खेलाडीको माग थियो । तर पाँच सय ५० जनाको आवेदन परेको हुँदा उनीहरूलाई विभिन्न विद्यालयका चौर र बगर प्रयोग गरेर खेलाडीलाई प्रतिस्पर्धा गराउँदै छनोट गरेका हौँ ।”

खेलमैदान निर्माणका लागि स्थानीय निकायसँग पनि सहकार्य भइरहेको अध्यक्ष रोकायाले बताए । “स्थानीय निकाय तथा अन्य निकायसँग पनि खेलमैदानका लागि समन्वय गरिरहेका छौँ । उहाँहरूले हुन्छ त भन्नुभएको छ तर अहिलेसम्म खेलमैदानका लागि गहिरिएर चासो भने कसैले पनि दिएका छैनन्”, उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>