गण्डकी

विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिर

Banner

गण्डकी, भदौ २८–

लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो । खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे ।

कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ । फाट्टफुट्ट कोदाको खेती देखिने गरे पनि कागुनो त लगभग हराइसकेको छ । परम्परागतरूपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन ।

यिनै कुरालाई दृष्टिगत गर्दै पोखरा महानगरपालिका– २२ पुम्दीभुम्दी दहरास्थित लीला आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार रैथाने बालीका परिकारको खाजा खुवाइयो । पुम्दीभुम्दी कृषि सहकारी संस्था र कराङ्गे कृषि समूहद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रमको उद्देश्य नै विद्यार्थीलाई रैथाने बालीका परिकारको खाजा खुवाएर यसबारे जानकारी गराउँदै अभिभावकलाई यसतर्फ अभिप्रेरित गर्नु थियो ।

खेतबारीहरू बाँझिदै गएका अवस्थामा पोषकतत्वयुक्त रैथाने बालीतर्फ सचेतना जगाउने उद्देश्यका साथ विद्यालयका विद्यार्थीलाई रैथाने कोदोको सेल, कागुनाको खिरसहित केरा र आलुको अचारको खाजा खुवाइएको कराङ्गे कृषक समूहका अध्यक्ष श्यामलाल पोख्रेलले बताए ।

“पछिल्ला वर्षमा गाउँघरतिर खेतबारी बाँझै छन्, कोदो, कागुनोजस्ता रैथाने बाली लोप हुने अवस्थामा छन्”, उनले भने, “विद्यालयका विद्यार्थीमार्फत रैथाने बालीप्रति सचेतना जगाउने उद्देश्यका साथ यो अभियान थालेका हौँ ।”

पहिले–पहिले गरिब, विपन्न परिवारले खाने अन्नका रूपमा लिइने कोदो पछिल्ला वर्षमा भने सम्पन्न हुनेखानेको रोजाइमा पर्न थालेको छ । विभिन्न रोग प्रतिरोधात्मक क्षमता भएको कोदोको पछिल्ला वर्षमा खेती कम हुँदै गएको छ भने बजारमा माग बढ्दो रहेको पोखरा कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउँछन् ।

कोदोखेती कम हुन थालेसँगै यसका विभिन्न रैथाने प्रजाति पनि लोप हुँदै जानु यतिखेर चुनौतीका रूपमा देखिएको छ । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजाति पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएका छन् ।

मधुमेहजस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको पाइन्छ । पौष्टिक अन्नमध्येको कोदो रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदोखेतीलाई अघि बढाउन सकेमा यसले बाँझिएका जग्गामा खेती गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्न सकिने कडरियाको भनाइ छ । विद्यालय तहबाट सचेतनामूलक किसिमले रैथाने बालीका परिकारका खाजा खुवाउने अभियानलाई व्यापक गर्न सकेमा हराउँदै गएका बालीलाई पुनः लगाउने वातावरण तयार गर्न सकिने कडरियाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>