चितवन विशेष
एमाले महाधिवेशनमा सर्वाधिक मत ल्याएका ज्ञवालीले चितवन-२ बाट उम्मेदवार बन्न दिए आवेदन

चितवन, भदौं १८-
नेकपा एमालेको तर्फबाट चितवन क्षेत्र नम्बर २ मा संघीय सांसदमा प्रत्यक्षबाट चुनाव लड्न एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवालीले आवेदन दिएका छन् ।
पार्टी क्षेत्रीय समन्वय कमिटीमा सांसद बन्ने आकांक्षा राख्दै ज्ञवालीले निवेदन दिएका हुन् । यसअघि पनि उनी पहिलो संविधानसभामा सोही क्षेत्रमा एमालेबाट उम्मेदवार बनेर पराजित भएका थिए । त्यसैगरी भरतपुर महानगरपालिकामा २०७४ सालमा मेयर पदमा पनि पराजित भएका थिए । पार्टीको चितवनमा सम्पन्न १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याउन सफल ज्ञवाली एमालेको जिल्ला इन्चार्ज पनि हुन् ।
ज्ञवालीसँगै चितवन–२ बाट हालका सांसद कृष्णभक्त पोखरेलले पनि आवेदन दिएका छन् ।
यस्तै उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तीलचन्द्र भट्टराई, संविधान सभा सदस्य शिवकुमारी गोतामे र कृषिविज्ञ डा कृष्ण पौडेलले उम्मेदवारको आकांक्षा व्यक्त गर्दै आवेदन दिएका छन् ।
























