Breaking News

चितवनमा सहज नभएको भन्दै प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

Banner

काठमाडौँ, साउन २२-

मंसिर ४ को प्रतिनिधिसभा चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्छन् भन्ने जति ढुक्कका साथ भन्न सकिन्छ, उनको चुनाव क्षेत्रबारे भने त्यति नै संशय छ ।

खुला राजनीतिमा आएपछि प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन् । २०६४ को संविधानसभा चुनावमा रोल्पा र काठमाडौं १० दुबै क्षेत्रबाट चुनाव जितेका उनी दोस्रो संविधानसभा–२०७० मा रोल्पा गएनन् । काठमाडौं १० मा पराजित भएका उनी सिराहा ५ मा निर्वाचित भएर सांसद बने ।

२०७४ मा भने एमालेसँग वाम गठबन्धन गरेका प्रचण्ड चितवन ३ बाट निर्वाचित भए । तर पछिल्लो ५ वर्षमा प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा जति बजेट खन्याएका छन्, त्यहाँको राजनीति पनि त्यति नै गिजोलेका छन् ।

स्थानीय चुनाव–२०७४ मा नेपाली कांग्रेससँग तालमेल गरेर छोरी रेनुलाई भरतपुर महानगरको मेयर बनाएका प्रचण्ड प्रतिनिधिसभा चुनाव २०७४ मा एमालेसँग तालमेल गर्न पुगे । यो पटक स्थानीय चुनावमा फेरि कांग्रेस र माओवादी एक ठाउँमा आयो । अहिले प्रचण्ड कांग्रेससँगै गठबन्धन गरेर प्रतिनिधिसभा चुनाव लड्ने पक्षमा छन् । तर कांग्रेसको भोट पाएर फेरि सांसद निर्वाचित हुन प्रचण्डलाई सहज नभएको माओवादी नेताहरु नै स्वीकार गर्छन् ।

माओवादी बलियो मानिएको बर्दिया, प्रचण्डको पुर्ख्यौली थलो कास्कीलाई प्रचण्डको सम्भावित निर्वाचन क्षेत्र समेत मान्ने गरिएको छ । तर गोरखाका नेताहरुले भने प्रचण्डले क्षेत्र नम्बर १ बाट चुनाव लड्न औपचारिक रुपमै प्रस्ताव गरेका छन् ।

गण्डकी गाउँपालिकाको अध्यक्ष दीपक तिमल्सिनाले ५ साउनमा प्रचण्डलाई भेटेर गोरखा १ बाट उम्मेदवारी दिन प्रस्ताव गरेका हुन् । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हरि अधिकारीलाई लिएर खुमलटार पुगेका तिमल्सिना भन्छन्, ‘मैले अनुरोध गरेको हुँ । उहाँ आउँदा जिल्लामा विकासको आधार बन्छ ।’

माओवादी नेता समेत रहेका तिमल्सिनाले भने, ‘देशको मध्यभाग, हिजो जनयुद्धमा त्याग गरेको क्षेत्र पनि हो । यस पटक स्थानीय तह निर्वाचनमा पहिचान राख्न पनि सफल भएको हो ।’ ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गोरखाका ११ स्थानीय तहमध्ये ९ वटाको नेतृत्व माओवादीले जितेको थियो ।

माओवादीका पूर्वनेता डा. बाबुराम भट्टराईको घर गोरखाको क्षेत्र नम्बर २ मा पर्छ । उनी २०७४ सालमा गोरखा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए । माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठको घर पनि गोरखा क्षेत्र नम्बर २ मा नै पर्छ ।

गोरखा क्षेत्र नम्बर १ बाट २०५६ सालसम्म नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्ले निर्वाचित हुँदै आएका थिए । २०६४ सालमा माओवादी केन्द्रकी पार्वती थापा र २०७० मा डा. बाबुराम भट्टराई निर्वाचित भए । नयाँ संविधान बनेपछि गोरखामा जम्मा २ वटा क्षेत्र बन्यो र २०७४ को चुनावमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।

हाल सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका अधिकारी प्रचण्ड आए आफू धेरै खुसी हुने बताउँछन् । ‘मैले जितेकोभन्दा उहाँ आउँदा हजार गुणा खुशी हुन्छु,’ माओवादी पोलिट्व्यूरो सदस्य अधिकारी भन्छन्, ‘उहाँ कहाँबाट उठ्ने भन्ने पार्टीले डिसिजन गर्ने कुरा हो, हामीले गोरखा १ बाट चाहेका हौं । यो हाम्रो निम्ति ठूलो अवसर हुन्छ ।’

गोरखा क्षेत्र नम्बर १ सँग प्रचण्डको भावनात्मक सम्बन्ध रहेको पनि अधिकारीले बताए । प्रचण्डले यो निर्वाचन क्षेत्रमा पर्ने आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा २०३३ सालमा शिक्षकको रुपमा काम गरेका थिए । गोरखा क्षेत्र नम्बर १ मा माओवादीको जनमत राम्रो भएको मानिन्छ । यो क्षेत्रमा पर्ने ७ स्थानीय तहमध्ये ६ वटाको नेतृत्व माओवादी केन्द्रले नेतृत्व जितेको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाले अध्यक्ष प्रचण्ड गोरखा आए जिल्लाको विकास निर्माणमा ठूलो फाइदा हुने बताए । ‘अध्यक्ष आउनुभयो भने हामी सबैको लागि खुसीको कुरा हो’ उनले भने, ‘तर औपचारिक रुपमा केही कुरा भएको छैन ।’

( विनोद ढकाल\अनलाइनखबर)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>