राजनीति
बाबुराम भट्टराईको नयाँ पार्टी नेपाल समाजवादीमा तीन जना अध्यक्ष हुने

काठमाडौं,साउन ८-
डा.बाबुराम भट्टराईले खोल्न लागेको नयाँ पार्टीको नाम टुंगो लगाएको छ ।
नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको छ । जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।
२ वर्षसम्म यो चुनाव चिह्न अर्को पार्टीले नपाउने भएका कारण नाम फेरेर ‘नेपाल समाजवादी पार्टी’ राख्ने र डा. बाबुरामलाई हस्तान्तरण गर्ने सहमति भएको छ । त्यसअनुसार आइतबार विधान संशोधनका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले विधान स्वीकृत गरेपछि केन्द्रीय कार्यसमिति परिर्वतन हुन्छ । एक नेता भन्छन्, ‘त्यसपछि बल्ल डा.बाबुरामको हातमा पार्टी आइपुग्छ ।’ नेताहरुका अनुसार पार्टीको विधानमा फरक फरक समुदायबाट तीन अध्यक्षको व्यवस्था गरिएको छ ।


























