अन्तर्वार्ता

वर्षायाममा दीर्घरोगी बालबालिका उच्च जोखिममा: डा मिश्र

Banner

चितवन, साउन ५-

वर्षायाममा बाढी र डुबानका कारण पानीका स्रोतहरु प्रदूषित हुने सम्भावना प्रवल हुन्छ । खानेपानीसँगै वातावरण पनि फोहोर हुँदा ठूला मानिस भन्दा रोगले बालबालिकालाई बढी सताउने गर्छ । यस समय पानीको उपलब्धता बढी हुने र पानी जम्ने हुँदा लामखुट्टे जन्मन्छन् । लामखुट्टेको कारणले हुने मलेरिया, डेंगी, भुसुनाका कारण कालाजार लाग्ने सम्भावना उत्तिकै हुन्छ ।

खानेपानी फोहोर भएकै कारण झाडापखाला, आउँ, जण्डिसजस्ता रोग देखा पर्दछन् । फोहोर पानीमा हेपाटाइटिस गराउने भाइरसहरु पुगे भने वा पानीको मुहानमा कुनै व्यक्तिले दिशा ग¥यो भने पनि यस्ता रोग देखापर्छन् ।

यस्ता जोखिमबाट बालबालिकालाई सुरक्षित राख्न नारायणी अनलाइनकी संवाददाता प्रतिमा कुमालले निको बाल अस्पताल भरतपुर–१० का वरिष्ठ बालरोग विशेषज्ञ तथा बाल मुटुरोग विशेषज्ञ डा अजितकुमार मिश्रसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ: कुराकानीको सम्पादित अंश ।

अस्पतालमा कस्ता खालका बिरामी बालबालिकाहरु उपचारका लागि आइरहेका छन् ?

वर्षायाममा धेरै बालबालिकाहरु भाइरल ज्वरोकै बिरामी हुन्छन् । सरुवा ज्वरो चितवनमा बढी छ । मनसुनको बेलामा खानाबाट पानीबाट सर्ने हेपटाइटिस, झाडापखाला, एलेर्जी, टाइफाइट रोग लिएर अहिले धेरै जसो आइरहेका छन् । तर, कोरोना भाइरस संक्रमण हुन भन्दा पहिलाको अवस्था भन्दा अहिले कम छ । कोभिड बन्दा पहिलेको कुरा गर्दा सबै भन्दा बढी आउने भनेको हाम्रोमा डेङ्गी टाइफाइट, टाइफस, झाडापखाला, हेपटाइटिस, दादुरा बढी थियो । सरकारले बढाएको खोप कार्यक्रमका कारणले रोगसँग लड्ने क्षमता बालबालिकामा बढेको देखिएको छ ।

कुन उमेर समूहका बालबालिका उपचारका लागि बढी आउने गरेका छन् ?

हाम्रो शारीरिक विकास मानसिक विकास रोक प्रतिरोधात्मक क्षमताको विकास यो सबै विकासको एउटा आफ्नै अवधि हुन्छ । मेन्टल ग्रोथ दुई वर्षमा पूरा हुन्छ । शारीरिक विकासको एउटा फेजनै हुन्छ जुन १६ देखि १७ वर्षमा पूरा हुन्छ । त्यस्तै रोग प्रतिरोधात्मक क्षमताको विकास हुनका लागि पनि समय चाहिन्छ । यो जन्मेदेखि सुरु भएर ६ देखि ७ वर्षको आयुमा आएर ८२ देखि ९० प्रतिशत विकशित भइसकेको हुन्छ । त्यसकारण समान्यतया ६ देखि ७ वर्ष मुनिका बालबालिकाहरु धेरै बिरामी पर्छन् । बर्षायाममा बढी बिरामी पर्ने बालबालिकामा नवजात शिशु हुन्छन् ।

दीर्घरोगी बालबालिकामा यस मौसमको प्रभाव कस्तो छ ?

रोग प्रतिरोधात्मक क्षमता कम छ जुन बच्चामा जस्तै बालदम, जन्मजात मुटुको समस्या, क्यान्सर, मृगौला, लिबर, जस्ता बिरामीलाई चलाइने औषधिले रोगप्रतिरोधात्मक क्षमतालाई कम गर्छ । यससम्बन्धी बिरामी भएका बालबालिका तथा ठूला मानिससमेत यस मौसममा बढी जोखिममा हुन्छन् । यस किसिमको रोग भएका उमेर पुगेका मानिसमा समेत स्वस्थ बच्चाको रोगप्रतिरोधात्मक क्षमता भन्दा कम हुन्छ ।

चितवनमा कुन क्षेत्रका बालबालिका बढी यो समयमा बिरामी पर्छन ?

अहिले दैनिक ७० देखि ८० बालबालिकालाई ओपीडीबाट हेर्ने गरेका छौं । चितवनका मात्र नभएर यहाँ आसपासका जिल्लाबाट पनि आउछन् । जसमा नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, बारा, पर्सा लगायतका बालबालिका छन्् । जिल्लाकै कुरा गर्दा पूर्वचितवनका बढी छन् । जंगल नजिक र खोला नदीमा आउने बाढी डुबान, कृषि पेसा भएकाले हिलामा खेल्नुपर्ने बाध्यताका कारण यस क्षेत्रबाट बिरामी बढी आउँछन् ।

झाडापखाला यो भाइरस र ब्याक्टेरियाको संक्रमणका कारण हुने गर्छ । झाडापखालाको समयमै रोकथाम गर्न सकिएन भने बच्चाको ज्यानै पनि जान सक्छ । झाडापखाला भएमा आमाको दूध साविकभन्दा धेरै खुवाउनुपर्छ । त्यस्तै, सफा पानी र जीवनजल प्रशस्त मात्रामा खुवाउनुपर्छ । त्यसैगरी, झोलिलो खानेकुरा, गेडागुडीको झोललगायत खुवाएर झाडापखाला नियन्त्रण गर्न सकिन्छ । कतिपय अवस्थामा बच्चा दूध चुस्न नसक्ने अवस्थाको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सक कहाँ लैजानुपर्छ ।

भाइरल ज्वरो

वर्षा मौसममा बालबालिकामा एक्कासी ज्वरो आउने समस्या हुन्छ । जसले गर्दा शरीरको तापक्रम १०२ देखि १०४ डिग्रीसम्म पुग्ने गर्छ । भाइरल ज्वरो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले यो निकै खतरनाक हुन्छ । सामान्यतया पाँच वर्षमुनिका बालबालिकामा बेहोस हुने, कमजोर देखिने, चिसो लाग्ने तथा एक्कासी खोकी बढ्नेजस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा सकेसम्म छिटो अस्पताल लानुपर्छ ।
ज्वरो आएको समयमा बच्चाको लुगा खोलेर पानीपट्टी गर्न सकिन्छ । नरम कपडालाई पानीमा भिजाएर पूरै शरीर पुछ्नुपर्छ । यसरी बच्चालाई सहज अवस्थामा ल्याउन सकिन्छ । तर, जथाभावी एन्टिबायोटिक औषधि खान दिनुहुँदैन ।

भाइरल इन्फेक्सन

वर्षायाममा तापक्रम उत्तारचढाव हुन्छ । पानी पर्दा चिसो नपर्दा एक्दमै गर्मी अहिले चितवनको अवस्था पनि यही छ । गर्मीबाट बच्न चिसो खानेकुरा खाँदा घाँटीमा संक्रमण हुने सम्भावना बढेर जान्छ । जसले गर्दा बच्चामा ब्रोंकाइटिस हुने तथा श्वासप्रश्वासमा समस्या देखिने हुन सक्छ ।

अन्यको तुलनामा बालबालिकामा प्रतिरोधी क्षमता कम हुन्छ, यस मौसममा अझ नाजुक हुने भएकाले भाइरल इन्फेक्सनले बढी सताउने गर्छ । यस मौसममा बालबालिकामा रुघाखोकीको जोखिम बढी हुने गर्छ । त्यस्तै, बान्ता हुने, रिंगटा लाग्ने, छालामा विभिन्न समस्या देखा पर्ने लगायत समस्या देखिन्छन् ।

जोगाउने तरिका

यस मौसममा संक्रमण चाँडो फैलने भएकाले बालबालिकाको उचित हेरचाह गर्नुपर्छ । भीडभाडमा जाँदा मास्क लगाउन लगाउने, घाममा धेरै खेल्न नदिने, वर्षाको पानीमा खेल्न नदिने, फोहर पानीको सम्पर्कबाट टाढा राख्ने र पोषण युक्त खानामा ध्यान दिने हो भने बालबालिकामा आउनसक्ने स्वास्थ्य समस्याबाट जोगाउन सकिन्छ । सरसफाई गर्नेदेखि सफा पानी पिउने कुरामा पनि हामीले विशेष ध्यान दिनुपर्छ । घरवरिपरी सफा गर्ने, खाली भाँडाहरु नराख्ने, टायरहरु छन् भने त्यहाँ पनि लामखुट्टे जन्मन्छ ।

खुला रहेका ट्याङ्की तथा जमेको पानीबाट पनि डेंगी हुने सम्भावना उच्च रहन्छ । बाढी आएर पनि कतिपय रोगहरु फैलिरहेको हुन्छन् । तराईमा बाढी र डुबान हुने हुदा यहाँ झनै बढी स्वास्थ्य समस्या देखिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>