राजनीति
माओवादी केन्द्रको नाम परिवर्तन गरे पार्टीमा फर्कन सक्ने बाबुरामको प्रस्ताब

काठमाडौं,साउन ५-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालबाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफलको शृङ्खला बढ्दै गएको छ । सोही क्रममा डा.भट्टराईले प्रचण्डलाई माओवादी केन्द्र पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।
हात्तीवनस्थित प्रचण्डका भान्जाको निवासमा भएको भेटघाटमा बाबुरामले सो प्रस्ताव गरेको स्रोतले जनाएको छ । पूर्व नयाँ शक्तिमा माओवादीबाट गएका नेताहरु बाबुरामलाई माओवादी केन्द्रमै फर्किन दबाब दिइरहेका छन् । नयाँ पार्टी बनाउनुभन्दा माओवादी केन्द्रमै फर्किने र त्यसलाई रुपान्तरण गर्ने दबाब उनीमाथि बढ्न थालेको हो ।
बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार प्रचण्ड र बाबुरामबीच बिहीबारको छलफलमा के विषयमा कुरा भयो भन्ने प्रस्ट हुन बाँकी रहे पनि पहिलादेखि नै बाबुरामले यस प्रकारको प्रस्ताव गर्दै आएका छन् । उनले भने, ‘बाबुरामले पार्टीको नाममात्र परिवर्तन होइन, समग्र पार्टीलाई नै रुपान्तर गरेर अगाडि बढौं भनेर प्रचण्डसमक्ष पटकपटक प्रस्ताव गर्नुभएको छ, आज पनि नगरेको होला भन्न सकिँदैन ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलादेखि नै बाबुरामलाई माओवादी केन्द्रमा फर्कन आग्रह गर्दै आएको र जवाफमा बाबुरामले पार्टी रुपान्तरणको प्रस्ताव राख्दै आएको पोखरेलको भनाइ छ । माओवादी केन्द्रको नाम परिवर्तन गरे आफू फर्कन सक्ने प्रस्ताव बाबुरामले गरेको प्रचण्ड निकट एक नेताले बताए । प्रचण्डले यस बारेमा कुनै ठोस प्रतिक्रिया नदिए पनि पार्टीमा छलफल गरेर पुनः बस्ने आश्वासन दिएको बताइएको छ ।


























