Breaking News

चितवनमा घातक बन्दै सामाजिक सञ्जाल, ठगिएको भन्दै २२३ जनाले दिए प्रहरीमा निवेदन

Banner

प्रतिमा कुमाल

चितवन, साउन –२

विश्वलाई साघुँरो बनाइदिएको सामाजिक सञ्जाल सूचना र जानकारी आदानप्रदानको मुख्य माध्यम बनेको छ । व्यक्तिगत चिनजानदेखि अवसर खोजी, आयआर्जनको स्रोत र विज्ञापन गर्ने सजिलो माध्यम फेसबुकनै बनेको छ । तर, बिडम्बना यतिधेरै फाइदा हुँदाहुदै पनि चितवनमा सामाजिक सञ्जाल पछिल्लो समय गलत सूचना, अपराध, हिंसा र घृणा फैलाउने प्लेटफर्म बन्दै गएको देखिन्छ ।

फेसबुकले सबैभन्दा धेरै सिर्जनशील युवाशक्तिलाई ध्वस्त बनाउँदै लगेको छ । यसको यही घातक रुपको विषयमा सप्तगण्डकी बहुमुखी क्यापसको स्नातक दोस्रो वर्षमा अध्ययनरत आमसञ्चारका विद्यार्थीहरुबीचमा ‘सामाजिक सञ्जालले पारेको प्रभाव’ बारे लक्षित समूह छलफल भएको छ ।
चितवनका विभिन्न ठाउँका १२ जना विद्यार्थी सहभागी सामुहिक छलफलमा फेसबुक फाइदाजनक विषयमा भन्दा नकारात्मक विषयमा बढी प्रयोग हुने गरेको निष्कर्ष आएको छ । सदुपयोग गर्न नजान्दा तथा विकृत मानसिकता भएका मानिसले यसलाई विकृति, विसंगति, अपराध, हिंसा, चरित्रहत्या, मिथ्या समाचार सूचना फैलाउन प्रयोग गरिरहेको प्रयोगकर्ताहरुको गुनासो छ ।

यसले बालविवाहलाई समेत बढावा दिएको छलफलमा सहभागी दिव्यनगरकी सम्झना तामाङले बताइन् । उनले भनिन्, ‘फेसबुक प्रयोग गर्नका लागि प्रयोगकर्ताको उमेर कम्तिमा १३ वर्षको हुनुपर्ने नियम रहेको छ । तर, न यस नियम नै प्रयोग कर्तालाई थाहा छ न अभिवाकबाट निगरानीनै हुन्छ । जसका कारण १३–१४ वर्षको उमेरमा आफ्नै साइनो पर्ने बहिनीले फेसबुक प्रेममा परेर विवाह गरिन् ।’ उनले आफ्नो सहपाठी सबै साथीहरु सबैले १५–१६ वर्षकै उमेरमा बिहे गरेको समेत खुलाइन् । उमेर नपुग्दै हुने विवाहलाई फेसबुक जस्ता सामाजिक सञ्जालले बढाइरहेको उनको भनाइ थियो ।

उनले भनिन्, ‘विगतमा अभिभावकले बालबालिकालाई पुण्यको नाममा सानै उमेरमा बिहे गरिदिन्थ्ये । अहिले यसको उल्टो किशोरकिशोरीहरु समाजिक सञ्जालको प्रयोगबाट आफै भागि बिहे गरिरहेका छन् । साथै आफ्नो पलपलको खबर फेसबुकमा तत्काल आपडेट गर्ने कारणले हत्या र चोरी पनि बढाएको छ ।’

साथै यसले बलात्कार जस्ता जघन्य अपराधलाई पनि बढाएको छ । फेसबुकको साथीले बोलाएको भरमा भेट्न जाँदा बालिका, किशोरीहरु जबरजस्ती करणीको शिकार भएका कयौं उदाहरणहरु छलफलमा उठेको थियो । क्याम्पसकै अर्का विद्यार्थी प्रेमबस्तीका सुन्दर अधिकारीले फेसबुकले मानसिक स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको बताए । ‘फेसबुकनै सर्वस्सो ठानेर त्यसमा मात्रै झुन्डिने, एकछिन मोबाइल चलाउन नपाए तलतल लाग्ने जस्ता लक्षण यसको विषयमा नबुझेका मान्छेलाई हुने गरेको छ,’ उनले भने । जाँड रक्सी चुरोट, खैनी, लागुऔषधले जसरी मानिसलाई लतमा पार्छ फेसबुकको नसा पनि त्यसरीनै लागिरहेको छ । यो फेसबुक नभई फसबुकको रुपमा देखिएको उनले गुनासो गरे ।

आश्मा कार्कीले फेसबुकको कारण आमा छोरी दुबैले आत्महत्या गर्नुपरेको घटना सुनाइन् । घटनाको पात्रको नाम नखुलाए पनि उनी दुबै जना कार्कीको आफ्न्त पर्ने हुन् । फेसबुकबाट प्रेम र प्रेमका कारण भएको विवाह, विवाहपछि श्रीमान्बाट भएको एसिड प्रहार, अंगभंगको आफ्नो चित्र ऐनामा देखेपछिको पीडा सहन नसकी उनले आत्महत्या गरेकी थिइन् । जीवन जिउने एउटै साहारा छोरी नै नरहेपछि उनको बियोगमा आमाले पनि आत्महत्या गरेको कार्कीले बताइन् ।

छलफलको क्रममा एक छात्राले भने अस्लिल फोटो भिडियो बाट आफू दुव्र्यवहारमा परेको बताइन् । आफैले चिनेको व्यक्तिले चिनेको बहिनीको नाम फोटोको प्रयोग गरी त्यस्ता फोटो र भिडियो कल गरेको बताएकी थिइन् । उसको भविष्य हेरेर कानुनी कारबाही नगरे पनि उसको अभिवाकको अगाडि कर्तुतको पर्दाफास गरिदिएको बताइन । पर्दाफास गर्न उसको नजिकको दाइले सहयोग गरेको जीकिर गरिन ।

रोमिन जंग थापाले फेसबुकले परिवारमा फाटो ल्याएको बताए । यस किसिमको घटनामा बढी विवाहित महिला पुरुष रहेको उनको टिप्पणी छ । उनले भने, ‘फेसबुकमा फसाउने र फस्ने काम भइरहेको छ । टिन एजर, युथ भन्दा विवाहित मानिसहरुमा यसको असर बढी छ । श्रीमान् परस्त्री र श्रीमती परपुरुषसँग सम्बन्धमा रहँदा परिवार भताभुङ्ग भएको छ । जसको असर उनीहरुको छोराछोरीमा परेको छ ।’ महेश भट्टले बुद्धिजीवी र राजनीतिक प्रतिष्ठा भएका मानिसहरु पनि फेसबुकबाट ठगीमा परेको अनुभव सुनाए । फेसबुक म्यासेन्जरमा आएको वैदेशिक शिक्षा विक्षापनको चक्करमा आफन्त पर्दा ४० लाख ठगि भएको उनले बताएका हुन् ।

अविसेक पौडेलले ठगी गर्ने गिरोह फेसबुकमा भन्दा ह्वाट्सएप र भाइबरमा बढी सक्रिय रहेको बताए । आफ्नो अनुभव सेयर गर्दै पौडेलले ह्वाट्सएप र भाइबरमा तपाइँलाई यतियति रकम प¥यो भन्ने जस्ता कल तथा म्यासेज आउने गरेको बताए । उनले भने, ‘फेसबुकमा भएका नकारात्मक पक्षको मात्र कुरा गरे पनि यो आफैमा भने नराम्रो वेभसाइट होइन । यसको सकारात्मक पक्ष पनि रहेको छ ।’ फेसबुकले विभिन्न कारणबस परिवार बाट छुटेका मानिसलाई जोडने काम पनि गरिरहेको विभिन्न उदाहरणहरु छलफलमा सहभागीहरुले दिए । आफ्नै गाउँ टोलको कुरा निकाल्दै अर्की सहभागी अरुना विकले फेसबुकबाट नै आफ्नो परिवार फेला पारेको बताइन् । सानैमा हराएकी उनले वास्तविक परिवार पहिचान गरेपछि दुवै घर आउने जाने क्रम चलिरहेको बताइन् ।

यस समूह छलफलमा धेरै जसोले १० कक्षा पढेपछि मात्र फेसबुक चलाउन सुरु गरेको बताएका थिए । सुरुमा रमाइलोको लागि खोलेको उनीहरुको भनाइ थियो । भर्खर भर्खर फेसबुक चलाउदा चिन्ने नचिन्ने सबैको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्ने, बोल्ने गरिने छलफलमा उठेका कुरा हुन । घण्टौ समय बिताउने साधननै फेसबुक रहेको बताए । विस्तारै उमेर र ज्ञान बढ्दै गएपछि यसबाट बिजनेस गर्न सकिन्छ । विज्ञापन गर्नसकिन्छ । तीब्र रुपमा हरेक विषयमा सुसूचित गर्न र हुन सकिने जस्ता विषयहरुमा ज्ञान भएको छलफलबाट खुलेको छ । जिल्ला प्रहरी चितवनका अनुसार चालु आर्थिक वर्षमा २२३ वटा साइबर अपराधसम्बन्धी निवेदन प्रहरीमा परेको छ । साइबर सम्बन्धी मुद्दा केन्द्रले नै हेर्ने हुदा पीडितलाई सल्लाह दिई केन्द्रमा पठाउने गरेको प्रहरी नायव उपरीक्षक रबिन विष्टले बताए । घटनाको प्रकृति हेरेर जिल्लाले सक्ने केस यहीँ समाधन गरिने जीकिर गरे ।

प्रहरीका अनुसार चितवनमा साइबर अपराधमा धेरै जसो महिलाहरु पर्ने गरेको छन् । विष्टका अनुसार यो आवमा १३८ जना महिलाको निवेदन पर्दा ८५ पुरुषको निवेदन परेका छन् । धेरै जसो निवेदन ठगी र चरित्र हत्या, अस्लिल फोटो भिडियोसँग सम्बन्धित पर्ने गरेको विष्टले बताए । गत हप्ता मात्रै नारायणगढका एक पुरुषलाई हनी ट्रयापमा पारी एक महिलाले २६ लाख ४५ हजार ८०० रुपैयाँ ठगेकी थिइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>