राजनीति
महाप्रसादबाट ६ वर्षमा एम अधिकारी बनेका गभर्नरले राजीनामा दिनुपर्छः श्रेष्ठ

काठमाडौं,असार ३०-
सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राजीनामा दिन सुझाव दिएका छन् । नेकपा एमालेको अर्थ तथा योजना विभागमा नाम फरक गरेर बसेको भन्दै विरोध भएपछि उनलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा २१ ले गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिको पदाधिकारी कुनै दलमा संलग्न हुनुहुँदैन भनेर भनेको छ । उक्त व्यवस्था अनुसार अधिकारीले राजीनामा दिनु उपयुक्त हुने श्रेष्ठको तर्क छ ।
‘उहाँ त्यहाँ बस्न मिल्छ की मिल्दैन, पुष्टि भएको छैन तर बाहिर आएको चर्चा अनु्सार एम अधिकारी भनेको उहाँ नै हो’ उनले भने ‘कित होइन भनेर प्रमाणसहित कागजात चाहियो । एम अधिकारी नाम गरेको अर्थ तथा योजना विद त्यही जिल्लाको मान्छे फलानो हो भनेर भन्नु पर्यो हैन भने राजीनामा दिनु उपयुक्त हुन्छ ।’
२०७३ मा महाप्रसाद अधिकारी त्यो विभागको सदस्य रहेको र ६ वर्षपछि नाम परिवर्तन गरेर अर्को हो भनेर भन्नु गलत भएको उनको तर्क छ । ६ वर्षको अवधिमा महाप्रसाद अधिकारी कसरी सर्ट फर्ममा एम अधिकारी भए त्यो अन्योल भएको उनको भनाइ छ ।


























