Breaking News

विद्यालयबाटै दुर्व्यसनीमा फस्न थाले बालबालिका

Banner

प्रतिमा कुमाल,

भरतपुर,असार २६-

विद्यालय तहबाटनै बालबालिकाहरु अहिले विभिन्न सामाजिक विकृति र लागुऔषध जस्ता कुलतमा फस्न थालेका छन् । चितवनका विभिन्न सरोकारवालाहरुको अनुभवमा यस्तो कुलतमा विशेष गरी कक्षा ७, ८ देखि १२ कक्षासम्मका बालबालिका बढी फस्ने गरेको पाइएको हो ।

विद्यालय वरिपरिको वातावरण, पारिवारिक अवस्था, साथीसंगत र सामाजिक सञ्जालका कारण बालबालिकाहरु विकृति विसङ्गति र लागुऔषधमा परेको सरोकारवालाहरुको भनाइ छ । यसलाई निराकरण गर्न र बालबालिकालाई उचित मार्ग देखाउन सामुदायिक सेवा केन्द्र नारायणगढ अगाडि बढ्ने भएको छ । यस विषय केन्द्रले २०७६ सालमा पनि उठाएको थियो । यस कार्यक्रमलाई प्रभावकारी बनाउन नसकेको केन्द्रले फेरि प्रहरी, स्थानीय तह, नागरिक मञ्च, आमा समूहलगायतसँग सहकार्य सहित अगाडि बढ्न खोजेको अध्यक्ष मीना खरेलले बताउनुभयो ।

सीताराम संस्कृत मावि देवघाटका ददीराम सापकोटाले विकृत क्षेत्रमा फसेका बालबालिकालाई सुधार्नका लागि शिक्षकहरुको सुरक्षा हुनुपर्ने बताउनुभयो । ‘विद्यालयको पर्खाल नाघेर जान्छन् । जंगलको बीचमा विद्यालय भएकाले उनीहरुलाई रोकतोक गर्दा भरे राति आफैलाई पो जाइलाग्ने हो कि भन्ने डर छ । नजिक प्रहरी पोष्ट त छ । त्यहाँको प्रहरीको संख्या आवश्यक भन्दा कम छ जसले विद्यालयमा सुरक्षा दिन सक्दैन’, उहाँले भन्नुभयो ।

नारायणगढको चमेलीदेवी माविका शिक्षक उपेन्द्रबाबु ढकालले कुलतले फसेका विद्यार्थी हिंस्रक हुने गरेको बताउनुभयो । लागुऔषध विसङ्गतिले पढाइ बिगारेका उनीहरु माथिल्लो कक्षा जान नसके पछि अध्ययन नै छोड्ने अवस्था पनि रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘कुलतमा फसेर पनि केहीको पढाइ खासै बिग्रिएको हुँदैन । केहीको भने यस्तो हुन्छ जसलाई हामीले माथिल्लो कक्षा उकाल्न सकदैनौं । फेल भएपछि उनीहरु झन अरु विद्यार्थी प्रति हिंस्रक हुने गरेका छन् ।’ पढाइमा राम्रा आफूभन्दा साना बालबालिकालाई बाटो छेकेर कुटपिटसमेत गरेको घटना आफ्नो विद्यालयमा भएको उहाँको भनाइ थियो ।

राष्ट्रिय आधारभूत विद्यालय नारायणी किनारकी प्रधानाध्यापक गायत्री शर्माले विद्यालय वरपरका पसललाई कडाइका साथ चेकजाँच गर्नुपर्ने बताउनुभयो । विद्यालय वरपर चुरोट, सुर्ती, जाँड रक्सीलगायतका बन्देज गरिएको पदार्थ बिक्री भए नभएको अनुसन्धान गर्नुपर्ने शर्माको भनाइ छ । विद्यालय हाताभन्दा बाहिर कति मिटर पर यस्ता वस्तु बेच्नुपर्छ । निगरानी गरि कारबाही पनि गर्नुपर्ने उहाँले बताउनुभयो ।

साथै शर्माले नारायणी किनार अश्लिल कृयाकलाप र लागुऔषध प्रयोग कर्ताको लागि एउटा केन्द्र बनेको जानकारी दिनुभयो । दिनदाहाडै यस्तो क्रियाकलाप हुँदा साना बालबालिकाले उनीहरुले के गरेको हो भन्दै सोध्ने गरेको शर्माको भनाइ छ । बेलचोक टोल विकास संस्थाका उपाध्यक्ष इन्दिरा कँडेलले अहिले मोबाइल ठूलो कुलतको रुपमा देखिएको बताउनुभयो ।

बालबालिकाले ९/१० वर्षको उमेरमा नै मोबाइलको प्रयोगबाट जान्नुपर्ने नपर्ने सबै सिक्ने गरेको उहाँको भनाइ छ । मोबाइल नदिए खाना पनि नखाने, नपढ्नेसम्मको घुर्कीलगाउने बालबालिका भइसकेका कँडेलको भनाइ छ । औषधि व्यवसायी सुरेन्द्र धितालले ८–९ कक्षामा पढ्ने विद्यार्थी जन्मोत्सवको नाममा शारीरिक सम्बन्धतिर सरिक भएको बताउनुभयो ।

सम्बन्धपछिको दुखाई कम गर्न औषधि किन्न आफ्नो पसलमा आउने गरेको धितालको भनाइ छ । साथै बालबालिकालाई लागुऔषध खरिद गर्न उपयोग गरिने गरेको उहाँले जीकिर गर्नुभयो । ‘क्यान्सरका बिरामीलाई प्रयोग गरिने ट्रमाडोज किन्न बालबालिकाहरु आउने गर्छन् । उनीहरुलाई सोध्यो भने यस्तो किन्न पठाको भन्छन्,’ उहाँले भन्नुभयो ।

अभिभावकले बच्चा कहाँ जाँदै छ, कस्तो संगत छ, ख्याल राख्नुपर्नेमा धितालले जोड दिनुभयो । उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवि सुवेदीले अनुमति पत्रबिना कसैले धूमपान मध्यपानका वस्तु बेच्न नपाउने बताउनुभयो । यसको अनुगमन नभएकाले कुन ठाउँमा बेच्न पाउने कहाँ बेच्न नपाउने भन्नेबारे लापर्बाही गरिएको सुवेदीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले लागुऔषधको विषयलगायतका सामग्री समावेश गरेको पुस्तक विद्यालयमा पठनपाढन गराउने बताउनुभयो । यसको लागि कामहरु भइरहेको जानकारी दिनुभयो । लागुऔषध प्रयोगकर्ता निराकरण गर्न परिवार, शिक्षक, सामाजिक अभियान्त पनि एकोहोरो हुनुपर्ने उहाँको भनाइ थियो । विगतका घटना सम्झिँदै अधिकारीले भन्नुभयो, ‘म कावासोतीमा डीएसपी भएर बस्दा त्यहाँ १० कक्षामा पढ्ने विद्यार्थी लागुऔषध खाँदो रहेछ । उसको शिक्षकले जानकारी दिए । हामीले उसलाई लागूऔषधसहित पक्राउ ग¥यौँ । उसको भविष्य बिग्रिन्छ भन्दै मुद्दा नचलाई सुधार गर्नु भनी आमाका जिम्मा लगायौँ ।’
प्रहरी उपरीक्षक अधिकारीले कुलतमा फसेका छोराछोरीलाई सुधार गृह राख्न नसक्ने बुबाआमाले मुद्दा परेर चार वटासम्म वकिल ल्याउने गरेको बताउनुभयो । प्रमाण हुँदा पनि आफ्नो सन्तानले कुनै गल्तीनै गरेको छैन, गर्दै–गर्दैैन भन्नेसम्मको अभिभावकको कारण बच्चाहरु बिग्रने गरेको अधिकारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>