राजनीति

चुनावमा हुने विकृति अन्त्य गर्न युवाहरुलाई सभामुख सापकोटाको आग्रह

Banner

काठमाण्डौ,असार २५–

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले चुनावमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै संचालन गर्न युवाहरुलाई आग्रह गर्नु भएको छ ।

हालै सम्पन्न पालिका तह चुनावमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियाननै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गर्नु भएको हो । शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले संघीय संसद र प्रदेशसभाको चुनावमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।

सभामुख सापकोटाले युवाहरुले चुनावमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकन पनि चुनाव जितिन्छ भन्ने दृष्टान्त काठमाण्डौ, धरानलगायतका ठाउँमा हालै सम्पन्न पालिका तह चुनावमा देखिएको पनि स्मरण गराउनु भयो । हालै सम्पन्न पालिका तह चुनावको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उहाँले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरुले अघि बढन जरुरी रहेको समेत बताउनु भयो ।

सभामुख सापकोटाले चुनावमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले शिर ठाडो पारेर बाँच्नका लागि पनि युवाहरुले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>