राजनीति

नेपाल-भारत सिमानामा तारबार लगाउन प्रधानसेनापति शर्माको प्रस्ताव

Banner

काठमाडौं,असार २४-

सेनाले नेपाल–भारत सिमानामा तारबार लगाउनुपर्ने प्रस्ताव गरेको छ । सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सेमिनारको समापनमा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले खुला सीमा नियन्त्रणमा जोड दिँदै तार लगाउनुपर्ने प्रस्ताव गरेका हुन् । राजनीतिक नेतृत्वले वेलावेला नेपाल–भारत सीमामा काँडेतारको विषय उठाए पनि सुरक्षा नेतृत्वबाट भने विरलै यस्ता अभिव्यक्ति आउँछन् ।

बुधबारदेखि चलेको सेमिनारमा सेना, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह, रक्षा र सिँचाइ मन्त्रालय, नापी विभागका अधिकारी सहभागी थिए । त्यस्तै, सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा अन्तर्राष्ट्रिय कानुनका अध्येता अपूर्व खतिवडालाई पनि सेनाले निम्त्याएको थियो । प्रधानसेनापतिलाई उद्धृत गर्दै सेमिनारमा सहभागी एकजनाले संचारकर्मीसंग भने, ‘मलाई लाग्छ गुड फेन्सेस मेक गुड नेभर्स (गतिलो बार–बन्देजले असल छिमेकी बनाउँछ) । सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न यो आवश्यक छ । तर, यससम्बन्धी निर्णय भइसकेको छैन ।’

प्रधानसेनापति शर्माले जमिन सिमानाको मात्रै नभएर अब आकाशको सिमाना सुरक्षाबारे पनि चर्चा गर्नुपर्ने बताएका थिए । ‘अब आकाशको सिमानाको पनि कुरा गर्नुपर्छ । आकाशमा भएका रणनीतिका कारण देशको सुरक्षामा सकारात्मक–नकारात्मक प्रभाव पार्छ । हामीले अकासे सीमाको पनि अध्ययन गर्नुपर्छ र नेपाली सेनालाई यसका लागि उपकरणले सुसज्जित गराउनुपर्छ,’ शर्माको भनाइ थियो । अन्य सुरक्षा निकायले नसकेको अवस्थामा भौगोलिक अखण्डताको रक्षा सेनाले गर्नुपर्ने संवैधानिक दायित्व रहेको पनि प्रधानसेनापतिले सम्झाएका थिए ।

सीमा सुरक्षाको विषयलाई सेनाले राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डतासँग जोडेर अध्ययन–अनुसन्धान गर्दै आएको पनि प्रधानसेनापति शर्माले बताए ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>