Breaking News

असार सकिन लाग्दा पनि चितवनका किसानले पाएनन् रासायनिक मल

Banner

पूजा ढकाल,

भरतपुर,असार २३-

चितवनमा यस वर्ष असार २२ बित्दासमेत रासायनिक मलको अभाव उस्तै छ । जेठको अन्त्यदेखि जिल्लामा खेतमा धान रोपाइँ सुरु हुन्छ । तर, खेतमा धान रोपाइँ सुरु भए पनि हरेक वर्ष जस्तै यसवर्ष पनि जिल्लाका सहकारीमा रासायनिक मलको चरम अभाव हुँदा किसान समस्यामा परेका छन् ।

जिल्लामा धान खेतका लागि ३३ हजार मेट्रिक टन मल आवश्यक पर्ने भए पनि अहिलेसम्म धानको लागि जिल्लाको कृषि सामग्री कम्पनीमा मल नआएको कम्पनीका मुख्य शाखा प्रबन्धक राजन बगालेले जानकारी दिनुभयो । उहाँकाअनुसार जिल्लामा मलको माग उच्च रहेको छ, तर मल कहिले आउँछ भन्ने कुनै टुङ्गो छैन र आउँछ भन्न पनि सकिँदैन । उहाँ भन्नुहुन्छ, ‘यो हरेक वर्षको समस्या हो, गतवर्ष पनि १७ हजार मेट्रिक टन अवश्यक परेकोमा जम्मा चार हजार मेट्रिक टनमात्रै मल आएको थियो ।’

कम्पनीमा विसं २०७८ को माघ १६ गते युरिया मल आए पनि त्यसपछि मल आएको छैन । डीएपी समय समयमा आए पनि अपुग मात्रामा आएको उहाँले जानकारी दिनुभयो । बगालेकाअनुसार नेपालमा विभिन्न ६ वटा देशबाट युरिया मल आउने गर्छ । ती देशबाट मल ल्याउँदा सरकारले प्रति किलो ११४ रुपैयाँमा तिर्ने तथा कृषकलाई १६ रुपैयाँ प्रति किलोमा बेचेर सरकारले ९८ रुपैयाँ अनुदान दिँदै आएको छ ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले धान रोप्ने समयका लागि जिल्लामा युरिया मल आठ हजार ६२० बोरा, डिएपी सात हजार ८४० बोरा आउने क्रममा रहेको जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ असार २० गतेसम्म जिल्लामा युरिया १५ हजार १६६ बोरा मल बिक्री गरिएको थियो । त्यस्तै डिएपी ११ हजार ३३५ र पोटास चार हजार १२ बोरा मल बिक्री गरिएको उहाँको भनाइ छ । जसमा कर्पोरेशनले प्रतिबोरा मल बिक्री मूल्य तोक्ने गर्छ ।

कर्पोरेशनले युरिया प्रति बोरा ८१५, डिएपी प्रति बोरा दुई हजार २६५ र पोटासको प्रति बोरा एक हजार ६६५ रुपैयाँ मूल्य तोक्ने गरेको दाहालले जानकारी दिनुभयो । त्यस्तै कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेकाअनुसार हाल जिल्लाको ३० हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जसमध्ये २२ हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिन्छ ।

जिल्लामा अहिले ४५/५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । उहाँले दिएको जानकारी अनुसार हाल धान रोपाइँको लागि मात्रै जिल्लामा युरिया ३३ हजार मेट्रिक टन, डीएपी २६ हजार ५०० मेट्रिक टन र पोटास एक हजार २८० मेट्रिक टन मल आवश्यक छ । अहिले चितवनका सात स्थानीय तहको इच्छाकामना गाउँपालिकामा पाँच, कालिका नगरपालिकामा १८, खैरहनी नगरपालिकामा २८, माडी नगरपालिकामा १३, राप्ती नगरपालिकामा २३, रत्ननगर नगरपालिकामा ४० र भरतपुर माहानगरपालिकामा ६८ गरी १९५ वटा सिफारीस भएका मल वितरण केन्द्र रहेका छन् । हरेक दिन वितरण केन्द्रमा धानको लागि मल खोज्न पुग्ने किसानहरु रित्तो हात फर्कन बाध्य रहेको केन्द्रका कर्मचारीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>