Breaking News

के छ भरतपुरमा जारी रोजगार मेलामा ? किन सहभागी हुने ?

Banner

प्रतिमा कुमाल

चितवन, असोज २२–

युवालाई स्थानीयस्तरमा नै रोजगार उपलब्ध गराउने उद्देश्यले चितवनमा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला सुरु भएको छ ।

भोलि बिहीबारसम्म चल्ने यो मेला चितवनको भरतपुर स्थित चितवन प्रदर्शनी केन्द्र (चितवन एक्सपो सेन्टर) मा जारी छ । मेलाले केही हदसम्म चितवनका युवाहरुलाई रोजगार बनाउने आशा गरिएको छ ।

दराजमा थन्किएका शैक्षिक प्रमाणपत्रको मूल्याङ्कन र क्षमताको कदर हुन्छ की भन्ने आशा लिएर सहभागीहरु मेलामा आएका छन् । मेलामा पहिलो दिन देखिएका सहभागीहरुको भीडमा अधिकांश सहभागी युवा विद्यार्थी थिए । त्यही भीडमध्येकी एक हुन् भरतपुर गितानगरकी पार्वती विक । १० कक्षासम्म अध्ययन गरेकी विकले आफ्नो रुचि र खुबीलाई हेरेर भीडमा कामको खोजी गरिरहेकी थिइन् । सबै स्टलमा बुझेर कुन काममा आफू योग्य लाग्छ त्यही काम गर्ने उनले बताइन् ।

होटल व्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले कोरोनापछि कामदारको अभाव रहेको बताए । नेपालभर रहेको ८० हजार वटा होटल तथा रेष्टुरेन्टमा आवश्यकता भन्दा कम कामदार हुँदा पूर्णरुपमा सञ्चालन हुन नसकेको जानकारी उनले दिए । कोरोनाको महामारीपछि रोजगारको लागि विदेशिने जमातको संख्या धेरै हुदा यस्तो समस्या देखिएको उनको भनाइ छ । धेरैको रोजगारी गुमेको र फर्केर नआएको भन्दै होटल व्यवसायलाई पूर्वअवस्थामा ल्याउनको लागि जनशक्ति मेलाबाट उपलब्ध हुने आशामा सहभागिता जनाएको उपाध्यक्ष चुकेले बताए । ‘होटल तथा रेष्टुरेन्टमा काम गर्न इच्छुकले दिएको वृहत् जानकारी अनुसार जुनजुन पदमा काम गर्न चाहन्छन् सूची तयार पार्छौ । हाम्रो होटल तथा रेष्टुरेन्ट व्यवसायीसँग सहकार्य गरेर उनीहरुलाई तुरुन्तै काम दिने हाम्रो मनासाय छ’, चुकेले बताए ।

कम्प्युटर एशोसिएसन चितवनका अध्यक्ष सन्तोष भुसालले मेलामा विशेष गरी क्याम्पसका विद्यार्थीहरु धेरै सहभागी भएको बताए । ‘उनीहरुको रुचि केमा छ । पछि व्यवसाय गर्ने कि जागिर गर्ने । कुनै तालिमको आवश्यकता छ कि छैन भन्ने हिसाबले उनीहरुसँग सोधपुछ गरिएको छ’, उनले भने ।

पहिलो दिन आएका धेरैले आईटीसम्बन्धी सूचना ज्ञान लिएको उनको भनाइ छ । यससम्बन्धी चितवनमा रहेका कम्पनीसँग सहकार्य गरेर काम गर्न इच्छुक, क्षमतावानलाई रोजगारी दिलाउने उनले बताए । त्यसैगरी नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्रीले नै चितवनमा सबैभन्दा धेरै रोजगारी उपलब्ध गराएको दाबी गरे । उनले भने, ‘३० हजारलाई प्रत्यक्ष रोजगारी दिएको पोल्ट्री क्षेत्रले नै हो । चालक सहचालक, मासु काट्ने लगायत जोड्यो भने ५० हजार बढी रहेका छन् ।’ तत्काल पोल्ट्रीले पाँच हजार जनालाई रोजगार दिन सक्ने बरालको भनाइ छ ।

चितवन उद्योग संघको उपाध्यक्ष युगराज ओस्तीले संघलाई प्राविधिक र अप्राविधिक गरेर करिब एक हजार २०० जना कर्मचारी आवश्यक परेको बताए । तत्कालको लागि होटलहरुमा वेटर, सेफ, रिसेप्सनिष्ट, बार म्यान लगायतको खाचो परेको उनले जानकारी दिए । साथै उत्पादनमूलक उद्योगहरुको लागि मेसिन अपरेटरलगायतका प्राविधिक र ठूलो संख्यामा लेखापालको आश्यकता परेको ओस्तीले बताए । ओस्तीले संघले आफ्नै जब प्रोटल पनि सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए । नेपालमा रोजगार नपाउने र १२ पास नहुदै विदेशिने क्रमलाई रोकन यसले टेवा समेत पु¥याउने उनको आशा छ ।

मेलाको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । जसमध्येका ५० प्रतिशतले रोजगार पाउने चितवन उद्योग संघको निवर्तमान अध्यक्ष राजु पौडेलले बताए । उनले आम मानिसले अनलाइन मिडिया, पत्रपत्रिकालगायतका समाचारका स्रोत पढ्न छोडेको बताए । जसको असर स्वरुप उद्योगहरुले भनेजस्तो जनशक्ति नपाएको अवस्थाबारे अवगत गराए । चितवन उद्योग संघकी सदस्य गीता ढकालले महिलालाई आर्थिक क्षेत्रमा सबल बनाउन मेलाले सहयोग गर्ने बताइन् । जिल्लामा महिला उद्यमीले खोलेको उद्योगहरुमा इच्छुक सहभागी महिलालाई रोजगार दिने उद्देश्य रहेको उनले बताइन् ।

चितवन पोल्ट्री, दूध, माछा, केरालगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो संख्यामा कामदारको माग भए पनि भारतलगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ । रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने उद्देश्यले मेला आयोजना गरिएको हो । यस रोजगार मेलाले देशभित्र रहेको रोजगारको अवसरबारे जानकारी दिएको हो । सिप, क्षमता र दक्षताको आधारमा काम गर्न चाहानेहरुमा यो प्रभावकारी सावित हुने मेला आयोजकको विश्वास छ ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाललगायतका एक दर्जन संघसंस्थाले मेला आयोजना गरेका हुन् । वैदेशिक रोजगारीमा जान चाहानेलाई सीपमूलक तालिम दिने, पालिकाहरुमा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी सिजनल रोजगारी दिने तथा विभिन्न संघसंस्थामा आवश्यक पर्ने कामदारको मागलाई पूरा गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क संकलन गर्ने, मेला अवधिभर २०० जनालाई आवश्यक संघसंस्थामा रोजगारी दिने, सीप र तालिमबारे जानकारी दिइने कार्यक्रमका फोकल पर्सन आमोद सुवेदीले जानकारी दिए । मेलामा ६२ वटा स्टल रहेका छन् ।

मेलामा जिल्लाका सात वटा पालिका, जब लिंक तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रहरुको स्टल राखेका छन् । मेलामा संकलन गरिएको तथ्याङ्कलाई अनलाइनबाटै जानकारी लिन मिल्ने गरी राखिने प्रमुख प्रसाशकीय अधिकृत सुवेदीले बताए । मेला अवलोकन गर्न कुनै शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>