Breaking News

चितवन हैजाको जोखिममा, सावधानी अपनाउन चिकित्सकको आग्रह

Banner

मधुसूदन दवाडी

चितवन, असार २२-

काठमाडौँ र हेटौंडामा हैजाको संक्रमण देखिएसँगै चितवन पनि हैँजाको जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यसै जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयले पानी र सरसफाइसम्बन्धी (वास्ट) कार्यक्रम भोलिबाट चितवनमा सञ्चालन गर्दै छ । यस कार्यक्रममा स्वास्थ्य संस्थाका शाखा प्रमुखहरुको सहभागिता रहने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

अहिलेसम्म चितवनमा हैँजाको जिवाणु चितवनमा नभेटिए पनि बर्षाको समयमा यसको जोखिम कायमै रहने जिल्ला जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले नारायणी अनलाइनलाई जानकारी दिइन् । पानी शुद्धिकरणको अभावमा हैजा फैलन सक्ने उनले बताइन् ।

चितवनमा बढ्दो शहरीकरणसँगै हैजाको जोखिम कायमै रहेको चिकित्सकहरु बताउँछन् । पानीमा ढल मिसिएमा हैजाको जोखिम बढी हुने भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले बताए । उनले भने, ‘ काठमाडौँ र हेटौंडा आवतजावत गर्दा हैजा चितवनसम्म फैलन सक्छ । पानीको स्रोतमा दिसा मिसिएमा हैजा फैलन्छ । चितवनमा बस्ती बढेसँगै सेफ्टी ट्याङ्की र पानीको स्रोतसँगै रहने भएकोले यसको जोखिम छ ।’ उनले कोरोना जस्तो सहजरुपमा हैजा नफैलने भए पनि हैजा चितवनको कुनै एउटा क्षेत्रमा फैलने जोखिम कायमै रहेको बताए । उनले पानी उमालेर खाएमा यसको जोखिमलाई कम गर्न सकिने बताए । वर्षा याममा जताततैको पानी खाने पानीको स्रोतमा मिसिन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरे ।

के हो हैजा ?

चिकित्सकहरुको अनुसार हैजा भिब्रिओ कोलेरा नामक ब्याक्टेरियाको कारण लाग्ने रोग हो । विशेषगरी यो जीवाणु फोहोर पानीबाट मानिसमा सर्छ । हैजा लागेका अधिकांश मानिसमा ठूलो लक्षण देखिँदैन। यद्यपि केही मानिसमा गम्भीर किसिमको पखाला, बान्ता र पानीको मात्रामा कम हुने समस्या देखिन्छ ।

हैजाको जीवाणु मानिसको शरीरमा प्रवेश गरेपछि उक्त जीवाणु विकसित हुन १ देखि २ दिन लाग्छ । गम्भीर अवस्थामा पुगेका मानिसको समयमा नै उपचार हुन सकेन भने केही घण्टाभित्रै पनि ज्यान जान सक्छ । गम्भीर लक्षण देखापरेपछि पनि उपचार नपाए ४ देखि २४ घण्टाभित्र बिरामीको मृत्यु हुन सक्छ । हैजा लाग्नुअघि पूर्णरुपले स्वस्थ मानिस पनि गम्भीर लक्षण देखिँदा उपचार पाउन नसके मृत्युको मुखमा पर्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हैजाको कारण विश्वभर हरेक वर्ष २१ हजारदेखि १ लाख ४३ हजारसम्म मानिसहरुको मृत्यु हुने गरेको छ ।

के के हुन् हैजाका लक्षणहरु?

हैजाको संक्रमण भए पनि धेरै मानिसमा लक्षण देखिँदैन वा सामान्य लक्षण देखिन्छ । हैजा संक्रमितमध्ये करिब १० प्रतिशत मानिसमा हैजाको गम्भीर लक्षण मात्र देखिन्छ ।

हैजा लागेको मानिसमा निम्न लक्षण देखिन सक्छ –

 पखाला लाग्ने
 वाकवाकी लाग्ने
 बान्ता हुने
 शरीरमा पानीको मात्रा कम हुने
 थकाइ लाग्ने
 आँखा रातो हुनु
 मुख सुख्खा हुनु
 अत्यधिक तिर्खा लाग्नु
 पिसाब कम लाग्नु
 मुटुको गति असामान्य हुनु
 रक्तचाप कम हुनु

के कारणले लाग्न सक्छ हैजा ?

विशेषगरी फोहोर पानीकै कारण हैजा संक्रमण हुन्छ । यो अधिकांश मानिसमा हैजा संक्रमण हुने कारण हो । त्यसैले हैजा संक्रमण सफा पानी र सरसफाइको अभाव भएको स्थानमा फैलिन्छ । त्यस्तै राम्रोसँग नपाकेको खानेकुरा, काँचै खाने फलफूल र तरकारी राम्रोसँग नपकाई खाँदा सर्न सक्छ । बिरामीसँगको सामान्य सम्पर्कबाट यो रोग सर्दैन ।

कसरी बच्ने ?

हैजा संक्रमण आफू बस्ने स्थान नजिकै फैलिएको छ भने निम्न कुरामा ध्यान दिनुपर्छ –

 बेलाबेलामा हात धुने
 खाना बनाउन, दाँत माझ्न वा पिउनको लागि उमालेको पानी प्रयोग गर्ने
 उमाल्न सम्भव नभए पानी शुद्धीकरण गर्ने रसायन पनि प्रयोग गर्न सकिन्छ तर, पानी शुद्ध बनाउने सबैभन्दा उत्तम उपाय उमाल्नु नै हो।
 दुग्ध उत्पादन नखाने
 काँचो खानेकुरा नखाने
 घरमा नै उमारेको तरकारी वा फलफूल मात्र खाने बानी विकास गर्ने

त्यस्तै हैजाको लक्षण देखिनेबित्तिकै डाक्टरलाई देखाउनुपर्छ । घरमा कसैलाई हैजाको लक्षण देखिए विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>