राजनीति
जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुँदै

काठमाडौं,असार २१-
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको सँघारमा पुगेको हो । भट्टराई र यादव आपसी सहमतिमा नै पार्टी विभाजन गर्न यसअघि नै सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपामा औपचारिक रूपमा विभाजनको घोषणा हुन लागेको हो ।
यादव समूहले केन्द्रीय समितिको विस्तारित बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय समितिको विस्तारित बैठक २९ र ३० असारमा काठमाडौंमा बोलाएको छ । सोही बैठकबाट जसपा औपचारिक रूपमा विभाजित हुने बताइएको छ ।
भट्टराईनिकटका नेता गंगानाराण श्रेष्ठका अनुसार आफूहरूलाई थाहै नदिई वीरगन्जमा बैठक बोलाइएपछि काठमाडौंमा आफूहरूले विस्तारित बैठक बोलाएको बताए । पार्टीभित्र एकलौटी गर्न थालेपछि काठमाडौंमा बस्ने विस्तारित बैठकले थप निर्णय गर्ने उनले बताए । राजधानी दैनिकमा खबर छ ।


























