Breaking News

नारायणी लिफ्टको मेयर दाहालद्धारा निरीक्षण, नयाँ उपकरण दशैंपछि मात्रै जडान

Banner

चितवन, असार १६–

पश्चिम चितवनमा सिँचाईको लागि महत्वपूर्ण रहेको नारायणी लिफ्ट सिँचाईमा नयाँ उपकरण आउँदो दशैंपछि मात्रै जडान हुने भएको छ ।

अहिले वर्षायाम सुरु भइसकेकाले नयाँ उपकरण जडान गर्न नसकिएको हो । नारायणी लिफ्टमा रहेका चार वटा पुराना पम्प फेर्ने तयारी छ । त्यसका लागि भारतबाट चार वटा नयाँ मोर्डनका पम्प समेत कार्यालयमा ल्याई सकिएको छ । ती सबै पुरानो क्षमताको भएपनि डिजिटल उपकरण हुन् । नारायणी लिफ्टका प्रमुख घनश्याम कार्कीले प्राविधिकसहितको टोली भारतमै पुगेर परीक्षण पश्चात चार वटा पम्प खरिद गरि ल्याईएको जानकारी दिए । कार्यालयले गतवर्ष ३९ करोडमा उपकरणका लागि टेण्डर आह्वान गरेको थियो । डब्लुआईसिएल नामक कम्पनीले २५ करोडमा ठेक्का पारेर उक्त उपकरण केहीदिन अघि ल्याइएको हो । ‘निर्वाचनलगायत विभिन्न कारणले उपकरण ल्याउनमा ढिलाई भयो, अहिले उपकरण सबै आइसकेका छन्, वर्षायाम भएकाले दशैंपछि मात्रै नयाँ उपकरण गर्छौ’–कार्कीले भने ।

आज (बिहीबार) विहान भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नारायणी लिफ्ट सिँचाईको निरीक्षण समेत गरेका छन् । सो क्रममा उनले वर्षायाम सकिएलगत्तै जडान प्रक्रियालाई अघि बढाउन आग्रह समेत गरेकी छन् । ‘नयाँ उपकरण जतिसक्दो चाडो जडान गर्नुपर्नेछ, अहिले वर्षायाम भएकाले तत्काल जडान गर्न नसकिएपछि वर्षायाम सकिए लगत्तै जडान गर्नुहोला’–मेयर दाहालले भनिन् ।

नारायणी लिफ्टबाट महानगरका सबै वडामा सहजै सिँचाईको व्यवस्थापन गर्न सकिने भएकाले पूर्ण रुपमा संचालनमा आएलगत्तै महानगरको कृषिमा ठूलो फड्को मार्न सकिने मेयर दाहालले बताइन् । ‘महानगरका लागि नारायणी लिफ्ट ठूलो कायापलट हुन सक्छ, ४७ सय हेक्टर जमिनमा यसबाट पूर्णरुपमा सिँचाईको प्रवन्ध हुने यो अति महत्वपूर्ण छ’–मेयर दाहालले भनिन् । उनले थपिन्–‘भरतपुर कृषिको प्रचुर संभावना भएको महानगर हो, सिँचाईको अभावले हामीले प्रयाप्त उत्पादन गर्न नसकिरहेको अवस्थालाई यो सिँचाई महानगरको लागि ठूलो बरदान सावित हुन्छ ।’

मेयर दाहालले प्रयाप्त सिँचाईको अभावमा अहिले पनि महानगरका पश्चिम क्षेत्रमा सुख्खा जस्तै रहेको भन्दै यस्तो अवस्था हुनु दुःखद रहेको बताइन् । ‘सुख्ख क्षेत्रमा सिँचाईका लागि हामीले डिप बोरिङलगायतका उपकरणहरुले जडान गर्दै आइरहेका छौं, तर त्यो प्रयाप्त छैन, दीर्घकालिन समस्या समाधानका लागि नारायणी लिफ्टलाई नै व्यवस्थित गर्दै लैजानु आवश्यक छ’–मेयर दाहालले भनिन् ।

नारायणी लिफ्टले तत्कालै नयाँ उपकरण जडान गर्ने तयारीमा थियो । पुरानो मेसिन नचलाई नयाँ जडान गर्ने र त्यसपश्चात मात्रै पूर्णरुपमा सिँचाईलाई अगाडि बढाउने योजना कार्यालयको थियो । तर किसानलाई समयमै पानी दिनुपर्ने भएपछि पुरानै मेसिन चलाएर नयाँ मेसिन जडानलाई दशैंपछि धकेलिएको प्रमुख कार्कीले बताए । पुरानो मेसिनका कारण कार्यालयले वर्षेनी हैरानी भोग्ने गरेको छ । कार्यालयले अहिले पनि वार्षिक एक करोड रुपैयाँ त विद्युत बापत तिर्नुपर्ने छ । त्यसैले यसको दीर्घकालिन उपाय खोज्न कार्की वैज्ञानिक महाविर पुनलाई भेट्न समेत किर्तिपुर पुगिसकेका छन् । राष्ट्रिय अवष्किार केन्द्रबाट पनि सकरात्मक जवाफ पाएको कार्कीले सुनाए ।

उपकरण खरिदका लागि नारायणी लिफ्टको प्राविधिकसहितको टोली गत वैशाख ५ गते भारतको कलकत्ता पुगेको थियो । अन्य विभिन्न ठाउँबाट सामग्रीहरु एकीकृत गर्नु पर्ने भएकाले आयातमा केही समय बढी लागेको कार्की बताउँछन् । ल्याईएका उपकरण जडान गर्न पनि समय लाग्ने भएकाले जडानमा ढिलाई भइरहेको छ ।

नारायणी लिफ्ट सिँचाई उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाट कार्यालयमा आइसकेका उपकरणलाई जतनसाथ राख्न समस्या भइरहेका भन्दै त्यसको व्यवस्थापनका लागि पहल गरिदिन महानगर प्रमुख रेनु दाहालसंग आग्रह गरेका थिए । अहिले कार्यालय परिसर भित्र रहेको एउटा भवनमा नेपाल प्रहरीको दंगा नियन्त्रण टोली बस्दै आइरहेका छन् । तर सिँचाईका लागि आइपुगेको करौडौं मूल्यको उपकरण भने बाहिर परिसरमै भिज्दै बसेको छ । ‘दंगा टोलीलाई अन्यत्र व्यवस्थापन गरि उपकरणलाई घर भित्र राख्न पाए पछिलाई सहज हुन्थ्यो, त्यसका लागि सबैले समन्वय गरिदिनुपर्ने अवस्था आएको छ’–रानाभाटले गुनासो गरे ।

के हो नारायणी लिफ्ट ?

२०३५ सालबाट निर्माण सुुरू भई २०४० सालमा सञ्चालनमा आएको नारायणी लिफ्टमा पानी तान्नका लागि चारवटा पम्प छन् । दुईवटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुईवटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने छ ।

पश्चिम चितवन क्षेत्रमा सिचाई सुविधा उपलब्ध गराउन भनेर ५२ करोडको लगानीमा निर्माण गरिएको नारायणी लिफ्टमा ३ वटा क्यानल छन् । नारायणी लिफ्टको ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १६.५ किलोमिटर लामो छ । नारायणी लिफ्टको पानि बी र सी नहरका लागि विभाजन हुन्छ । बी नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारसनगर, देवनगर र फुलवारीसम्मको जमिनमा सिंचाई सुविधा उपलब्ध गराउँछ भने सी नहरले बसेनी, भोजाड, टिकौली जंगल छेउ छेउ हुँदै गौरीगञ्जसम्म सिञ्चाई पु¥याएको छ ।

भरतपुर महानगरपालिका–१ मा रहेको जोरकुसुम पार्क नजिक नारायणी नदीको पानी २२ मिटरमाथि लिफ्ट गरेर मुख्य नहरमा ल्याइन्छ । त्यसको पाँच सय मिटर पर पुनः दुई वटा शाखा निर्माण गरी पानी पठाइएको छ । १८ मिटरमाथि लिफ्ट गरेर सी नहरबाट र लिफ्ट नगरी बी नहरबाट पानी पठाइन्छ । नहर अतिक्रमण हुनुअघि नारायणी लिफ्टले चार हजार ७०० हेक्टर जमिन सिञ्चित हुँदै आएको थियो ।

अहिले तीन हजार ५०० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । नारायणीबाट लिफ्ट गरेको पानीलाई खगेरी सिञ्चाईमा लगेर थप ३ हजार हेक्टरभन्दा बढी खेतमा सिञ्चाई गर्न पनि सकिन्छ । हिउँदमा खासै पानी हुँदैन । तर, नारायणीको पानी लैजान सके पश्चिम चितवनको अधिकांश भूभागमा सिञ्चाई गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>