देश/प्रदेश
आजदेखि फोहोर उठ्ने

काठमाडौं,जेठ २४-
काठमाडौंमा ढेड सातादेखि थुप्रिँदै आएको फोहोर आज (मंगलबार) बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ । सो सहमतिसँगै काठमाडौंको फोहोर आजैदेखि उठ्ने भएको छ ।
लामो समयदेखि फोहोर थुप्रिदा काठमाडौंमा हैजाको भय बढेको थियो । सहरी विकास मन्त्रालयमा सोमबार रातिसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्नेगरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको हो ।
सरकारी पक्ष र सिसडोल तथा बन्चरेडाँडाका जनप्रतिनिधिको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्ने निर्णय गर्दै त्यसका लागि समय तालिकासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
१ साउनदेखि कुहिने र नकुहिने फोहोर अलग राख्नुपर्ने
हरेक दिन बन्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्ने सहमति भएको आयोजना निर्देशक रवीन्द्र बोहोराले जानकारी दिए । यसरी माटोले पुरेपछि दुर्गन्ध नफैलिने उनले बताए ।
बोहराका अनुसार अहिलेलाई विगतमा जसरी फोहोर लगिन्थ्यो, त्यसरी नै लगिनेछ तर साउन १ देखि भने नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति भएको छ,’ बोहोराले वार्तापछि भने ।
सहमतिअनुसार काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्नेछ ।

























