Breaking News

निर्वाचित भएको एक हप्तामै राप्रपाको वडा अध्यक्षलाई ठगी गरेको आरोपमा पक्राउ पूर्जी

Banner

काठमाडौं, जेठ १७-

भक्तपुरको चाँगुनारायण नगरपालिकामा राप्रपाबाट वडा नम्बर ७ मा वडा अध्यक्ष निर्वाचित भएको हप्तादिनमै श्यामकृष्ण नायजु श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ठगी तथा फौजदारी आरोपमा उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिएको हो ।

वडा अध्यक्ष श्रेष्ठविरुद्ध सरकारी जग्गा बैना गरी कीर्ते गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । सोही आधारमा प्रहरीले अनुसन्धानका लागि अदालतको स्वीकृतिमा पक्राउ पुर्जी जारी गरेको थियो । उक्त मुद्दामा प्रहरीले केशवप्रसाद अधिकारी र ईश्वर गाइँजुलाई पक्राउ गरिसकेको छ । तर, वडा अध्यक्ष श्रेष्ठसहित चार जना फरार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वडा अध्यक्ष श्रेष्ठसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये अधिकारी र गाइँजू पक्राउ परिसकेका छन् । उनीहरु अनुसन्धानको लागि थुनामा रहँदा वडा अध्यक्ष श्रेष्ठसहित चार जना फरार रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

उनले श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएर सपथ तथा पदभार ग्रहणपछि पक्राउ पुर्जी जारी भएको जानकारी दिए । उनका अनुसार पक्राउ पुर्जी जारी भएका वडा अध्यक्ष श्रेष्ठ फरार छन् । तर, प्रहरीले फरार भनेका वडा अध्यक्ष श्रेष्ठ भने दिनहुँ वडा कार्यालय पुगिरहेका छन् । उनी मंगलबार नै भएको चाँगुनारायण नगरपालिका कार्यपालिका सदस्य निर्वाचनमा समेत सहभागी भएको बुझिएको छ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा चाँगुनारायण नपा ७ वडाको अध्यक्षमा श्रेष्ठ एक्लै राप्रपाबाट निर्वाचित भएका थिए । चारजना वडा सदस्य भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>