चितवन विशेष
युनिक बचतको सहकारी भवनको उद्घाटन, रत्ननगरका जनप्रतिनिधिलाई सम्मान

चितवन, जेठ १२–
पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाको १५औं स्थापना दिवसको अवसरमा सहकारी भवनको उद्घाटन गरिएको छ । साथै सोही अवसरमा जनप्रतिनिधिलाई सम्मान तथा सहकारीको विकास र प्रवद्र्धनका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बागमती प्रदेशका भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले ३ करोड १९ लाखको लगानीमा युनिकले निर्माण गरेको पाँच तले सुविधा सम्पन्न भवनको उद्घाटन गरेका हुन् ।
सो अवसरमा रत्ननगर नगरपालिकाका नवनिर्वाचित मेयर प्रलाद सापकोटा, उपमेयर यादब पाठक तथा वडाअध्यक्ष र वडासदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा भवन निर्माण समितिका संयोजक रघुनाथ भट्ट,सदस्यहरु यादब प्रसाद पाठक, केशवलाल कर्मचार्य, इन्द्रप्रसाद पाध्य पौडेल, केदारनाथ अधिकारी,इन्द्रप्रसाद बजगाई,सोहेन्द्रराज खरेल,शालिग्राम पराजुली र सदस्य सचिव मेघनाथ लामिछानेलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्रालयका सचिव निरौलाले सहकारी नाफामुलक नभइ सेवा मुखी हुनुपर्ने बताए । सहकारीलाई उत्पादनमुखी बनाएर रोजगारी सृजना गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा रत्ननगरका मेयर सापकोटाले विपन्न वर्गको शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उपमेयर पाठकले उत्पादनशिल क्षेत्रका लगानी गर्न सहकारीलाई आग्रह गरे । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी उपाध्यक्ष शान्ति ढकाल अधिकारी ,पूर्व कोषाध्यक्ष केशव प्रसाद पोखरेल, पूर्व वरिष्ठ सहकारी अधिकृत केशव बहादुर थापा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष प्रेमकृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुरेन्द्रनाथ रेग्मीले सञ्चालन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष भिष्मराज न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । २०६५ सालमा स्थापना भएको सो सहकारीको कुल सम्पती २ अर्ब १ करोड ७७ लाख, शेयर पुँजि १५ करोड ६८ लाख, जगेडा कोष ११ करोड ९९ लाख,ऋण जोखिम कोष ५ करोड ६७ लाख,बचत संकलन १ अर्ब ५५ करोड ६५लाख, ऋण लगानी १ अर्ब ६६करोड ८३ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले जानकारी दिए ।
























