राजनीति

एमालेसँगको सहकार्य फापेन, अब एक्लै लड्छौँः कमल थापा

Banner

काठमाडौं,जेठ ९-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गरेको चुनावी तालमेल परिणाममुखी हुन नसकेको विश्लेषण गरेका छन्। काठमाडौंमा सोमबार आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रतिवेदन पेश गर्दै थापाले एमालेको उदासीनताको कारणले निर्वाचनमा उपलब्धि प्राप्त गर्न नसकेको बताएका हुन्।

‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा हाम्रो कुनै महत्वाकांक्षा र अपेक्षा थिएन। पार्टी खडा भएको छोटो अवधिमा नै चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था थियो। हामीले चुनावमा भाग नलिन पनि सक्थ्यौँ तर, चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो’ उनले बैठकमा पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘प्रजातन्त्र र जन सर्वोच्चताको सिद्धान्तमा विश्वास गर्ने पार्टी भएको तथा सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली राप्रपा नेपालको मुख्य एजेण्डा भएको कारणले गर्दा सांकेतिक रुपमा भएपनि हामीले चुनावमा भाग लियौँ।’

चुनावमा एमालेसँग सहकार्य गर्ने निर्णय व्यवहारिक र रणनीतिक रूपमा ठीक भए तापनि एमालेको उदासीनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको उल्लेख गरेका छन्। स्थानीय तहको चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर आगामी संसदीय निर्वाचनको तयारी जुट्नुपर्ने बताएका छन्।

हिन्दुराष्ट्र पुनःस्थापना राप्रपा नेपालको मुख्य एजेण्डा भएको उल्लेख गर्दै निकट भविष्यमा नै हिन्दुराष्ट्र पुनःस्थापनाको निम्ति पार्टीले देशव्यापी सशक्त अभियान संचालन गर्ने बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>