देश/प्रदेश

एकीकृत बस्ती र भाषा संरक्षण गर्न कुसुन्डा समुदायको माग

Banner

–रञ्जिता अधिकारी
देउखुरी, २३ वैशाख –

आफूलाई ‘वनको राजा’का रूपमा चिनाउने कुसुन्डा जातिले वनमा आफ्नो अधिकार भएको ठान्दै आएका छन् । वनमा उत्पादन हुने खानेकुरा नै उनीहरूको खाद्यान्न हुने गरेको थियो । आधुनिकतासँगै कुसुन्डाको रहनसहन पनि फेरिएको छ । स्थायी घर र बसोबास नभए पनि कुसुन्डा जाति आफ्नो मौलिकताका धनी मानिन्छन् ।

कुसुन्डाको आफ्नै मौलिकता, कला, संस्कृति र संस्कार छ । कुनै बेला फिरन्ते जीवन बाँचेका कुसुन्डा जाति थोरै सङ्ख्यामा भए पनि देशमा विभिन्न भू–भागमा छरिएर रहेका छन् । कुनै कालखण्डमा फिरन्ते जीवन बाँचेका कुसुन्डा जातिको जीवन पहिले जङ्गलमै बिते पनि अहिले फेरिएको छ । उनीहरूको खनापिन, उठबस र रहनसहन परिवर्तन भइसकेको छ । अहिले कुसुन्डा जाति वनमा फिरन्ते जीवन बिताउँदैनन् । गाउँ समाजमा बस्न थालिसकेका छन् ।

छरिएर बसेसँगै कुसुन्डाको भाषा, संस्कृति र संस्कार पनि हराउँदै गइरहेको छ । पहिचान नै जोखिममा पर्ने अवस्था आउन थालेपछि अहिले आफ्ना मौलिकता, भाषा, कला र संस्कृति संरक्षण गर्न कुसुन्डा समुदायले एकीकृत बस्ती विकासको माग गरेका छन् । एकै थलोमा बसालेर समुदायको उत्थानमा ध्यान दिन उनीहरुले स्थानीय र केन्द्रीय सरकारसँग माग गरिरहेका छन् ।

घोराही उपमहानगरपालिका–१८ अम्बापुर प्रेमबहादुर शाही उमेरले ८० वर्षको हुनुभयो । उहाँ कुसुन्डा भाषाको वक्ता पनि हुनुहुन्छ । कुसुन्डाको संस्कृति बचाउन समस्या भएको हुँदा सरकारले ध्यान दिनुपर्ने उहाँ बताउनुहन्छ । लोपोन्मुख जातिका रूपमा मासिक सामाजिक सुरक्षा भत्ता पाए पनि यो पर्याप्त नरहेको उहाँको भनाइ छ । “यसबाट दैनिक जीवन सञ्चालन गर्न केही सहज भएको छ, तर यतिले मात्रै पुग्दैन । भाषा, कला, संस्कार र सस्कृतिलाई संरक्षण गर्दै जीवनयापन सहज हुने उपाय खोज्नुपर्छ”, शाहीले भन्नुभयो ।

कुसुन्डा भाषा बोल्न सक्ने एकमात्र व्यक्ति घोराही–१८ सुपैलाखुटीकी कमला कुसुन्डा आफ्नो शेषपछि कसले भाषालाई बचाउने हो भन्नेमा चिन्तित हुनुहुन्छ । आफूमात्रै कुसुन्डा भाषा बोल्ने व्यक्ति रहेको उल्लेख गर्दै उहाँ यसको संरक्षण र उत्थानमा सरकारले चासो लिनुपर्ने बताउनुहुन्छ । “एकीकृत बस्ती भएमा भाषा संरक्षण हुन्छ । संस्कृति र परम्पराको अभ्यास हुन्छ”, उहाँले भन्नुभयो, “जातिको पहिचान पनि कायम रहन्छ ।” घरमा आफू–आफूबीच कहिलेकाहीँ कुसुन्डा भाषामा कुराकानी गरे पनि अरु ठाउँमा जाँदा नेपाली भाषामै बोल्नुपर्ने अवस्था रहेकाले कसुन्डा जातिलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो ।

स्थानीय तह निर्वाचनमा भोट माग्न आउने हरेक उम्मेदवारलाई आफूहरुको उत्थानका लागि गम्भीर बनिदिन कुसुन्डा समुदायले आग्रह गर्दैआएको छ । “हामीलाई थोरै जनसङ्ख्या भनेर हेपेको हुनसक्छ, तर हामी त लोप हुने अवस्थामा पुगेका छौँ, हाम्रो अस्तित्व बचाउने गरी योजना हामी दिन्छौँ, त्यो योजना कार्यान्वयन गर्ने उम्मेदवारलाई हामी भोट दिने तयारीमा छौँ”, कमलाले भन्नुभयो ।

घोराही–१८ सुपैलाखुटीकी शर्मिला कुसुन्डा आफ्नो समुदायको उत्थानमा स्थानीय सरकारले गम्भीररूपमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । छरिएर बसेका कुसुन्डालाई एकीकृतरूपमा राख्न सकिए भाषा, कला र संस्कृति बच्ने उहाँको भनाइ छ । “आफ्नो समुदायको भाषा, कला, संस्कृति संरक्षणका लागि राज्यले अनिवार्यरूपमा एकीकृत बस्ती निर्माण गर्न जरुरी छ”, उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरूले एकीकृत बस्ती र भाषा संरक्षणको माग गरेका छन् ।

कुसुन्डा समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार देशभर कुसुन्डा जातिको सङ्ख्या १५४ मात्रै छ । लोप हुने अवस्थामा पुगेको समुदायको उत्थानका लागि स्थानीय सरकारले अहिलेसम्म ठोस योजनासहित काम नगरेको उहाँको दुःखेसो छ । भाषा संरक्षणका लागि केही प्रयास भए पनि अरु संस्थागत विकासमा योगदान नभएको उहाँको धारणा छ । अब भोट माग्न आउने उम्मेदवारसँग आफूहरुले बारम्बार उठाउँदै आएको साझा मागलाई सम्बोधन गराउनतर्फ केन्द्रित हुने धनबहादुरको भनाइ छ ।

कुसुन्डा जातिको बसोबास दाङको घोराही, तुलसीपुर, कपिलवस्तु, मकवानपुर, रोल्पा, रुकुम, प्यूठान र सुर्खेतमा छ । एकै ठाउँमा यो समुदायको बसोबास नरहेकाले पनि उनीहरुको बसाइ व्यवस्थापनमा समस्या भएको बताइन्छ । भाषा आयोगले कुसुन्डा जातिको भाषा संरक्षणका लागि निरन्तर भाषा कक्षा सञ्चालन गर्दै आएको छ भने स्थानीय सरकारले पनि केही बजेट विनियोजन गरेर नयाँ पुस्तालाई शिक्षादिक्षामा सहुलियत प्रदान गर्दै आएको छ ।

आफूहरूको शैक्षिक योग्यताअनुसार सरकारले रोजगारीको अवसर दिनुपर्ने अध्यक्ष धनबहादुरको जोड छ । अहिले विभिन्न सङ्घसंस्थाको पहलमा समुदायले आफ्ना कुरा बाहिर ल्याउन सक्ने भएको उहाँ बताउनुहुन्छ । कुसुन्डा समुदायको नाममा एक धुर जग्गा नभएको भन्दै उहाँले राज्यले दिने सेवा सुविधामा पनि धेरै भेदभाव गरेको आरोप लगाउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>