Breaking News

को को ले दिए चितवनका पाँच स्थानीय तहको प्रमुख र उपप्रमुखमा बागी उम्मेदवारी ?

Banner

चितवन, वैशाख १४-

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चितवनका सात स्थानीय तहमध्ये पाँच वटा पालिकाका प्रमुख र उप–प्रमुखमा बागी उम्मेदवारी परेको छ ।

सत्तारुढ गठबन्धन र नेकपा एमालेबाट नै चितवनका विभिन्न पालिकामा बागी उम्मेदवार परेको हो ।

लामो अभ्यासपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) चुनावी गठबन्धन भएको थियो । तर, भरतपुर महानगरपालिका, रत्ननगर, कालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा प्रमुख, उप–प्रमुख तहमा बागी परेको छ । त्यस्तै वडा तहमा भने सबै पालिकामा बागी उम्मेद्वार देखिएका छन् ।
भरतपुर महानगरपालिकामा महानगर प्रमुखमा दुई र उप–प्रमुखमा दुई जनाको बागी परेको छ । त्यसमध्ये तीन जना नेपाली कांग्रेसकै नेता रहेका छन् । नेपाली कांग्रेसका पूर्वसांसद समेत रहेका जगन्नाथ पौडेलले महानगर प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि मोहित पाण्डेले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।

उपमेरमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि भोजराज कौडेलले उम्मेदवारी दिएका छन् । उनले आफ्नै पार्टीका महानगर सभापति चित्रसेन अधिकारी विरुद्ध उठेका हुन् । अधिकारीलाई कांग्रेसले महानगरको उप–प्रमुखमा उठाएको छ । माओवादी निकट पत्रकार संगठन नेपाल प्रेस सेन्टर चितवनका सचिव रवि अधिकारीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । भरतपुरबाट मेयरमा ३० जनाले उम्मेदवारी दिएका छन् । भरतपुरको वडा नम्बर ३ मा कांग्रेसका तारामित्र पण्डितले स्वतन्त्र उम्मेदवार दिएका छन् ।

रत्ननगर नगरपालिकाको उप–प्रमुखमा एमालेको तर्फबाट बागी उम्मेदवार परेको छ । रत्ननगरमा एमालेले यादव पाठकलाई उठाएको थियो । तर, अखिल नेपाल महिला संघकी नगर अध्यक्ष विरञ्जना घिमिरे सापकोटाले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् । त्यस्तै, रत्ननगरमा पाँच वटा वडामा बागी उम्मेदवार परेको छ । वडा नम्बर ९ मा कांग्रेसका अनन्त अधिकारी, एकीकृत समाजवादीका विष्णुहरी देवकोटा, वडा नम्बर ६मा वाईसीएलका रत्ननगर अध्यक्ष राजेन्द्र धामी र वडा नम्बर १६ मा माओवादीका हरेराम श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

खैरहनी नगरपालिकामा एमालेबाट दुई जनाले बागी हालेका छन् । एमालेका नेता विकास डल्लाकोटी र रामशरण बर्तौलाले स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका छन् । यहाँबाट एमालेले हालका मेयर लालमणि चौधरीलाई उठाएको छ । यस्तै उपमेयरमा कांग्रेसका रामेश्वरप्रसाद चौधरी र माओवादीका अनुप बिसुरालले स्वतन्त्र रुपमा मनोयन दर्ता गराएका छन् । यहाँबाट गठबन्धनले उपमेयरमा माओवादीकी लक्ष्मी ढकाललाई उठाएको छ । खैरहनीमा वडा तहमा पनि बागी परेको छ । वडा नम्बर ८ मा एमालेका लेखबहादुर पुन र टेक बहादुर थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यहाँ एमालेले शान्ति चौधरीलाई वडाध्यक्षमा उठाएको छ ।

वडा नम्बर ११मा पनि एमालेका गोकर्णराज पाण्डे र लालबहादुर गुरुङ स्वतन्त्र उठेका छन् । यहाँ एमालेले दिपेन्द्र दराईलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । खैरहनी नगरपालिकामा ३०६ जनाको उम्मेदवारी परेको छ । कालिका नगरपालिकाकाको मेयरमा नेकपा(माओवादी केन्द्र)का रामध्वज डल्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै पार्टीका विरुद्ध बागी उम्मेदवार दिएका छन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य विमला श्रेष्ठ र विक्रम श्रेष्ठको स्वतन्त्र उम्मेदवारी परेको छ । यहाँ नेपाली कांग्रेसले अध्यक्षमा गिताकुमारी गुरुङलाई उठाएको छ ।

माडी र राप्ती नगरपालिकाका वडाध्यक्षमा पनि बागी उम्मेदवार परेका छन् । माडीमा नेकपा माओवादीका रमेश पाण्डेले वडा नम्बर ४बाट बागी उम्मेदवारी दिएका छन् । यस्तै एमालेका हरि रानाभाटले वडा नम्बर ७ को अध्यक्षमा स्वतन्त्रबाट मनोनयन गराएका छन् । बागी उठेका पार्टीका क्रियाशिल सदस्यहरुलाई पार्टीले कारबाही गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले बताए । ‘साथीहरु केही असन्तुष्ट हुनुहुन्छ । तर,पनि पार्टीका कार्यकर्ताले पार्टीको निर्देशन पनि मान्नुपर्छ । उहाँहरुले उम्मेदवारी फिर्ता लिने दिनसम्म फिर्ता गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘उम्मेदवारी फिर्ता नलिए पार्टीको नीति नियम लागू हुन्छ ।’

नेकपा माओवादीका रामचन्द्र अधिकारीले आफ्ना पार्टी कार्यकर्ताले उम्मेदवारी फिर्ता लिने बताए । ‘केही साथी बागी उठ्नुभएको छ ।’, उनले भने । ‘अन्तिम दिनसम्म सबैले फिर्ता गर्नुहुन्छ ।’ निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय बैशाख १६गतेसम्म तोकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>