Breaking News

चितवनमा पाँच दलीय गठबन्धनः सबै पालिकामा भागबण्डा टुंगियो, कुन वडा कसलाई ?

Banner

चितवन,बैशाख ११-

चितवनका सत्ता साझेदार गठबन्धनले पालिका स्तरमा टुंगो लगाएपछि जिल्लाका वडाध्यक्षमा भागबन्डाको खाका तयार गरेका छन् । बुधबार देखि लगातार बसेको सत्ता साझेदार दलहरुले शनिवार मध्यराती सात पालिकाका वडाध्यक्षको खाका तयार गरेका हुन् ।

तर, वडासदस्यहरुमा सहमति जुट्न सकेको छैन । बेलुकासम्म सदस्यहरुको पनि टुंगो लगाउने गरि गृहकार्य भैरहेको छ । नेपाली कांग्रेसले ५८, नेकपा (माओवादी केन्द्र)ले २६ र नेकपा (एकीकृत समाजवादी)ले १३ वटा वडाध्यक्ष पाउने गरि सहमति गरिएको छ । तर, राष्ट्रिय जनमोर्चा र जनता समाजावादी दललाई भने उनीहरुले वडाध्यक्षमा समावेश गरेका छैनन् ।

नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष पाउने भएको छ । उसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा उमेद्वारी दिने सहमति भएको छ । यस्तै भरतपुरमा ५ वटा वडाध्यक्ष पाएको माओवादीले ११, १३, २४, २५,२८ नम्बर वडामा अध्यक्ष पाएको छ । उसले २६ नम्बर वडा पनि दावि गरेको छ । तर, यस वडामा सहमति हुन बाँकी रहेको बताइएको छ । नेकपा (एकीकृत समाजवादी)ले भरतपुरमा ३ वटा वडामा वडाध्यक्ष पाएको छ । एसले ९, १२ र २२ नम्बर वडामा वडाध्यक्ष पाएको छ ।

त्यस्तै राप्ती नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा वडाध्यक्ष पाएको छ । उसको भागमा २, ४, ९, १०, १२ र १३ नम्बर वडाको वडाध्यक्ष परेको छ । नेकपा (माओवादी केन्द्र)ले ३, ५, ७ र ८ नम्बर गरि ४ वटा वडाध्यक्ष पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले १, ६ र ११ नम्बर वडामा वडाध्यक्षमा उमेद्वारी दिने सहमति भएको स्रोतले जनाएको छ ।

इच्छाकामना गाउँपालिकामा पनि सहमति जुटेको छ । काँग्रेसलाई अध्यक्षसहित ४ वटा वडा र माओबादी केन्द्रलाई उपाध्यक्ष सहित ३ वटा वडा दिने गरि सहमति जुटेको हो । जस अनुसार काग्रेसले अध्यक्षसहित ४, ५, ६ र ७ नम्बर वडाको अध्यक्षका लागि उमेदवारी दिनेछ । त्यस्तै माओबादी केन्द्रले उपाध्यक्षसहित १, २ र ३ नम्बर वडाको अध्यक्षमा उमेदवारी दिने सहमति जुटेको हो ।

रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसले ९, नेकपा (माओवादी केन्द्र)ले ४ र एकीकृत समाजवादीले ३ वटा वडाध्यक्ष पाउने गरि सहमति गरेका छन् ।

खैरहनी नगरपालिकामा नेपाली कांग्रेसले ८, माओवादीले ३ र एकीकृत समाजवादीले २ वटा वडामा अध्यक्षमा उमेद्वारी दिनेछन् । मेयर समेत माओवादीको भागमा परेको माडीमा सबैभन्दा बढी वडाध्यक्ष पनि माओवादीले पाएको छ । त्यहाँ माओवादीले ५, कांग्रेसले ३ र एकीकृत समाजवादीले १ वटा वडाध्यक्ष पाएका छन् ।

यसअघि सत्ता साझेदार दलले पालिका स्तरको भागबण्डा मिलाईसकेका छन् । कांग्रेसले ४ पालिकाको प्रमुख र ४ पालिकाको उपप्रमुख पाउने सहमति गरेको थियो । तर, अन्तिम समयमा आएर कांग्रेसले वडाध्यक्षको भागवण्डा मिलाउन इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष छोडेको छ । अव कांग्रेसले भरतपुर, माडी र राप्ती नगरपालिकामा उपप्रमुखमा उम्मेद्वारी दिने भएको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख नेपाली कांग्रेसले पाउने सहमति भएको थियो ।

माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने छ । समाजवादीले रत्ननगरको उपप्रमुख पाउने सहमति छ । माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउने सहमति भएको थियो । आज बेलुकासम्म सदस्यपदमा पनि टुंग्याएर भोली मनोनयन दर्ता गर्ने तयारीमा सत्ता साझेदार संस्था रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>