चितवन विशेष
चितवनका व्यवसायी गौली लमजुङ मध्यनेपाल नगरपालिकाको मेयरमा आकांक्षी

चितवन, वैशाख १-
चितवनका व्यवसायी गोबद्र्धन गौली लमजुङको मध्य नेपाल नगरपालिकाको मेयरमा आकांक्षा राखेका छन् ।
अहिले लमजुङको मध्य नगरपालिका–१ जितामा ७०० रोपनी जग्गामा हिर्कुस एग्रो फार्म प्रालि सञ्चालन गरेर बसेका उनले एमालेबाट मेयरमा आकांक्षा राखेका हुन् । उनी अहिले नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य, एमाले निकट अखिल नेपाल किसान महासंघ केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश सचिवसमेत छन् ।
मेयरमा आकांक्षा राखेका उनले नारायणी अनलाइनलाई भने, ‘कृषिको व्यवसायीकरण र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै कृषि क्षेत्रको विकासको लागि मैले मेयर बन्ने चाहना राखेको छु । कृषि क्षेत्रको विकासबाट समृद्धिमा अगाडि बढाउने काम मेरो मुख्य प्राथमिकता हुनेछ ।’
गौलीले २०६४ सालबाट चितवनमा गौली डेभलपर्सको स्थापना गरेर घर तथा जग्गाको कारोबार गर्दै आएका थिए । अहिले उनका परिवारका अन्य सदस्यलाई व्यवसाय सुम्पेर २०७० सालमा कृषि व्यवसाय गर्ने सोचले लमजुङ गएसँगै राजनीति र कृषिलाई सँगसँगै बढाउँदै आइरहेका छन् । उनी भरतपुरको तारापुञ्ज सहकारीका संस्थापकसमेत हुन् । २०४३ सालबाट बामपन्थी राजनीतिमा लागेका गौली नेकपा मसालबाट जनमोर्चा हुँदै माओवादी राजनीतिमा सक्रिय रहेका थिए । एमाले र माओवादी एकता भएसँगै नेकपा बनेका उनी अहिले एमालेको राजनीतिमा सक्रिय छन् ।
























