Breaking News

चितवनको बिक्रमबाबा मेलामा दर्शनार्थीहरुको भीड, व्यवस्थापन कमजोर हुँदा नागरिकलाई सास्ती

Banner

चितवन, चैत २६-

चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा आज दर्शनार्थीहरुको भीड लागेको छ ।

चैते दसैँअन्तर्गत महाअष्टमीको दिन र शनिबार भएकोले पनि आज विशेष भीड लागेको हो ।

भीडको सही व्यवस्थापन हुन नसक्दा कसरा पुलमा दर्शन गरेर फर्कने र दर्शन गर्न जाने दर्शनार्थीहरुको बीचमा धकेलाधकेल नै भएको थियो । भीडमा च्यपिएर कयौं बालबालिका र वृद्धवृद्धा बेहोस भएका थिए । भरतपुर हुँदै माडी जाने एम्बुलेन्स र सवारीसाधन सबै दर्शनार्थीको भीडमा फसेका थिए । मानिसहरुको भीडको तुलनामा सुरक्षाकर्मी र स्वयंसेवकहरुको फितलो उपस्थिति गर्दा व्यवस्थापन निकै कमजोर देखिन्थ्यो ।

पोखराबाट एक वर्षको बच्चा बोकेर दर्शन गर्न पहिलोपटक आएकी रमा पौडेलले सुरक्षाकर्मी र व्यवस्थापन समितिले व्यवस्थापनमा चासो नदिएको आरोप लगाइन् । बच्चा बेहोस भएर भीडमा ढल्दा पनि कुनै स्वयंसेवक वा सुरक्षाकर्मी उद्दार गर्न नआएको उनले आक्रोश पोखिन् । उनले भनिन् ‘कसरा पुलमा बाँयातर्फबाट जाने र दायाँतर्फबाट आउनेसम्म व्यवस्था गरिदिएको भए पनि वृद्धवृद्धा, बालबालिका र अशक्तलाई धेरै सजिलो हुन्थ्यो तर यहाँ त मेलाको नाममा व्यापारीले पैसा कमाउने अवसर मात्र रहेछ । सादा खानाको ४०० रुपैयाँसम्म लिएका थिए । दशनार्थी बेहोस भएर ढल्दा पनि कसैलाई मतलब नहुने रहेछ ।’ उनले अब बिक्रम बाबा दर्शन गर्न फेरि कहिल्यै पनि नआउने बताइन् । उनले भनिन्, ‘बल्लबल्ल छोरा बचाएर मेलाबाट फर्कन सफल भएँ । पुलको छेउबाट सिधै तल राप्ती किनारतिर तल झरेर बल्लबल्ल ज्यान जोगाएँ । ’

स्थानीय भविश्वर पौडेलले मेलामा यति धेरै मानिसहरुको भीड अहिलेसम्म नदेखेको नारायणी अनलाइनलाई बताए । उनले माडीमा गोद्दक मेला पनि आजै परेकोले यस्तो धेरै भीड भएको जानकारी दिए । उनले व्यवस्थापन समितिले पनि यती धेरै मानिस आउँलान् भन्ने अनुमान नै नगरेकोले व्यवस्थापनमा कमजोरी भएको जानकारी दिए ।

घैलाघारी सामुदायिक वनका अध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक लीलाराज भुसालले मेलालाई राम्रोसँग व्यवस्थापन गर्न नसकिएको स्वीकार गरे । उनले भने, ‘ चैते दसैँको मुख्य दिन अष्टमी र शनिबार एकैदिन परेकोले यस्तो भीड बढेको बताए ।’ उनले आफूहरुको जिम्मेवारी पार्किङ व्यवस्थापनको भएको तर पुलमा दर्शनार्थीहरुको व्यवस्थापन गर्ने जिम्मेवारी भने आफूहरुको नभएको बताए । उनले भने, ‘ केरुङ्गा उपभोक्त समिति र सुरक्षाकर्मीको व्यवस्थापनमा कमजोरी देखियो ।’

हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला वैशाख ३ गतेसम्म सञ्चालनमा आउने जनाइएको छ । कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला यसपटक सञ्चालनमा आएको हो । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा पूजाआजा गरी परेवा उडाएर औपचारिक रुपमा चैत १८ गतेबाट मेलाको सुरुआत गरिएको थियो ।

मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गरेका थिए भने घैलाघारी सामुदायिक वनले पार्किङको व्यवस्थापन गरेका थिए भनिए पनि कुनै व्यवस्थापन भएको महसुस दर्शनार्थीले गर्न पाएनन् । कतिपय दर्शनार्थीहरु पूजास्थलसम्म भीड छिचोलेर पुग्न नसक्दा बाटोबाटै फर्किएका थिए ।

मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजे देखि साँझ ५ बजेसम्म समय तोकिएको थियो । मेला व्यवस्थापनका लागि १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको भए पनि कुनै स्वयंसेवक बाटोमा नदेखिएको दशनार्थीले बताए । भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीसाधन कसरा पुलमा नै दिनभर फसेका थिए । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारु जातिमा प्रचलनमा रहेको छ ।

विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायको पूजामा अकर्षण बढ्दै गएको छ । सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>