Breaking News

रत्ननगर नगरपालिकाः एमालेलाई गठबन्धनको चुनौती, एकीकृत समाजवादीको प्रभाव कति ?(२०७४ को मतसहित)

Banner

चितवन,चैत २०-

चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका पछि रत्ननगर नगरपालिकामा मतदाताको संख्या बढी छ । यहाँ अघिल्लो स्थानीय तह निर्वाचनमा निकै पेचिलो प्रतिस्पर्धा भएको थियो । अहिले पनि रोचक हुने देखिएको छ । नेकपा (एमाले)का नारायण वनले नेपाली कांग्रेसका रुपनराज घिमिरेलाई १ हजार ४५१ मत अन्तरले हराएका थिए ।

दलीयरूपमा सबैभन्दा बढी वडा जितेको नेकपा एमालेले प्रमुख र उपप्रमुख पद पनि जितेको थियो । रत्ननगरका १६ वडामध्ये १० वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका थिए । एमालेलाई कडा टक्कर दिएको कांग्रेसले ६ वटामा वडाध्यक्ष जितेको थियो । तेस्रो शक्तिको रुपमा उदाएको माओवादीले एक सदस्य पद पनि जित्न सकेन । अन्य पार्टीको मत झिनो छ । चौथो शक्तिको रुपमा रहेको राप्रपाको मत त्यहाँ ६२८ छ ।

रत्ननगर विगत देखिनै एमालेको पकेट क्षेत्रका रुपमा हेरिन्छ । २०५४ सालका पनि नारायण वन नै विजयी भएका थिए । एमाले विगतको विरासत जोगाउने दाउमा अहिले पनि छ । तर, एमालेले सोचेजस्तो सजिलो भने छैन । पार्टी फुटको असर पक्कै देखिन्छ । सोही क्षेत्रका वाग्मती प्रदेश सांसद कृष्णप्रसाद खनाल एमालेबाट बाहिरिएका छन् । मन्त्री समेत रहेका खनालको पार्टी नेकपा (एकीकृत समाजबादी)ले भोट काट्ने आंकलन गरिएको छ । रत्ननगरबाट तीन जना वडाध्यक्ष, कार्यापालिका सदस्य र वडासदस्य समान दुई÷दुई जना नेकपा (एकीकृत समाजबादी)मा लागेका छन् ।

एमालेका लागि सबैभन्दा ठूलो खतरा भनेको सत्तारुढ दलहरूको गठबन्धन नै हो । त्यो गठबन्धन बनेको अवस्थामा नेकपा(एस)ले लैजाने भोटलाई तान्नुपर्ने देखिन्छ । भने नयाँ थपिएका मतदाताको बहुँसंख्यक मत पनि एमालेले तान्नुपर्ने देखिन्छ । नभए विगतको विरासत जोगाउन कठिन हुन सक्छ ।

रत्ननगरमा कांग्रेसलाई पनि कम आकलन गर्न सकिँदैन । अघिल्लो निर्वाचनमा कांग्रेसका उमेद्वार रुपनराज घिमिरेले १३ हजार २२६ मत ल्याएका थिए । उनले ६९७ लोकप्रिय भोट ल्याएको देखिन्छ । कांग्रेसकाबाट उमेद्वार दिएका वडाध्यक्षको मत जोड्दा १२ हजार ५२८ मत हुन आउँछ । त्यसो त एमालेका नारायण वनले एमालेबाट उमेद्वार दिएका वडाध्यक्षको भन्दा ७९७ मत बढी ल्याएको देखिन्छ । वनले १४ हजार ६७७ भोट प्राप्त गरेका थिए । एमालेका वडाध्यक्षहरुको समग्र जोड्दा १३ हजार ८८० हुन आउँछ । यसरी हेर्दा पनि रत्ननगरमा एमाले बलियो नै छ । यहाँ माओवादीले प्रमुख पदमा ३ हजार ६७१ मत ल्याएको छ ।

उप–प्रमुखमा एमालेकै विमला देवी दवाडी १४ हजार ४८१ मत ल्याएर विजयी भएकी थिईन् । दोस्रोमा कांग्रेसकी उमेद्वार निता ढकालले १२ हजार ७०३, तेस्रोमा नेकपा (माओवादी केन्द्र) की संगीता भट्टराई रेग्मीले ४ हजार २४ र चौथोमा राप्रपाकी उर्मिला पासवानले ७०१ मत प्राप्त गरेका थिए ।

प्रमुख पदमा हारेको कांग्रेसले वडा नम्बर १,२, ६, ७, ११ र १२ गरी ६ वटा वडा जितेको थियो । प्रमुख र उप– प्रमुख जितेको एमाले ३, ४, ५, ८,९, १०, १३, १४, १५ र १६ नम्बर वडा गरि १० वटा वडा जितेको थियो । विभाजनपछि तीन जना वडाध्यक्ष नेकपा एसमा गएका छन् । माओवादीकोले एक वडा पनि जित्न सकेको थिए ।

२०७४ सालको निर्वाचनको मतपरिणामलाई हेर्दा केही गठबन्धनको मत बढी हुन आउँछ । कांग्रेस र माओवादीको मत जोड्दा १६ हजार ८९८ हुन्छ । तर, एमाले एक्लैको १४ हजार ६७७ मत छ । यसरी हेर्दा २ हजार २२१ मतले मात्र एमालेपछि देखिन्छ । तर, अहिले पालिका प्रमुख रहेको एमालले आफुतिर मत बढाएको अनुमान छ । एमालले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउँदै नयाँ मतदातालाई प्रभावमा राख्न सक्यो भने जित्ने आधार प्रसस्त देखिन्छ । २०७४ मा ४३ हजार १५४ मतदाता रहेको रत्ननगरमा ९ हजार ४८८ मतदाता थपिएका छन् । यी मतदाताको भोट कता जान्छ स्पष्ट भन्न सक्ने अवस्था छैन । अहिले रत्ननगरमा ५२ हजार ६४२ मतदाता पुगेका छन् । यहाँ नयाँ थपिएको मत नै निर्णायक हुन सक्ने देखिन्छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा झै यसपटक पनि एमाले र कांग्रेस बीचमै प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धन भएपनि माओवादी निकै कमजोर रहेका कारण प्रमुख पद कांग्रेसलाई दिने स्पष्ट संकेत देखिन्छ । यदि माओवादीले प्रमुख पद पाएको खण्डमा एमालेलाई फाइदा हुन सक्छ । झण्डै एक्लै जित्न सक्ने स्थानमा थोरै मतदाता रहेको माओवादीले प्रमुख पदमा टिकट पाउँदा कांग्रेसको भोट गठबन्धनमा नजान सक्छ । माओवादी र कांग्रेसले तालमेल गरेर निर्वाचन लडेका स्थानमा गठबन्धनका उमेद्वारले पुरा भोट पाएको देखिँदैन । तर, मत आफ्नो पक्षमा ढाल्ने कांग्रेस र एमालेले प्रयास गर्नेछन् ।

यसअघिको मत खासै अन्तर नभएकाले अन्य पालिकामा भन्दा यहाँ चुनावी प्रतिसप्रर्धा निकै रोचक हुने देखिन्छ । कांग्रेस, माओवादी सहितका पाँच दलको गठबन्धन अगाडी बढे एमालेले पनि अन्य पार्टीसंग गर्न सक्छ । उसले राप्रपासंग तालमेल गर्न सक्छ । जसले धेरै मतको अन्तर नरहेको रत्ननगरमा एक एक मतको महत्व देखिन्छ । निर्णायकका रुपमा रहेका नयाँ मतदातालाई जस्ले तान्न सक्छ ऊ नै रत्ननगरमा विजयी हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>