Breaking News

मालभोग जातको केरामा पानामा रोगको समस्या, चितवनका किसान चिन्तित

Banner

चितवन,चैत १३-

रत्ननगर नगरपालिका १२ का ठाकुर सापकोटाको २५ बिगाहामा केराखेती छ । १० बर्षदेखि केराखेती गर्दै आएका सापकोटालाई पछिल्ला बर्ष मालभोग जातको केरामा रोगले सताउन थालेको छ । ‘हरियो जातको केरा १५ र मालभोग जातको केरा १० विगाहामा छ । मालभोगका लागि शुत्र बनेर पानामा रोग आएको छ’, उनले भने, ‘छ बर्षदेखि यसको उपचार गर्न नै सकिएको छैन् ।’

यसरी नै केराखेतीमा देखिएको रोगले किसान चिन्तित भएका छन् । केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खा पर्ने समस्या देखिएको छ । पछिल्लो ६ बर्षयता यो समस्याले केराखेती गर्ने किसानलाई समस्या पार्दै आएको छ । केरा लगाएको पहिलो बर्ष रोग नदेखिएपनि दोस्रोबर्षबाट देखिने गरेको रत्ननगर १२ का किसान नारायणदत्त पन्त बताउँछन् ।

‘पाँच बिगाहाको हाराहारीमा केराखेती छ । मालभोग जातको केरामा जहाँ लगाएपनि १ बर्षबाट नै समस्या देखिन्छ’–आठ बर्षदेखि केराखेती गर्दै आएका पन्तले भने । पहिलो बर्ष सामान्य प्रभाव पारेपनि दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ७० प्रतिशतसम्म रोग लाग्ने गरेको छ । चौथो वर्षदेखि केरा नै नास गर्नुपर्ने अवस्था आउने पन्तले बताए ।
चितवनमा २ हजार १ सय हेक्टरमा केराखती रहेको अनुमान छ । त्यसमध्ये ३० प्रतिशतको हाराहारीमा पानामा रोग देखिएको केरा उत्पादक संघ चितवनका महासचिव जनक पन्तले बताए । ‘हामी केरामा आत्मनिर्भर हुन खोजेका छौँ । तर, मालभोग जातको केरामा रोगदेखिएपनि उदेश्य पुरा हून सकेका छैनौँ’, उनले भने, ‘रोग बढ्ने क्रम जारी रहेकाले किसानहरु अहिले आत्तिएका छौँ ।’ विशेष गरि अहिले केराको जोन क्षेत्र रहेका कालिका, खैरहनी, रत्ननगर क्षेत्रमा पानामा रोग देखिएको छ ।

किसानहरुले सरकारी निकायसंग पहल गरिदिन आग्रह गरेका छन् । तर, यसको पहल हुन सकेको छैन । ‘प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कृषि ज्ञान केन्द्र, प्रदेश सरकारसंग रोगको निदान गरिदिन अनुरोध गरेका छौँ । तर, हालसम्म कुनै पल भएको छैन’,उनले भने, व्यवसायिक खेतीतर्फ समेत किसान विकर्षित हुँदै गएका छन् ।’ पानामा रोगको बिमा भैदिएको भए किसानहरुलाई केही राहत महशुस हने बताए । मालभोग केरा चितवनको रैथाने केरा समेत हो । तर, रोग बढ्दै गएपछि हराउँदै जाने चिन्तामा आफुहरु रहेको उनले बताए । नेपालमा पानामा रोग १३ बर्षअघि भारतबाट भित्रिएको अनुमान गरिएको छ । चितवनमा भने ६ बर्षदेखि ब्यापक रुपमा फैलदै गएको छ । क्यान्सर जस्तो जरा गाड्ने भएकाले किसानले हैरानी हेप्दै आएका छन् ।

मालभोग जातमा देखिएको रोगलाई निराकरण गर्न समस्या रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगाना बताउँछन् । ‘केरामा छ बर्षदेखि ढुसिजन्य रोग देखिएको छ । यसलाई निराकरण गर्न सकिँदैन भन्ने विश्वको अभ्यासबाट देखिएको छ’, ढुंगानाले भने ‘हाम्रो प्रयासले नसकेपछि नार्कको टोलीलाई बोलाएर अनुसन्धान गर्न लगायौँ । तर, सकिएन । त्यसपछि चीनबाट बैज्ञानिक बोलाएर निरुपण गर्ने प्रयास गर्दापनि भएन ।’

निर्मुल गर्न नसकिएपनि यस रोगलाई कम गर्न सकिने उनले बताए । ‘मालभोग जातको केरा लगाउँदा गोबर मिस्चरमा बीउ भिजाएर रोप्ने, प्रसस्त रुपमा गोबर मल प्रयोग गर्ने र एक पटक पनि केराखेती नभएको माटो भयो भने रोक कम गर्न सकिन्छ’–उनले भने ।

जिल्लामा ७ सय ५० जनाले व्यवसायीक रुपमा केरा खेती गरेको अनुमान छ । त्यसमध्ये उत्पादन बढी हुने भएकाले किसानहरुको रोजाइमा मालभोग जात नै पर्ने गर्दछ । तर, पानामा रोगबाट बच्न पानामा रोग नलाग्ने जातका केरा छनोट गर्न उनले किसानलाई सुझाव दिन्छन् । मालभोग केराको विकल्पमा चितवनका किसानले जिनाइन केरा लगाउँन थालेका छन् ।

चितवन केरा उत्पादन बढी हुने जिल्लामा पर्दछ । यहाँ बार्षिक ८० हजार मेक्ट्रिटन उत्पादन हुने गरेको सरकारी तथ्यांक छ । देशभरको उत्पादनको करिब ४० प्रतिशत केरा यहाँ उत्पादन हुन्छ । तर नेपालमा अझै पनि कुल मागको ६० प्रतिशत केरा भारतबाट आउने व्यवसायीको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>