Breaking News

म्यादी प्रहरीमा भर्ती हुनेको भीड,एकैदिन ३० हजारले भरे आवेदन

Banner

काठमाडौं,चैत ७-

स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेकोमा आइतबार एकै दिन ३० हजार व्यक्तिको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले गत मंगलबार एक सूचना जारी गर्दै १ लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको थियो । म्यादीमा भर्ती हुनका लागि योग्यता पुगेका नागरिकले ६ चैत देखि ११ चैतसम्म दर्खास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनाअनुसार म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै, दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने बताइएको छ ।

एकै दिन ३० हजार जनाको आवेदन

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले आइतबार ७७ वटै जिल्लामा गरी म्यादी प्रहरीमा भर्ना हुनका लागि करिब ३० हजारको आवेदन परेको जानकारी दिए । उनका अनुसार काठमाडौंमा मात्रै १ हजार २ सय ५६ जनाको आवेदन परेको छ ।

म्यादी प्रहरीमा भर्ना हुन नेपाली नागरिक भएको हुनुपर्ने, फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त भएको, साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको छ । सूचनाअनुसार १ साउन २०७८ देखि सुरक्षा निकायमा आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई पनि प्राथमिकतामा राखिएको छ ।

यसैगरी, देशबाहिरका छिमेकी मुलुकका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेकाले पनि प्राथमिकता पाउने सूचनामा भनिएको छ । म्यादी प्रहरीसम्बन्धी छनोट प्रक्रिया १५ चैतबाट सुरु हुनेछ भने अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>