खेलकुद
सरकारले फाप्ला क्रिकेट मैदानका लागि ३८ विघा जग्गा उपलब्ध गराउने

सोमबार, माघ २४,
नेपाल सरकारले कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जग्गा दिने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवाश शाहीले जानकारी दिएका छन् ।
माघ १० गतेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि सोमबार पारित भएको शाहीले जानकारी दिए । ‘हामीले ७ वर्षको संघर्षपछि यो जग्गालाई फाप्ला मैदानको बनाउन सक्यौं । सपना पूरा भएको छ । यसलाई निर्माण गर्नुनै मुख्य चुनौती हो ,’ उनले भने,‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेल ग्राम विकास समिति छुट्टै गठन गरेर निर्माणको प्रक्रियामा अघि बढाउने निर्णय भएको छ।’ त्यसैमा उनले थपे, यसको एउटा समिति बन्छ । त्यसपछि काम हुन्छ । यो राष्ट्रिय प्राथमिकताका साथ योजनामा परेको छ ।
शाहीले सबैलाई धन्यावाद दिएका छन् । फाप्ला क्रिकेट मैदानमा तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) २०१९ मा सम्पन्न भएको थियो । ‘हाम्रो सबैभन्दा ठूलो सपना नै यहिँ थियो । डिपिएललाई क्रिकेट प्रतियोगिता मात्र नभएर एउटा अभियानको रुपमा अघि लगेर गएका थियौं , उनले थपे,‘ क्रिकेट मैदान मात्र नभएर अब खेल ग्रामको रुपमा चाहिँ अघि बढ्छ । यो भएपछि डिपिएल भन्दा ठूला प्रतियोगिता भईहाल्छन्।’
सन् २०१५ को फेब्रुअरी घोषित ड्रिम फाप्ला (फाप्ला अन्तर्रा्षिष्ट्रय क्रिकेट मैदान निर्माण अभियान) अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनासहित ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान धनगढीमा बनाउने उद्देश्यका साथ थालनी भएको थियो । साभार हाम्रो खेलकुद

























