चितवन विशेष
माडी परुई खोलाका चेपाङलाई खाद्यान्न सहयोग

चितवन, माघ २३–
माडी नगरपालिकाको वडा नम्बर ९ को कुसुमखोलाबाट वडा नम्बर ७ को परूई खोला किनारमा आएर बसेका विपन्न चेपाङ समुदायका लागि नेपाल अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासंघ र विजनेस एण्ड प्रोफेसनल विमन संस्थाको आर्थिक सहयोगमा राहत सामग्री वितरण गरिएको छ। बाढी प्रभावित क्षेत्र कुसुमखोलाबाट परूई खोला आई अस्थायीरुपमा बस्दै आएका ५५ घर चेपाङ समुदायलाई प्रतिघर एक बोरा चामल, तीन किलो दाल र लत्ता कपडा वितरण गरिएको हो।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यतामा उक्त सामग्री वितरण गरिएको हो। नेपाल चेपाङ संघको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो। माडीको विपन्नतालाई केही माथि उठाउने प्रयासस्वरुप खाद्यान्न लिएर आएको भन्दै नगरपालिकाका मेयर ढकालले दाताहरुकै सहायताबाट यहाँका विपन्न समुदायको पेट भर्ने काममा ठूलो सहयोग मिलेको बताए। उनीहरु हाल अस्थायीरुपमा बसोवास गर्दै आएको हुँदा स्थायी बसोवासको लागि नगरपालिकाबाट पनि प्रयास भइरहेको उनको भनाइ छ।
विपन्न चेपाङ समुदायको विषयमा केही समयअघि अध्ययनबाट यहाँको विपन्नता र बसाईको वास्तविकताबारे थाहा पाएपछि खाद्यान्न सहयोग गरेको महासंघकी अध्यक्ष चिनीमाया माझीले जानकारी दिइन्। महासंघले यसअघि परूई खोला र राईडाँडाका चेपाङ समुदायको अवस्थाबारे अध्ययन गरेको थियो। सोही आधारमा परूई खोलाका चेपाङ समुदायको लागि खाद्यान्न उपलब्ध गराएको उनले बताइन्।
चेपाङ समुदाय भन्नासाथ पहाडी क्षेत्र केन्द्रित हुने हुँदा महासंघले माडी क्षेत्रमा बसोबास गरिरहेका चेपाङ समुदायलक्षित कार्यक्रम गरिएको नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष प्रतिमाया पुनमगरले जानकारी दिइन्। माडीका चेपाङ समुदायको अवस्था दयनीय रहेको हुँदा सहयोगी संस्था र नेपाल चेपाङ संघसँग समन्वय गरी यहाँ आएको कार्यक्रम संयोजकसमेत रहेकी महासंघकी अध्यक्ष मगरले जानकारी दिइन्।

स्थानीय कमल चेपाङले माडीको चेपाङ समुदायको वास्तविक पीडा बुझेर सहयोग गरेको भन्दै धन्यवाद दिए । वर्षौँदेखि आर्थिक अभावका कारण खान लाउनसमेत समस्या परेको चेपाङ समुदायलाई दाताहरुमार्फत आएको सहयोगले केही दिनको लागि भए पनि राहत पुग्ने उनले बताए।
महासंघले यहाँका चेपाङ समुदायको लागि खाद्यान्नसँगै तीन बोरा कपडासमेत उपलब्ध गराएको थियो। परूई खोलामा अधिकांश चेपाङ समुदाय छन् भने केही घर तामाङ समुदाय पनि छन्। उनीहरु कुसुमखोलाबाट विस्थापित भएपछि केही वर्षअघिदेखि उनीहरु परूई खोला आएर बस्न थालेका हुन्।

























