Breaking News

दुईसय स्वास्थ्यकर्मी,चिकित्सक संक्रमित हुँदा पनि निरन्तर नागरिकको उपचारमा खटिएका छौंः निर्देशक डा.गौतम

Banner

डा.देजकुमार गौतम चितवनको चिकित्सा क्षेत्रमा चिरपरिचित नाम हो । सन् २००५ सालबाट भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्प्तालमा सेवा सुरु गरेका नाक, कान र घाँटीको क्यान्सर रोग विशेषज्ञ गौतम क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन् । पूर्वको ताप्लेजुङमा जन्मिएका डा. गौतम रसियाबाट पढाइसकेपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामीको उपचार सेवा सुरु गरेका थिए । विस्तारै कामसँगै क्यान्सर रोगमा विशेषज्ञता हासिल गरेसँगै उनको जीवनको उर्जाशिल समय चितवनमा क्यान्सर रोगको उपचारमा बित्यो । अस्पतालमा मात्र झण्डै दुई दशक सेवा गरिसकेका गौतमसँग नारायणी अनलाइनले क्यान्सर अस्पतालले कोरोना (कोभिड १९) को तेस्रो लहरमा अस्पतालबाट भइरहेको उपचारमा केन्द्रीत रहेर कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

कोरोनाको महामारीमा क्यान्सर अस्पतालले कसरी सेवा दिइरहेको छ ?

कोरोना (कोभिड १९) का कारण अहिले हामीलाई हस्पिटल सञ्चालन गर्नलाई अप्ठ्यारो भइरहेको छ । हाम्रा २०० जना कर्मचारीहरु संक्रमित भएका छन् । यो परिबेसमा पनि हामीले भएको जनशक्तिले क्यान्सरका सबै सेवाहरु सुचारु नै राखिरहेका छौँ । यसले गर्दा हिजोको जुन लेभलमा हामीले काम गरिरहेका थियौँ त्यसमा केही सेवाहरु डाउन गर्नुपरेको छ । तर, सर्जन, रेडियो थेरापी, केमो थेरापी भने दिइरहेका छौँ । बिरामीहरुमा कोरोना छ कि छैन भनेर परीक्षण गरेका छौँ । जो कोभिड नेकेटिभ हुनुहुन्छ ती मानिसहरुलाई हामीले नियमित उपचार दिइरहेका छौँ ।

परीक्षणमा पोजेटिभ भएका बिरामीहरुलाई नेगेटिभ भएपछि मात्र सेवा दिने भनेका छौँ । त्यसरीनै हामीले क्यान्सरको सेवा निरन्तर दिरहेका छौँ । हस्पिटलमा ५२ वटा वेड कोभिडको लागि खाली राखेर कामहरु गरेका छौँ । आजको दिनमा ३२ जना कोभिड संक्रमित विरामीलाई सेवा दिइरहेका छौं ।

स्वास्थ्यकर्मी र चिकित्सक पनि संक्रमित भएको बुझिएको छ । कति संक्रमित हुनुभएको छ । यसले उपचारमा केही समस्या भएको छ कि छैन ?

हामीसँग १६ जना डाक्टरहरु संक्रमित हुनुभएको छ । यस्तै नर्सहरु १०१ जना, प्रशासनका १० जना, टेक्निकलका २९ जना, एटेन्डेन्टहरु ३८ जना र अन्य कर्मचारी पाँच जना गरेर करिब हाम्रो २०० (१९९ं) जना जति कर्मचारिहरु संक्रमित छन् । जसले गर्दा हामीले पूर्णरुपमा अपरेशन थिएटर चलाउन सकिरहेका छैनौँ । हामीले आठ वटामा चार वटा अपरेशन थिएटर सञ्चालन गरिरहेका छौँ । अन्य सेवाहरु पनि उपलब्ध कर्मचारी अनुसारनै गरिरहेका छौँ ।

बिरामीहरुको आउने क्रम कस्तो छ ?

अहिले पहिलाको भन्दा केही घट्न थालेको हो कि जस्तो देखिन्छ । तर, क्यान्सर लामो समयसम्म उपचार गरेर बस्नुपर्ने बिरामी भएको कारणले होला त्यति धेरै घटेको छैन । हिजोको तथ्याङ्क हेर्ने हो भने ५७० जना बिरामी थिए । आज केही कम जस्तो देखिन्छ । कोभिडको प्रकोप सबै तिर छ । जति जना बिरामी आउनुहुन्छ । हामीले सकेसम्मको सेवा उपलब्ध गराउछौँ ।

ओमिक्रोन भाइरस फैलने क्रममा क्यान्सरका बिरामीहरु र अन्य बिरामीहरुले के कुरामा ध्यान दिनु पर्छ ?

कोरोना भाइरसको एउटा भाइरस परिवर्तन (म्युटेड) भएर आएको ओमिक्रोन भन्ने कुरा छ । पहिलेको तुलनामा हेर्ने हो भने संक्रमित दर बढी भए पनि यसले जुन गम्भीरतामा जानुपर्ने हो त्यो छैन । साधारण भएको छ । त्यहि भएर होला मन्त्रिपरिषद्ले पनि स्पेसल निर्णय गरेको छ । सात दिनपछि कोभिड भएका कर्मचारी काममा फर्कनु पर्छ । पछि यसले असर गर्ने कुरा एकदमै सामन्य छ । तर, संक्रमण गराउने दर भने एकदमै बढी छ । मलाई लाग्छ एक लटमा त हामी सबै जना संक्रमित हुन्छौँ ।

बिरामीहरु पहिलेको जस्तै अनुपातमा आइरहेका छन् त ?

क्यान्सरका बिरामीहरु पहिलेको जस्तै अनुपातमा आइरहेका छन् । कुनै फरक छैन । प्रत्येक वर्ष हामीले तथ्याङ्क निकाल्छौ त्यही अनुसारनै बिरामीहरु आइरहेका छन् । त्यसमा धेरै बिरामीहरु नाक, घाँटी, मुखका क्यान्सर, ब्रेष्ट क्यान्सरका बिरामीहरु रहेका छन् । विपन्न सेवा र बिमा सेवालाई हामीले निरन्तर राखिरहेका छौँ । २५ देखि ३० प्रतिशतसम्म यस सेवाबाट बिरामीहरु आउने गरेका छन् । र, हस्पिटलमा सकेसम्म सबै सेवाहरु दिइरहेका छौँ । हामीलाई अलि गारो भएको भने सर्जिकल फिल्डमा हो । त्यहाँ पनि केही हप्ता पछाडि सेवाहरु सञ्चालन हुन्छ होला ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>