Breaking News

नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबलः चितवन र हेटौँडा विजयी

Banner

नवलपुर,पुस २०-

नवलपुरमा सञ्चालन भइरहेको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगितामा आज तीन खेल भएका छन् । प्रतियोगितामा आयोजक रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर, चितवन भेट्रान्स र कालभैरव भेट्रान्स विजयी भए ।

पहिलो खेलमा आयोजक रिटर्नी माइग्रेन्टले अभिषेक चर्च रजहरलाई २–० गोलअन्तरले पराजित ग¥यो । आयोजक टोलीको तर्फबाट थमन चौधरीले खेलको ५७औँ मिनेट र तेज रानाले ६०औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच रिटर्नीका गोल रक्षक कृष्णबहादुर पौडेल घोषित भए ।

दोस्रो खेलमा रुपन्देही भेट्रान्स क्लबविरुद्ध चितवन भेट्रान्स क्लबले ४–० गोल अन्तरले जीत निकाल्यो । चितवनका तर्फबाट भूपेन्द्र कार्कीले एक, हर्कबहादुर गुरुङले दुई तथा वीरेन्द्र पाण्डेले एक गोल गरे । कार्कीले खेलको ३९औँ मिनेट, गुरुङले ५९ र ६२औँ मिनेट तथा पाण्डेले ६३औँ मिनेटमा गोल गरे । सो खेलमा हर्कबहादुर गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

तेस्रो खेलमा कालभैरव भेट्रान्स क्लब हेटौँडा ४–० गोल अन्तरले विजयी भयो । कालभैरवले नवलपुरको वल्डस्टार भेट्रान्स कावासोतीलाई पराजित गरेको हो । कालभैरवका तर्फबाट बेबिन श्रेष्ठले एक, देउमान लिम्बुले दुई तथा सोमकुमार श्रेष्ठले एक गोल गरे । श्रेष्ठले खेलको १९औँ, लिम्बूले २९ र ६०औँ तथा श्रेष्ठले ४८औँ मिनेटमा गोल गरे । सो खेलमा देउमान लिम्बू म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता कावासोती–१७ स्थित सरस्वती माविको खेलमैदानमा भइरहेको छ । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), चितवन, काठमाडौँ, कास्की, मकवानपुर, सुर्खेत र पर्सा सहभागी छन् । विजेताले रु एक लाख तथा उपविजेताले रु ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता पुस २४ गतेसम्म चल्नेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>