Breaking News

कमिशनको खेलले भरतपुर बाइपास सडक अलपत्र : ठेकेदार भन्छन्, इन्जिनियरलाई घुस दिँदादिँदै काम गर्न सकिएन

  • Logo
    app haru
  • १० कार्तिक २०७८, बुधबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड

चितवन, कार्तिक १० –
१५ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भरतपुर बाइपास सडक विस्तारको काम ५ वर्ष पुग्न लागि सक्दा पनि अझै सम्पन्न हुन सकेको छैन । अहिले सडकको काम अलपत्र परेको छ । ८६ प्रतिशत काम सम्पन्न गरी पछिल्लो ६ महिनादेखि ठेकेदार कम्पनीले काम छाडेको सडक डिभिजनले जनाएको छ ।

काम समयमा सम्पन्न नहुनुको पछाडि सडक डिभिजनकै इन्जिनियरहरुको प्रमुख दोष रहेको ठेकेदार कम्पनीले आरोप लगाएको छ । इन्जिनियरहरुले कमिशन र घुस लिने गरेको ठेकेदार कम्पनीले गम्भीर खुलासा गरेको छ ।

सडक डिभिजन कार्यालयले गौरी पार्वती निर्माण सेवासँग सडक विस्तारको सम्झौता गरेको थियो भने गौरी पार्वती सेवाले टार्गेट मिट कन्ट्रक्सनसँग पेटी ठेक्का सम्झौता गरी सम्पूर्ण कामको जिम्मा तार्गेट मिटलाई दिएको थियो ।

गौरी पार्वती निर्माण सेवाका प्रबन्ध निर्देशक रामकुमार थापाले सडक निर्माणमा निकै नै ढिलासुस्ती भएको स्वीकार गर्दे यसमा आफ्नो कम्पनीको प्रत्यक्ष संलग्नता नरहेको बताए । आफूहरुले सम्पूर्ण जिम्मा टार्गेट मिटलाई दिएको उनको भनाइ छ । टार्गेट मिट कन्ट्रक्सनसँग पेटी सम्झौता गरी सोही कम्पनीलाई सम्पूर्ण जिम्मा दिएको उनको भनाइ छ । ५ वर्षदेखि सडकका सबै काम टार्गेट मिटले नै गरेको बताउँदै उनले आफ्नो कम्पनी प्रत्यक्ष रुपमा नखटिएको थापाले बताए ।

टार्गेट मिट कन्ट्रक्सनका निर्देशक शरद अधिकारीले सडक डिभिजनका इन्जिनियरलाई पटकपटक घुस र कमिशन खुवाउँदा आफूहरु ५ करोड घाटामा गएको बताए ।

कुल साढे चार किलोमिटर रहेको यस सडकको केन्द्रीय बसपार्कदेखि विशालचोकसम्मको २२ सय मिटर सडक विस्तारको काम टार्गेट मिट कन्ट्रक्सनले गरेको हो । २०७३ पुसमा १५ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै म्याद थपको आग्रह गरिरह्यो भने सडक डिभिजनले पनि म्याद थपको अनुमति दिइरह्यो ।

४ वर्षसम्म सडक खनेर अलपत्र पारी ठकेदार कम्पनीले सबैलाई सास्ती दिएको थियो । यात्रु, सवारी चालक र स्थानीयको पटकपटकको गुनासो, सञ्चारमाध्यमसहित सरोकारवाला निकायको चर्काे दबाबपछि अन्ततः कम्पनीले सडक पिचको काम सम्पन्न गरेको थियो । करिब १० महिना अघि सडक पिचको काम सम्पन्न भएको थियो ।

नयाँ पिच भए पनि उक्त सडकखण्डमा पुग्ने जो कोहीले नयाँ पिच भन्न सक्दैनन् । सडकमा खाल्डाखुल्डी छन् भने पिच पनि राम्रो देखिँदैन । दुर्घटना धेरै भएका कारण उक्त सडक विस्तार गर्ने निर्णय गरिएको थियो । तर सडकको काम सम्पन्न नहुँदा दुर्घटनाको जोखिम उत्तिकै छ ।

जसोतासो सडक पिच गरेपछि कम्पनीले पुनः अन्य काम सम्पन्न गर्न ढिलासुस्ती गरिरह्यो । अन्ततः अहिले पछिल्लो ६ महिनादेखि ठेकेदार कम्पनी नै सम्पर्कबिहिन भै फरार जस्तै रह्यो ।

यस विषयमा नारायणी अनलाइनले समाचार प्रकाशन गर्‍यो । ‘भरतपुर बाइपास २ किमि सडक विस्तार : ५ वर्षमा पनि सकिएन काम, ठेकेदार कम्पनी सम्पर्कबिहिन’ । सम्पर्कबिहिन हुनुको कारण माग गर्दा ठकेदार कम्पनी टार्गेट मिट कन्ट्रक्सनका निर्देशक अधिकारीले इन्जिनियरलाई कमिशन खुवाउन नसकेर आफूहरुले काम गर्न छाडेको बताएका छन् ।

नारायणी अनलाइसँग फोनमा कुराकानी गर्दै उनले कमिशन र घुस खुवाउँदाखुवाउँदा आफूहरु घाटामा जानु परेको बताएका हुन् । फाइल पास गर्न, बिल पास तथा म्याद थप्नका लागि पटकपटक कमिशन दिन बाध्य भएको उनको आरोप छ ।

आफूले सबै सत्य बोलेको बताउँदै उनले सडक डिभिजनका इन्जिनियरहरुले कमिशन बिना कुनै काम समयमै नगरिदिएको बताए ।

उनले चितवनका पत्रकार र टोले गुण्डा नाइकेहरुलाई पनि रकम दिनुपरेको आरोप लगाएका छन् । उनले ककसलाई रकम दिनुपरेको हो भन्ने कुरा अहिले तत्काल नखुलाउने बताए ।

यस्तै उनले नेपाल सरकारले नै पोल समयमा नसार्ने, रुख समयमा नकाटिदिने, खानेपानीको पाइप समयमै व्यवस्थापन नगरिदिएका कारण सडक विस्तार कार्य ढिलाइ भएको बताए । १५ महिने ठेक्का सम्झौता भएको अवस्थामा सम्बन्धित निकायले नै दुई वर्षसम्म पोल सार्ने र रुख काट्ने काम नगर्दा म्याद थप्नु परेको उनको भनाइ छ । यी विभिन्न कारणले नै समयमै काम सम्पन्न गर्न नसकेको उनको भनाइ छ ।

यस्तै सडक डिभिजनका कर्मचारीको मिलेमतोमा दुई पटकसम्म सडकको डिजाइन परिवर्तन गरेर ठेकेदारलाई फँसाएको अधिकारीले आरोप लगाएका छन् ।

सडक डिभिजन कार्यालयका प्रमुख बाबुराम सापकोटा आरोपबारे स्पष्ट प्रतिक्रिया दिन सकेनन् । आफू यसैवर्षको बैशाखबाट यस कार्यालयमा आएको बताउँदै उनले बाइपास सडकको बारे सम्पूर्ण जानकारी लिइ नसकेको बताए । विभिन्न बाहनामा ठेकेदार कम्पनीले समय थपको आग्रह गरेका कारण समय थप गरिरहनु परेको बताए ।उनले कमिशनको आरोपका बारेमा आफूलाई जानकारी नभएको बताउँदै कमिशनको आरोप लागेको कुरा आफूले थाहा पाएपछि बल्ल अरु प्रतिक्रिया दिने बताएका छन् ।

उनले अलपत्र अवस्थामा रहेको सडक निर्माणको काम प्रमुख ठेकेदारले नै आजभोलिबाटै पुनः सुरु गर्ने जानकारी गराएको बताए । काम सुरु भएपछि अब चाहीँ समयमा सक्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

सडक डिभिजनका तर्फबाट उक्त सडकखण्डको काम हेर्दै आएका इन्जिनियर विजय दराईले ठेकेदार कम्पनीबाट आफूले कमिशन नलिएको दाबी गरेका छन् । उनले बाइपास सडक निर्माणमा निकै नै ढिलाइ भएको स्वीकार गरे । तर सडक निर्माणमा ढिलाइ हुनुमा, अलपत्र पर्नुमा ठेकेदारको कमजोरी छ भनेर उनले भन्न सकेनन् । ठेकेदारको बँचाउ गरे ।

सडक विस्तारको काम ढिलाइ हुनुका पछाडिका कारणहरु सतहमा आइसकेपछि सम्बन्धित निकायले यसबारे अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन आवश्यक छ । कारबाही गर्न नसकी पटकपटक म्याद थप गर्ने सडक डिभिजनका इन्जिनियरहरुको नियतमाथि संका गर्ने आधार थुप्रै भेटिन्छन् ।

यसअघि प्रकाशित सम्बन्धित समाचार :

भरतपुर बाइपास २ किमि सडक विस्तार : ५ वर्षमा पनि सकिएन काम, ठेकेदार कम्पनी सम्पर्कबिहिन

भरतपुरको बाइपास सडकको विजोगः चार वर्षमा पनि भएन साढे दुई किलोमिटर काम

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>